कोरोनाविरुद्ध सबै जुटौं
मुलुकका राजनीतिक दलहरूको चाला अहिले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको छ। सत्ता र शक्तिको मोहमा चुर्लुम्म डुब्दा देशलाई महामारीको संकटले छोपेको छ। महामारीमा जनतालाई कसरी सास अड्याउने चिन्ता भइरहेको समयमा उनीहरूको ध्यान संकट व्यवस्थापनमा छैन। आरोप र प्रत्यारोपमा समय खर्चदै कुर्सी मोहले मोहित बनेका दलहरूले पुनः तिनै जनतासम्म मत माग्न जाने दिन आउँछ भन्ने भुलेका छन्। चुनावका समयमा ठुला ठुला सपना देखाउने तर कोरोना महामारीको कठिन समयमा नागरिकको दुःख नदेख्दा यसको मूल्यांकन समय आएपछि नागरिकले पक्कै गर्नेछन्।
संक्रमितलाई उपचार गर्न लैजाँदा काँधमा ग्यासको सिलिन्डर पनि बोकेर जानुपर्ने बाध्यतामा नागरिक छन्। पहिलो त अस्पताल पुग्नै कठिन छ, पुगे पनि सहजै बेड पाउन सक्ने अवस्था छैन। दुःखमा साथ दिने आस गरेका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेतालाई कोरोनाको चिन्ताले भन्दा धेरै राजनीतिले संक्रमित बनाएको छ। जसका कारण कोरोनाको पीडा कम भएर होला नेताको ध्यान जति जानुपर्ने थियो, त्यति महामारीको संकट व्यवस्थापनमा गएकै छैन। आफ्ना संयन्त्र परिचालन गर्नेदेखि सरकारलाई सजग गराउँदै मृत्युदर घटाउन र महामारी नियन्त्रणमा दलहरू पनि लाग्नुपर्ने हो। तर, यी कुनै कार्यमा उनीहरूको सक्रियता छैन। एक थान विज्ञप्ति निकालेर सरकारलाई दिनेबाहेक उपलब्धि जनताले महामारीमा उनीहरूबाट महसुस गरेका छैनन्।
सडकमा एम्बुलेन्स र शववाहनको साइरन धुनसँगै भोकाहरूको लहरले पेटी भरिँदो छ। जनता जोगाउन सुरक्षा निकायले निषेधाज्ञालाई कडाइ गरे पनि भोक भर्ने र बिरामी भए समयमा उपचारका लागि लैजाने संयन्त्रको अभाव टरेको छैन। सहयोगी हातहरू बढ्नुपर्नेमा हौसला र साथ अभावमा घट्न थालेका छन्। दैनिक मजदुरी गरेर परिवार पाल्नेहरू निषेधाज्ञा लम्बिँदा रोगले भन्दा भोकले मरिएलाकी भन्ने चिन्तामा छन्। उनीहरूको घरमा आगो बल्यो बलेन ? भोकालाई कसरी व्यवस्थापन गर्ने ? दीर्घरोगीहरूको अवस्था के छ ? रोगीको परीक्षण, उपचार र खोप के हुँदैछ ? धेरै प्रश्नका उत्तर दलहरूले अझै खोजेका छैनन् र जनताले सोधे आफैं दिन पनि सक्दैनन्।
महामारी नियन्त्रणमा बढी जिम्मेवार भनेकै सरकार हो। तर, जिम्मेवार बनाउन र संकट व्यवस्थापन गर्नमा साथ दिने भनेका राजनीतिक दल पनि हुन्। सामान्य समयमा राजनीतिक प्रतिस्पर्धा गर्ने र एकअर्काप्रति आक्रमक बने पनि यसलाई नागरिकले सामान्य नै ठान्छन्। अहिले राजनीतिक दलका नेताहरूको आक्रामक राजनीति शैली भने ‘बेमौसमको बाजा’ हो। यसलाई हेर्दा कुन समय के विषयमा आक्रामक हुनुपर्छ भन्ने चेत दलका नेताहरूले गुमाएको प्रष्ट हुन्छ। कोरोना महामारी र यसबाट सृजना भएका घटना नियन्त्रणमा यसरी नै आक्रामक बने महामारीले फैलने अवसर पाउने थिएन, नागरिकको स्वास्थ्यसँगै ज्यान पनि सुरक्षित हुने थियो। दुःखमा साथ दिएको गुन जनताले बिर्सने थिएनन्।
महामारी नियन्त्रणमा समय घर्किदो छ। आक्रमक रूपमा काम गर्नुपर्ने धेरै छन्। शवको लहर थपिँदा शव व्यवस्थापनमा जुटेको सेनाले स्काउटको पनि साथ लिने अवस्था आइसकेको छ। जसका लागि सेनाले तालिमसमेत दिन थालेको छ। महामारी नियन्त्रणमा औषधि उपचारसँगै खटिने जनशक्तिको पनि अभाव छ। भोकालाई भोजन दिने विभिन्न जिल्ला र सहरका युवा थाक्दैछन्। उनीहरूलाई हौसलासँगै सहयोग चाहिएको छ। विपद्मा सहयोग जुटाउन प्रशासन र स्वास्थ्यकर्मीले आग्रह र आह्वान गर्नुपर्ने समय आएको छ। चितवनमा चिकित्सक दम्पत्ति आफैं अक्सिजन सिलिन्टर जुटाउन खट्नु, इलाममा नागरिक स्तरबाटै राहत कोष खडा गर्नु र दाङमा युवाहरूले भोक निवारण अभियान चलाउनु यसका उदाहरण हुन्।
शक्ति प्रदर्शन र सत्ताका लागि आक्रामक बन्ने आफ्नो शक्ति अब राजनीतिक दलले कोरोना महामारी नियन्त्रणमा लगाउनु पर्छ। कोठामा बसेर निकाल्ने एक÷दुई थान विज्ञप्ति र सामाजिक सञ्जालमा लेख्ने ‘स्टाटस’ले महामारी नियन्त्रणमा सघाउ पुग्दैन। अब आफ्ना संयन्त्र परिचालन गर्नेदेखि सरकारको योजनामा साथ दिन पनि आफ्नो शक्तिको सदुपयोग दलहरूले गर्नुपर्छ। परेको समयमा शव जलाउन चिता बनाउनेदेखि बिरामीलाई चाहिने अक्सिजनको सिलिन्डर खोज्न र बोक्न पनि खुट्टा कमाउनु हुँदैन। समय चिनेर शक्तिको सदुपयोग नगरे पुनः सडकमा पछारिने समय नआउला भन्न पनि सकिँदैन। दलहरू समयमै सचेत बनुन्।