कहाँ छन् शासक वर्ग ?
सन् २०१९ ताका चीनको वुहान राज्यबाट विश्व सयर गर्न हिँडेको एक जीवाणुले लाखौं मानिसलाई स्वर्गमा पुर्याइरहेको छ। यस प्रकारको जीवाणुको सयर विश्व इतिहासमा यसअघि कहिल्यै नभएको इतिहासकारको भनाइ छ। जीवाणुको सयर आफैंमा बडो रोमाञ्चित छ। यसले मैं हुँ भन्ने विकसित देशलाई पनि नग्न अवस्था पुर्याएको छ। आफ्नो धरातल मजबुत बनाउन अभिप्रेरित पनि गरिरहेको छ। जीवाणु कति शक्तिशाली छ भने निरन्तर झन्डै दुई वर्ष विश्वको यात्रा गर्दा पनि यसलाई थकानको रत्तिभर महसुस भएको छैन। यसलाई थकित पार्न सयौंको संख्यामा चक्की उत्पादक कारखानाहरू दिनरात नभनी डटेर लागिरहेका छन्। कतिले चक्की उत्पादन गरेर हाटसम्म पुर्याई मानव शरीरमा प्रयोग गरिरहेका छन् भने कतिपय कारखाना चक्कीको प्रयोग गर्ने कुरामा प्रतीक्षारत छन्। दौडधुप निकै चलिरहेको छ।
उता पिँधका वर्ग भने दुविधामा छन् थोरबहुत कमाएको रुपैयाँले साबुन किन्नु कि पेट भर्नु, स्यानीटाइजर किन्नु कि सन्तानलाई खुवाउनु ? शासक वर्गहरूले मिलेर उनीहरूको सबथोक लुटेका छन्। केवल अब लुट्न बाँकी त्यो प्राण मात्र छ। त्यो पनि कुन दिन जीवाणुले लुट्ने हो त्यसको ठेगान छैन।
यावत कुरा वर्तमान अवस्थामा रहेको विश्वको जहाँ वादैवादको चाङमा केवल एक अपवाद आएर सारा वादलाई खलबलाइदिएको छ। विश्व केवल यस जीवाणुको सयर रोकी यसलाई स्वर्गको यात्रामा पठाउने कुरामा मात्र आत्मकेन्द्रित भएर लागेको देखिन्छ। अपवादबाहेक अधिकांश देशले आफ्नो भएभरको शक्ति यसै जैविक जीवाणुको सयर नियन्त्रणमा मात्र लगाएका छन्। जुन देशको शासक वर्गले आफ्नो ध्यान केवल जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेका छन् ती देशका शासक वर्गहरू यसको सयर नियन्त्रण गर्नमा सापेक्षित रूपमा सफल भइरहेका छन्। यसको ज्वलन्त उदाहरणको रूपमा जर्मनी, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, ताइवान, जापान, चीन, भियतनामलगायत देशहरूलाई लिन सक्छौं।
पंक्तिकारको छिमेकी मुलुक जुन विश्वको ठुलो लोकतान्त्रिक देशको उपनाले पनि प्रख्यात छ त्यस देशका शासक वर्गको अर्कमण्यताका कारण आज यस जीवाणुले लाखौं संख्याको जीवनहरण गरेको छ। जीवाणु पनि मख्ख छ आज विश्वकै ठुलो लोकतान्त्रिक मुलुकवासीको जीवनहरण गर्नु कुनै चानचुने कुरा हो र भनेर ! सायद यसैको बाछिटाले हुन सक्छ, पंक्तिकारको मुलुकमा पनि विगतका वर्षदेखि नै देखापरेको उक्त जीवाणु हालसम्म पनि छ। सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल जसलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर पनि चिन्ने गरिन्छ, त्यस मुलुकका जनताको जीवनहरण गर्दै र गरिरहेको छ यस जीवाणुले। जीवाणुले सयर गर्नुलाई आफ्नो धर्मको रूपमा लिँदै आएको छ भने सयर गर्ने मुलुकका शासक वर्गहरूलाई सचेत पनि बनाउँदै आएको छ, केवल फरक यति हो कि शासक वर्गहरूले यस कुराको हेक्का कत्तिको राखिरहेका छन् ?
उक्त जीवाणुको आगमन हुँदा खासै प्रभाव थिएन तर पछि जब हाम्रा देशका शासक वर्गले यसलाई केवल ‘हाछिऊँ साछिऊँ’ गरेर उडादिनु पर्छ भन्ने कुरा बोल्न पुगे, त्यसपश्चात् यो त झन् मख्ख परेर सम्पूर्ण नेपालकै सयर गर्न लालाहित भयो। वर्तमान अवस्थामा नियन्त्रण बाहिर गइसकेको भन्ने खबर प्रत्येक सञ्चारमाध्यमबाट सुन्न र हेर्न पाइन्छ। आजका दिनमा एकातिर यसलाई रोकथाम गर्न अग्रपंक्तिमा खटिएका ती महान् योद्धाहरू भन्दैछन्। देशको स्वास्थ्य अवस्था कोल्याप्स भइसक्यो अब धान्न सक्ने अवस्था छैन। अर्कोतर्फ शासक वर्गहरू भन्दैछन्, सरकारका विरुद्धमा लाग्ने व्यक्तिहरूले फैलाएका अफवाह हुन्, हामीसँग प्रशस्त मात्रामा स्वास्थ्य उपकरणहरू छन्। शासक वर्गले जति नै ढाकछोप गर्न प्रयास गरे पनि चुरो कुरो जनतालाई थाहा छ। शासक वर्ग छिमेकी मुलकको भन्दा कुनै कम छैन। उता जे अभ्यास गर्यो यता पनि ठ्याक्कै त्यसकै सिको गर्न बडो सिपालु छन्। आज जब धान्न नसक्ने अवस्थामा पुग्यो अनि फ्याट्ट निषेधाज्ञा जारी गर्ने छोटेशासक वर्गहरूलाई हुकुमको शैलीमा भन्नेबाहेक अरू के नयाँ काम गरेका छन् र हाम्रा शासक वर्गले !
शासक वर्गलाई निषेधाज्ञाको आदेश दिन जति सजिलो छ त्यति नै कठिन छ पिँधमा रहेका वर्गहरूले यस बेला जीवन चलाउन ! वर्तमान अवस्थामा हरेक दिन सञ्चारमाध्यमहरूमा सूचना आउने गर्छन् आदेश पालना गरौं। साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म हात धोऔं। स्यानीटाइजरको प्रयोग गरौं, माक्सको प्रयोग गरौं, घरभित्रै बसौं भनेर आदेशको भावमा पटकपटक कराउँदैछन्। शासक वर्ग पुँजीपतिहरूको आयलाई समेत जोडजाम गरी कुल जनसंख्याको प्रतिव्यक्ति आय १०८४ अमेरिकी डलर (सन् २०२० सम्म) भयो भनेर मख्ख पर्छ। उनीहरूको केवल कागजी जीवन उत्थानको निमित्त पाँच तारे होटलको आलिसान भवनमा चियापान गर्दै फगत झुटा प्रतिवेदन बनाउन पनि तल्लीन छन्। तर उता पिँधमा रहेका वर्गहरूको हविगत नितान्त फरक छ।
उता पिँधका वर्ग भने दुविधामा छन् थोरबहुत कमाएको रुपैयाँले साबुन किन्नु कि पेट भर्नु, स्यानीटाइजर किन्नु कि सन्तानलाई खुवाउनु ? कोसौं टाढाबाट ल्याएको पानीले जलपान गरौं वा हात धोऔं, मास्क किनौं वा अंग ढाक्ने कपडा, घरभित्रै बसौं वा पेट भर्न रोजगारीको निम्ति सहरको सयर गरौं। उनीहरूको सबथोक शासक वर्गहरूले मिलेर लुटेका छन्। केवल अब लुट्न बाँकी त्यो प्राण मात्र छ। त्यो पनि कुन दिन जीवाणुले लुट्ने हो त्यसको ठेगान छैन। यहाँ उनीहरू विवश छन् साथै लाचार पनि। उनीहरूको जीवन उत्थान गर्ने प्रतिवद्धता जाहेर गर्दै शासक वर्गले पटकपटक धोका दिएको कुरामा बेखबर जस्तै भएका छन्। आफूहरूको जीवन उत्थान हुन्छ भन्ने अभिलाषामा शासक वर्गको एक बोलीमै अमूल्य जीवन दाउमा लगाई पटकपटक बिद्रोहको मैदानमा ओर्लिएका पिँधका वर्गको हविगत विगतको भन्दा अझ दयनीय बन्दै गएको छ।
हिजो त्यही पिँधमा रहेका वर्गको मतबाट विजय हाँसिल गरी झन्डै दुई तिहाइ सहितको सत्ताको नेतृत्व गरिरहेका शासक वर्गलाई भने आजको विषम परिस्थितिमा समेत पिँधमा रहेका वर्गको कुनै मतलब नरहेको कुरा वर्तमान समयमा देखिएका घटनाहरूले स्पष्ट देखाउँछ। आज शासक वर्ग सत्ताको खेलमा मस्त रमाइरहँदा उता पिँधमा रहेका वर्गले प्रत्येक दिनजसो प्रियजन गुमाइरहेका छन्। पिँधका वर्गहरूले प्रियजनहरू गुमाउनुमा उनीहरूको केही दोष छैन केवल दोष छ त शासक वर्गको। जो संघीय गणतन्त्रामक लोकतान्त्रिक देशमा आफ्नो हैकम चलाउनमा मस्त छ। शासक वर्ग पिँधका वर्गलाई केवल ग्राहकको रूपमा हेर्छ जुन भविष्यमा अत्यन्तै खतरनाक सावित हुनेछ। शासक वर्गले आफ्नो भौतिक शक्तिको सहारामा निषेधाज्ञाको हुकुम दिँदै गर्दा आफूले आफ्नो कर्तव्य पनि भुल्दैछ। यस्तो विकराल परिस्थितिमा मुलुकको राजनीतिक अवस्था हेर्दा टम्स हब्सले भनेको यो भनाइ सान्दर्भिक देखिन्छ, ‘मानिसको स्वभाव, आकांक्षा, स्वार्थले राजनीति सधैं ग्रसित रहन्छ।’
निषेधाज्ञा आफूले पनि पालना गर्नुपर्छ भन्ने कुरामा शासक वर्ग स्वयं बेखबर छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १०४ र १०६ प्रतिकूल कार्य गर्दैछन् शासक नै। शासक वर्ग र पिँधका वर्गबीचको खेलमा मर्यादापालकको रूपमा रहेको देशको मूलकानुन साथै अन्य कानुनहरूको धारा र दफाहरूले निर्धारित गरिदिएको सीमालाई नाघेर आज शासक वर्ग मत्तासीन हात्ती भएको छ। जैविक जीवाणुले सयर गरिरहँदा शासक वर्ग आफ्नो झुण्डहरूलाई बटुलेर कतै रामनाम रथ यात्रा निकाल्छ त कतै कंक्रिटको थुप्रोमाथि चढेर इतिहास झल्किने आधुनिकता टल्किन्छ भनेर आफ्नो अकर्मण्यताको खुल्ला रूपमा प्रदर्शन गर्छ। ऊ आफू नांगिदै गएको हेक्का स्वयंलाई थाहा छैन। ‘भेरियस थट्स अन भेरियस सब्जेक्टस्’मा लेखकले उल्लेख गरेको यो भनाइले झनै स्पष्ट पारेको छ, ‘दल धेरैको पागलपन हो, थोरैका लागि लाभ।’
आजको विकराल परिस्थिति हुनु सत्तामा आसिन शासक वर्ग मात्र जिम्मेवार छैनन्, अन्य दलका शीर्ष नेता जो आफूलाई जनताको नेता भन्नेहरू पनि उत्तिकै जिम्मेवार छन्। महामारीकै विकराल अवस्था भइरहँदा हिमाल, पहाड तथा तराईमा बसोबास गरिरहेका ती पिँधका वर्गहरूलाई उचालेर सडकमा ल्याउने पक्षहरू पनि उत्तिकै जिम्मेवार छन्, जति शासक वर्गहरू छन्। यो अवस्थामा यहाँ रहेका राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २० ले प्रदान गरेको अधिकार मुताविक कतिको आफ्नो दलको भूमिका निर्वाह गर्दैछन् ? प्रश्न अनुत्तरित नै होला।
शासक वर्गहरूलाई विगतकै दिनमा जानकार भएरै हुनसक्छ, पिँधमा रहेका वर्गहरूको स्वास्थ्यलाई ध्यानमा राखी राष्ट्रिय स्वास्थ्य नीति, २०७१, सहरी स्वस्थ्य नीति, २०७२, गुणस्तरीय स्वास्थ्य सेवा नीति, २०६४ र राष्ट्रिय प्रयोगशाला नीति, २०६९ मा समावेश भएका नीतिहरू के कति पूरा गरे ? नेपालको संविधान, २०७२ ले प्रदान गरेको मौलिक हकको (विशेष रूपमा धारा ३५) उपयोगबाट आज किन पिँधका वर्गहरू लाभान्वित हुन सकिरहेका छैनन् ? के शासक वर्गको अकर्मण्यताको भागीदार हुनु पर्ने हो उनीहरूले सधैं ? यी यावत प्रश्नहरूले सेरोफेरोबीच आज कोरोनाको जीवाणु हाम्रो वरिपरि निस्फिक्री घुम्दै छ। हरेक दिन हजारौंलाई आक्रमण गरी सयौंको जीवन हरण गरी सयर गरिरहेकै छ।