आमाको सपना
मूलघर ! त्यही मूलघरको ढोका खोल्नेबित्तिकै दायाँपट्टि खाटमा सुत्नुहुन्थ्यो मेरी आमा ! बिहेमा हजुरबुबाले आफ्नै बारीको अग्राखको रूखबाट बनाऊन लगाउनु भएको रे ! खाट एकदमै दह्रो हुन्छ भनेर ! एकदमै राम्रो थियो खाट ! बुट्टैबुट्टा कँदेको ! झलक्क हेर्दा राजारानी सुत्नेजस्तो एकदमै आकर्षक !
खाटको छेउनिर भित्तामा भएको खोपीमा हजुरबुबा र हजुरआमाको फ्रेम गरेको फोटो अनि तलपट्टि बलेको दियो ! आमा त्यसलाई कहिल्यै निभ्न दिनुहुन्नथ्यो ! ठुलो सपना थियो रे हजुरबुबालाई काठमाडौं गएर पशुपति मन्दिरको दर्शन गर्ने ! तर त्यो पूरा हुन नपाउँदै सबैलाई छोडेर परलोक जानुभएको थियो रे ! उहाँहरूको अधुरो सपना पूरा गर्ने मेरी आमाको सपना बनेको थियो ! मन्दिर पुगेर बाआमाको नाममा पैसा चढाउनु छ ! तँ पढेर ठुलो भएर जागीर खाएपछि मलाई लिएर जा है कान्छा भन्नुहुन्थ्यो सधैं !
अब त आमाको सपना पूरा गर्न भए पनि धेरै पढ्नू थियो मलाई ! आखिर खासै ठुलो सपना त थिएन मेरी आमाको ! त्यही मन्दिर गएर पूजा गर्नू नै त थियो तर एउटा गरिबका लागि त त्यो पनि धेरै ठुलो हुँदोरहेछ ! काठमाडौंको वरिपरि बस्ने भएको भए हिँडेरै भए पनि कति जानु हुँदो हो आमा ! त्यो हामी गरिबका लागि कहाँ सम्भव थियो र बरै ? अब त झन् यो दुष्ट कोरोनाले अलिअलि पलाएको आस पनि मरेर गयो ! आमाको सपना पूरा गरौंला भनेर खाडी पसेको आज ठ्याक्कै एक वर्ष भएछ ! उता मेरी आमालाई कोरोनाले च्यापेको छ !
ए बाबु...! मलाई सास फेर्न गाह्रो छ ! जिउ दुख्छ, मुटु पोल्छ ! खान सक्दिनँ ! धेरै बाँच्दिनँ छोरा तर तँ उतै बस्नू ! छोरा नेपाल नआइज बाबु ! मरेर गए पनि छुन पाउँदैनस् कान्छा ! तैँ छस् कुलको एउटा ! तँलाई पनि कोरोना लागो भने मेरो आत्मा रुन्छ ! भो नआइज यो भ्रष्ट देशमा ! कसैले केही गर्दैनन् ! मान्छेहरू जनावरझैं मरेका म¥यै छन् ! खोई रोकथाम केही छैन... ! लामो सास फेर्नुहुन्छ मेरी आमा !
एक गिलास पानी पनि दिन सकिनँ आमा ! हजुरलाई अँगालोमा बाँधेर म छु नि आमा केही हँुदैन भन्न नि सक्दिनँ ! ए छोरा ! मेरा लागि एउटा अक्सिजन मगाइदे ! मलाई अझै बाँच्न मन छ ! तँसँग बसेर तेरो खुसी साट्न मन छ बाबु ! मलाई यी सुनका गहना नि चाहिँदैन ! बेचेरै ल्याइदे न बा गाह्रो भो सास फेर्न ! यो झुपडी बेच तर मलाई अझै संसार हेर्नु छ ! रुँदै फोन राखिन् मेरी आमाले !
आमा ! म कति अभागी सन्तान रैछु ! मुटुमाथि ढुंगा राखेर डिउटीमा जान्छु ! आमा, रातभरी सुत्न सक्दिनँ तिमीलाई सम्झेर ! आउन त सकिनँ आमा मलाई माफ गर ! तिम्रा लागि अक्सिजन पनि उपलब्ध नहुने भो ! अस्पतालमा बेड छैन रे... ! पैसा हुनेहरू पनि अलपत्र छन् रे आमा... ! तिम्रा लागि केही गर्न सकिनँ आमा !
हे सरकार ! बरु मेरो ज्यान जाओस्, बरु बेचौंला मेरो झुपडी ! म खुला आकाशमा खुसीका साथ बस्छु ! त्यसको बदलामा मेरी आमा बचाइदेऊ ! मेरो करेसाबारी नि धितोमा राख्छु ! बरु मेरा दुईवटा भैंसी पनि दिन्छु ! मेरी आमालाई एउटा अक्सिजन देऊ ! बस् एउटा अक्सिजन देऊ, मेरी बुढी भएकी आमा अझै केही वर्ष बाँच्न चाहन्छिन् ! मेरी आमाको पशुपति जाने सपना पूरा गरिदिनु छ ! हो सरकार ! मेरी आमाको एउटै सपना छ !