घर बनाउन राखेको ढुंगाले च्याप्दा एकै घरका तीन जनाको मृत्यु
बुटवल : प्यूठानमा घरको जुरे गारो लगाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। नौवहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मल्ल (३८), उनका श्रीमती (३३) गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको वडा अध्यक्ष शेर बहादुर सेनले जानकारी दिए।
सुतिरहेको बेला राति ढुंगा खसेर तीनै जनाको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष मल्लले जानकारी गराए। चार जना छोरीहरुमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन्।
गाउँपालिकाले खरको छाना विस्थापित कार्यक्रम अन्तर्गत गरिब परिवारलाई दिएको जस्तापाताले छाउन गारो लगाउन ढुंगा राखिएको थियो।