लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट
बेंसीसहर: लमजुङस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । शनिबार प्लान्ट जडानको काम सम्पन्न भएको अस्पतालले जनाएको छ ।
भारत सरकारले अक्सिजनजन्य सामग्री निर्यातमा प्रतिबन्ध लगाएपछि यो काम समयमै हुन सकेको थिएन। उक्त प्रतिवन्ध बैशाख २३ मा फुकुवा भएपछि प्लान्ट ल्याउन सम्भव भएको हो ।
गण्डकी प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयमार्फत जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट निर्माण गरिएको हो । अस्पतालमा एक कोठा बनाएर अक्सिजन प्लान्ट निर्माण गरी परीक्षण उत्पादन गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।
‘गएको एक महिनादेखि नै अक्सिजन प्लान्टका लागि एक कोठे भवन बनाएर तयारी गरिएको थियो । शनिबार मेसिनहरु ल्याएर जडान गरिएको छ,’ अस्पताल प्रमुख श्रेष्ठले भने, ‘अब एक दुई दिनमा पूर्ण रुपमा अक्सिजन उत्पादन गर्छौं ।’
उनका अनुसार प्लान्टले दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्नेछ। उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत आईसीयू, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइनेछ। ‘पाइपलाइनलाई ८२ बेडमा जोडेका छौँ,’ उनले भने।
अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो। चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ भयो।
अस्पतालको आइसोलेशनमा अहिले १७ जना कोरोना संक्रमित उपचाररत छन् । तीमध्ये ७ जना संक्रमितलाई अक्सिजन दिएर उपचार गरिएको छ ।
उत्पादन सुरु भएपछि अक्सिजन दिनुपर्ने खालका बिरामीको उपचारमा सहज हुने स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडीले बतााए । गण्डकी प्रदेशमा मनाङ र तनहुँबाहेक सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।