सरकारी जग्गा संरक्षण गर्दा जनप्रतिनिधिका घरमा तोडफोड

सरकारी जग्गा संरक्षण गर्दा जनप्रतिनिधिका घरमा तोडफोड

उदयपुर : गत बुधबार उदयपुरको कटारी नगरपालिका–४ जहडीका सुरेश दनुवारको फोटो सामाजिक सञ्जालमा एकाएक भाइरल भयो। बुवा मानबहादुरको मृत्यु संस्कारमा बसेका बखत सुरेशको घर कटारी नगरपालिकाले तोडफोड गरेको भन्दै फेसबुकभरि उक्त फोटो भाइरल भयो।

सामाजिक सञ्जालमा  नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत र वडाध्यक्ष कृष्णराज दनुवारलाई गाली गरिएको मात्र भेटियो। कमेन्ट गरिएकामध्ये करिब २० प्रतिशतले मृत्यु संस्कारको यो अवस्थामा सरकारी जग्गा अतिक्रमण नै गरेको भए पनि घर भत्काइनु हुँदैन भन्नेहरूको जमात देखियो।  बाँकी ८० प्रतिशतले तुच्छ शब्द प्रयोग गर्दै जनप्रतिनिधिविरुद्ध तथानाम गाली गरिएको छ।

तस्बिर, हेर्ने जो कोहीले पनि जनप्रतिनिधिलाई स्याबासी दिन सक्दैन किनकि त्यस्तो अवस्थामा घर भत्काउनु हुँदैन  भन्ने नै हुन्छ। भाइरल फोटोले सबैको मन जित्यो। त्यति मात्र हैन सुरेशको पक्षपोषण गर्दै ठूलो संख्यामा नारा जुलस निस्कियो। उत्तेजित भीडले मेयर, उपमेयर राउत, वडाध्यक्ष दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गर्‍यो।

मेयर, उपमेयर, इलाका प्रशासन कार्यालयका सवारीसाधन र उनीहरूका निजी सवारीसाधनसमेत तोडफोड भयो। घटनाको विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी नगर समितिले संयुक्त विज्ञप्ति नै जारी गरे। सरकारी जग्गा संरक्षणका विषयमा कहीँ कतै नबोलिएको संयुक्त विज्ञप्तिमा यो परिस्थितिमा गरिएका सबै हर्कत निन्दनीय छ र पक्राउ परेका गणेश थापा, सरोज सुनुवार र सिमन तामाङलाई बिनासर्त रिहा गर्न माग गरिएको छ।

नगरस्तरीय विज्ञप्तिलाई अझ मलजल गर्दै कांग्रेसका जिल्ला सभापति विदुर बस्नेतले अलग्गै विज्ञप्ति निकालेका छन्। कांग्रेस सभापति बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महामारीको मौकाछोपी जनतामारा स्थानीय सरकारले गरेको अमानवीय कार्यको भत्सर्ना गर्दछु र सुकुम्बासीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘कोरोना महामारीले जनता घरभित्र मास्क लगाएर बस्नुपर्ने बेलामा मेयरले जनतालाई जबरजस्ती घरबाहिर निकाली घर भत्काएकोले जनता महामारीलाई बिर्सेर घरबाहिर निस्कनुपर्ने अवस्था सिर्जना हुन दुःख छ।’ साथै पक्राउ परेका सरोज सुनुवारलाई तत्काल रिहा र जनताको घर भत्काउँदै हिँड्ने मेयरलगायतलाई आवश्यक कारबाहीका लागि कांग्रेसले विज्ञप्तिमार्फत माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी बस्ती नै भएको किटानी गर्दै क्षतिपूर्तिको माग गरिएको छ।

धेरैले मृत्यु संस्कारको संवेदनशीलतालाई ख्यालै नगरी एकपक्षीय समाचार लेखेको भन्दै समाचार लेख्ने पत्रकारमाथि पनि आरोप प्रत्यारोप भयो। यथार्थमा जतिबेला पत्रकारले समाचार लेखे त्यतिन्जेलसम्म उक्त फोटो कहीँ कतै देखिएको थिएन। घटनाको दुई घण्टापछि उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको स्थानीय बताउँछन्।

फेसबुकमा भाइरल भएका दनुवार वास्तवमै बुवाको काजकिरियामा थिए। उनी मात्र हैन अन्य दाजुभाइ दिनेश र सुरज पनि काजकिरियामा नै थिए। तर अन्य दुई भाइ घर भत्किएको ठाउँमा देखिएनन्। अरू नदेखिनु एक्लो सुरेश मात्र देखिनु निकै आश्चर्य छ। अन्ततः खोज्दै जाँदा उनी घटनास्थलमा नभई त्यहाँबाट करिब पाँच सय मिटर पर रहेको आफ्नै घरमा बुवाको मृत्यु संस्कारमा तीन दाजुभाइ सँगै रहेछन्।

भत्किएको टहरा उनले सार्वजानिक जग्गा अतिक्रमण गरी बनाएको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए। घर भत्किएपछि उनलाई फोटो खिच्नकै लागि त्यहाँ उपस्थिति गराइएको स्रोतले बताएको छ। ‘त्यो घर नभत्काई पक्की घर भत्काउन मिल्ने अवस्था नभएपछि भत्काएकै हौं,’ मिश्रले भने, ‘तर त्यस घरभित्र कोही पनि थिएनन्। निकै पछि त्यो फोटो फेसबुकमा देखेपछि, हामी पनि आश्चर्यमा पर्‍र्यौं,’ उनले भने, पछि बुझ्दै जाँदा तेरो घर नगरपालिकाले भत्काएको छ हेर्न जाउँ भनेर उनलाई ल्याइएको रहेछ। त्यही तस्बिर भाइरल भएको उनको भनाइ  छ। सोही तस्बिरमाथि राजनीति भएको उनले बताए। उनले भने, ‘पटकपटक सूचना जारी गर्दा पनि घर निर्माण कार्य स्थगन नगर्ने भएपछि र अझ निषेधाज्ञाको समयमा बाँसका टहरा बनाउन थालेपछि डोजर चलाएका हौं।’

उनी बसेको बस्ती सुकुम्बासीको हो भन्ने पुष्टि गर्न विज्ञप्ति जारी गर्ने पार्टीका नेता र आन्दोलनकारीलाई चुनौती दिएका छन्। मृत्यु संस्कारमा रहेका दनुवार, बालकृष्ण थापा, सुवास दनुवार कोही पनि सुकुम्बासी नभएको उनले बताए। सुकुम्बासीभन्दा पनि भूमाफियाको चलखेल बढेको उनको भनाइ छ। कटारी बजारसँग जोडिएकाले सार्वजानिक जग्गा भए पनि प्रतिकठ्ठा ६० देखि ७० लाखसम्म बिक्री वितरण हुने गरेकाले भूमाफियाको चलखेल बढेको सूचना अधिकारी मिश्रले बताए।

घरटहरा भत्काएको विषयमा नगरपालिकाले विज्ञप्तिमार्फत प्रष्ट पारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७३ साउन २४ गतेको पत्रमा उक्त जग्गा मरुवाखोलाको बहाव क्षेत्र परिवर्तन भएकाले साबिक खोलाको जग्गा संरक्षण गर्न आदेश दिइएको छ। यसबाहेक नगरपालिकाले उक्त जग्गामा संरक्षण गर्न र बनेका घरटहरा खाली गर्न पाँच पटक सार्वजनिक सूचना जारी गरेको उपमेयर भीमकुमारी राउतले जानकारी दिइन्। अख्तियारको पत्रलाई नै आधार मानी २०७४ चैत्र २० गते मेयर श्रेष्ठले पहिलोपटक घर टहरा हटाई जग्गा खाली गरिदिन भन्दै १५ दिने सूचना सार्वजानिक गरेको उनले बताइन्।

जेठ ५ गते घरटहरा भत्काएलगत्तै उत्तेजित भीडले मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियर ओम मिश्र, इलाका प्रशासन कार्यालय र मदन भण्डारी लोकमार्गको फिल्ड अफिस बसेको घरको झ्यालमा ढुंगामुढा गरी तोडफोड गरेका छन्। तोडफोडबाट १ करोड ५४ लाखभन्दा बढीको क्षति भएको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.