अर्थी बोक्दै महिला सेना
महोत्तरी : चार जनाको एक समूह अर्थी बोकेर खोलातिर गइरहेका छन्। घरको दैलोबाट गाउँलेत्यो समूहलाई एकोहोरो नियालिरहेका छन्। महोत्तरीको जलेश्वर–३ मलिवाराका एक ८६ वर्षीय वृद्धको पार्थिव शरीरलाई उक्तसमूहले काँधमा हालेका छन्।
समूहलाई गाउँका कसैले चिन्दैनन्। कारण हो पीपीईले पूरै ढाकेको शरीर। कोरोनाबाट सिंगो समाज डराइरहेको बेलामा अर्थी बोक्ने त्यो समूह जलेश्वर–९ प्रकौलीस्थित नेपाली सेनाको श्री रणभीम गणको महिला सेनाको समूह हो।
नेपाली सेनाकी सहसेनानी आरती रानामगरको कमान्डमा एउटा समूहखटिएको छ। कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा त्यो समूह दिनरात लागिपरेको देखिन्छ। कोरोना महामारीको चपेटामा परेर जीवनलीला त्यागेकाहरूको उक्त समूहले शव व्यवस्थापनमा मात्रै गरेको छैन, दुःखको बेला मृतकको नजिकको प्रियजनको भूमिका पनि निभाएको छ। सामान्य अवस्थामा समाजमा मृतकका छोरा, भाइभारदार, इष्टमित्रले शवको दाहसंस्कार गर्छन्। तर यो कठिन अवस्थामा कोरोनाबाट ज्यान गुमाएकाहरूको नजिक जानेसमेत कोही हुँदैनन्।
यस्तो बेलामामलिवारा गाउँ नजिकैको रातु खोला किनारमा अर्थीमा शव बोकेर महिला सेनाको टोलीले घाटमा पुर्याए। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेका उनीहरूले चिता बनाए।
शव दाहसंस्कारका लागि परिवारजनलाई वातावरण निर्माण गरे। सहसेनानी मगरको नेतृत्वमा रहेको शव व्यवस्थापन समूहमा मनीषा थापा,लीलामाया बोहोरा, सुस्मिता तामाङ र संगीता दंगाल रहेका छन्। श्री रणभीम गणमा शव व्यवस्थापन गर्ने तीन वटा समूह छन्। जसमध्ये सहसेनानी मगरको कमान्डमा पनि एउटा समूह छ।
उपत्यका बाहिर कोरोना संक्रमितहरूको शव व्यवस्थापन गर्ने उनको नेतृत्वको यो पहिलो समूह हो। मधेसमा छोरी अथवा बुहारीले अर्थी बोक्ने चलन छैन, पुरुषले मात्रै बोकेको देखिन्छ।यो रुढिवादी परम्पराविरुद्ध नेपाली सेनाका यी महिला जवानले संघर्ष थालेको देखिन्छ।
‘कोराना संक्रमितहरूको शव पुरुषले मात्रै होइन् महिलाले पनि व्यवस्थापन गर्न सक्छन् भन्ने महिला सशक्तीकरणको सन्देश हामीले दिइरहेका छौं,’श्री रणभीम गणका प्रमुख सेनानी शिवहरि केसीले भने,‘कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव मृतकको सांस्कृतिक परम्पराअनुसार हुन्छ।’