सिद्धबाबामा सुरुङ बन्ने निश्चित : ५ वर्षभित्र निर्माण सक्ने योजना
बुटवल : मृत्युमार्गका रुपमा चिनिएको सिद्धार्थ राजमार्गको पाल्पाको सिद्धबाबा खण्ड कुहिरेभीरमा सुरुङ निर्माण हुने पक्का भएको छ। २०७१ सालदेखि बजेट विनियोजन भए पनि नागरिक सुरुङ बन्नेमा विश्वस्त थिएनन्। अब भने निर्माणकै प्रक्रियामा पुगेको छ।
सडक विभागले सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। अर्थमन्त्रालयले स्वीकृति दिएको १० अर्ब १५ करोडको सीमाभित्र रहेर निर्माण गर्नका लागि टेण्डर आह्वान भएको हो।
सडक विभागका उपमहानिर्देशक विजय जैशीले ५ वर्षभित्र सुरुङ निर्माणको काम सक्ने योजना रहेको बताए। सिद्धबाबाको जोखिम क्षेत्रलाई सुरक्षित बनाउन सुरुङ मार्गसहित अन्य विधिका योजना तय गरिएका छन्।
स्वीस सरकारको सहयोगमा सिद्धबाबामा सुरुङ बनाउने योजनाको विस्तृत अध्ययन भएको थियो। सो अध्ययन अनुसार करिब ११ सय मिटरको सुरुङ मार्ग बन्ने उपमहानिर्देशक जैसीले जानकारी दिए। सुरुङ मार्गको प्रवेश बिन्दु र अन्तिम बिन्दुमा भने रकनेट र रकसेट विधिबाट पहिरो व्यवस्थापनको काम हुने उनले बताए।
अर्थमन्त्री विष्णु पौडेलले आफू पहिलो पटक अर्थमन्त्री हुँदा सिद्धबाबामा सुरुङमार्ग बनाउने योजना अघि बढाएका थिए। अहिलेको कार्यकालमा त्यसलाई मुर्तरुप दिन थालेका हुन्। सिद्धबाबाको पहिरो क्षेत्रमा सुरुङ बनाउन आइतबार बोलपत्र आह्वान भएको हो।
सडक विभागले सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको छ। डवल लेनको सुरुङ निर्माणका लागि टेण्डर आह्वान भएको हो। यो सुरुङ निर्माण ५ वर्षभित्र सक्ने योजनासहित निर्माण कम्पनीको खोजी भएको हो।
सिद्धबाबामा सुरुङ बनाउने विषयलाई अर्थमन्त्री पौडेलले विशेष जोड दिँदै आएका थिए। दुई वर्षअघि नै सुरुङ मार्ग बनाउन मिल्ने नमिल्ने विषयमा चट्टानको परीक्षण भएको थियो। चट्टान परीक्षणमा सुरुङ बनाउन सकिने निष्कर्ष निकालिएको थियो।
हाल पहिरोले अत्याधिक जोखिम क्षेत्र रहेको क्षेत्रमा ११ सय २६ मिटरको सुरुङ बन्नेछ। अन्य स्थानमा ढुंगा नखस्ने प्रविधि अपनाइनेछ। करिव ३ किलोमिटर क्षेत्र सुरक्षित बनाउने काम सडक विभागले गर्न लागेको हो।
सुरुङ निर्माणपछि पनि अहिलेको सडक कायमै हुनेछ। जसलाई आपतकालीन अवस्थामा सवारीसाधन चलाउन प्रयोग गरिनेछ। जसको माथिबाट पहिरो झर्न नदिन रकसेट प्रविधि अपनाइने उपमहानिर्देशक जैसीले जानकारी दिए।
सडक विभागले ४५ दिने बोलपत्र आह्वान गरेको छ। अनुभवी कम्पनीले मात्रै सुरुङ निर्माणका लागि टण्डर दाखिला गर्नेछन्।
सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्त जोखिमपूर्ण छ। पछिल्लो एक दशकमा करिब २ सय जना यो पहिरो क्षेत्रमा परी ज्यान गुमाएका छन्। हरेक वर्षायाममा यो क्षेत्रमा जाने पहिरोले यातायातका साधन दुर्घटनामा पर्ने गरेका छन्। यो सडककै कारण बुटवलबाट उत्तरतर्फ जोडिने जिल्लाको यात्रा जोखिमपूर्ण हुने गरेको छ।