कालोबजारी रोकौं
कोरोना महामारीले देश थलिएको बेला राजनीतिक प्रदूषण पनि कायमै छ। शक्ति र स्वार्थका कारण राजनीति वृत्तमा आउने नयाँ घटनाक्रमले नागरिक आजित छन्। महामारीमा नागरिकको जीउ ज्यान जोगाउनेतर्फ लाग्नुपर्ने समय सरकार र राजनीतिक दलको ध्यान अन्तै मोडिएको छ। जसका कारण कोरोना संक्रमणले फैलने र ज्यान लिने मौका मात्रै पाएको छैन, यसै समय हरेक क्षेत्रमा बेतिथि बढ्न थालेको छ। महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छट्पटाइरहेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउहरू पनि चल्मलाएका छन्।
भनिन्छ ‘मान्छेको असली रूप संकटका बेला थाहा हुन्छ’। महामारीले ज्यान जोगाउनसमेत हम्मे हम्मे परेको समयमा संवेदना हराएकाहरूको असली रूप बजारमा देखिँदैछ। निषेधाज्ञाले बजार पसल बन्द रहेको र कतै सीमित समय खुल्ने भएकाले व्यवसायीले उपभोग्य सामग्रीमा कृतिम अभाव सृजना गर्दै कालोबजारी गर्न थालेका छन्। अत्यावश्यक खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि भएको छ। संकटका समयमा उपभाक्तालाई दोब्बर मूल्यसमेत हालेर किन्न बाध्य पारिएको छ। महामारीमा उपचार खोज्दै अस्पताल पुग्दा औषधि र सेवामा ठगिने उपभोक्ता रोगसँगै भोकबाट जोगिन खोज्दासमेत ठगिएका छन्।
सबै निकायको ध्यान महामारी नियन्त्रणमा छ। अनुगमन गर्ने संयन्त्रमा पनि कोरोनाकै कारण जनशक्ति केही कम होला। यसको फाइदा बजारमा कृत्रिम अभाव सृजना गर्दै कालोबजारी गर्नलाई पुगेको छ। सस्तो मूल्यमा आयात गर्ने र अभाव भएको भन्दै महँगो मूल्यमा बेच्दा उपभोक्ता बाध्य भएर किन्नुको विकल्प भेट्दैनन्। केही जिल्लाका बजार पसलमा अनुगमन भए पनि नियमित नहुँदा कालोबजारीले उपभोक्तालाई आर्थिक भार थपिँदो छ। प्रहरीको सक्रियतामा औषधिमा कालोबजारी गर्ने र नक्कली औषधि बेच्ने गिरोहलाई पक्राउ गरी कानुनी दायरामा ल्याए पनि दैनिक उपभोग्य वस्तुको अनुगमन गर्ने संयन्त्र निषेधाज्ञाको बहानामा सुस्ताएको छ।
दिनभरी दुःख गर्यो बेलुका मुख जोर्न सकिने अवस्था गरिब नागरिकमा छैन। महामारीमा मुख छोप्ने मास्कदेखि जाउलो पकाउने चामल र तरकारीसम्ममा नागरिकले ठगिनु परेको छ। अहिलेकाम गर्न जानेसमेत समय नभएपछि केही कमाएर बचाएकाले अनिश्चित दिनसम्म आवश्यकता टार्नु परेकै छ। कोरोना कहरको असरले भोकभोकै बसिरहेका नागरिकलाई कसरी राहत दिने र अत्यावश्यकीय वस्तुको सुलभ पूर्ति गर्ने विषयमा कुनै पनि राजनीतिक दल, अधिकारकर्मीको ध्यानाकर्षण भने छैन। यही बेलामा ‘मौकामा चौका’ हान्नेहरूको ठुलो हुल बजारमा छ। यसलाई समयमा नियन्त्रण नगरे बजारमा कालोबजारी बढ्ने छ र उपभोक्ता ठग्नेहरू स्थापित हुनेछन्। सम्बन्धित निकायले आँखा खोल्न ढिला भइसक्यो।
उपभोक्ता संरक्षण ऐन २०७५ र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनलाई पूर्ण रूपमा कार्यान्वयनमा नल्याइँदा कालोबजारी गर्नेहरूको मनोबल बढ्दो छ। उपभोक्ता संरक्षण ऐनलाई तोडमोड गरी कालोबजारीको व्याख्या र दफाको प्रयोग गर्दा कालोबजारी गर्नेहरूले सामान्य रूपमा उन्मुक्ति पाइरहेका छन्। लागत मूल्यमा २० प्रतिशतभन्दा बढी रकम जोडेर नाफा लिन नपाउने व्यवस्था कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनमा उल्लेख भएकाले यसको कार्यान्वयन जरुरी छ। उपभोक्ता अधिकारकर्मी पनि ऐनको विषय र संकटको समयमा चनाखो नभए आगामी दिनमा उपभोक्तासामु अधिकारकर्मी भनेर मुख देखाउन असहज हुनसक्छ। कालोबजारी गर्नेलाई कुनै कसर बाँकी नराखी कारबाहीको दायरामा ल्याउनुपर्छ।
‘संकट बाजा बजाएर आउँदैन’, ‘रोग र मृत्युले मान्छे छान्दैन’ भन्ने भनाइ नै छ। त्यसैले महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ। छलेर र एकपटक कमाएकाले सधैंलाई पुग्दैन भन्ने सोचेर महामारीमा सबैले सहयोगी बन्ने समय हो यो। नियामक निकाय चनाखो र उपभोक्ता सचेत बनौं। आपूर्ति असहज भएर बजारमा उपभोग्य वस्तुको अभाव भए यसको व्यवस्थापन सरकारले गर्नुपर्छ। असहज समयलाई अब कमाउने धन्दा नबनाऔं।