कोरोनाको हर्ड मेन्टालिटी
अस्पतालको ओपीडी प्रतीक्षा कक्षमा मानिसको सामाजिक स्वाभावको मनोविज्ञान अध्ययन गर्नका लागि मनोवैज्ञानिकले बिरामी आउनुपूर्व नै भिडियो क्यामेरा लुकाएर राखेका थिए। पालैपालो बिरामीहरू आए, बसे। प्रतीक्षा कक्ष भरियो। कसैले मोबाइल चलाएर त कसैले किताब पढेर आफ्नो पालो पर्खिरहेका थिए। त्यसैबेला घन्टी बज्यो। कतिपयले चनाखो आँखाले यताउति हेरे। कतिपय आफ्नै धुनमा थिए। फेरि घन्टी बज्यो। एक वृद्ध महिला उठिन्। उक्त वृद्ध महिला उठेको देखेर अरू मानिस पनि उठे।
कोरोना भाइरसका बारेमा जनमानसलाई अहिले पनि सही तथ्य तथा ठीक सूचना प्राप्त भएको छैन। त्यहीमाथि आआफ्नो स्वार्थका लागि डर, त्रास र आतंक तथा अनेक किसिमका अफवाह, षडयन्त्रका सिद्धान्तहरू फैलाउनेहरू हावी भएका छन्।
महिला बसिन्। अरू मानिस पनि बसे। भित्रबाट बोलावट भयो, एउटा मानिस उठेर चिकित्सक कक्षतिर गए। फेरि घन्टी बज्यो। सबै मानिस उठे। अनि बसे। पालैपालो मानिस चिकित्सक कक्ष जाने क्रम र घन्टी बज्नासाथ प्रतीक्षा कक्षमा रहेका मानिस उठ्ने क्रम चलिरहेको थियो। अब एक युवती मात्र सो कक्षमा थिइन्। उनले मोबाइल चलाएर आफ्नो पालो पर्खिरहेकी थिइन्। अनि एक युवक आएर नजिकै बसे। फेरि घन्टी बज्यो। युवती उठिन्। युवती उठेको देखेर युवकले सोध्यो, किन उठेको ? युवतीले भनिन्, मलाई थाहा छैन, तर घन्टी बज्दा यहाँ बस्ने मानिसहरू उठ्ने गर्छन्। पुनः घन्टी बज्यो। युवती पुनः उठिन्। युवक पनि उठ्यो। अर्की महिला प्रतीक्षा कक्षामा आएर बसिन्। फेरि घन्टी बज्यो, युवक र युवती दुवै उठे। उनीहरू उठेको देखेर ती महिला पनि उठिन् र उनीहरू बसेपछि महिला पनि बसिन्।
प्रतीक्षा कक्षमा एक जोडी महिला पुरुषहरू आए र बसे। भित्रबाट बोलावट आयो, युवती भित्रतिर गइन्। केही बेरपछि पुनः घन्टी बज्यो। युवक र महिला उठे। सँगै आएका महिलापुरुषहरू पनि उनीहरूलाई हेर्दै उठे। अतः मानिसहरूले प्रायः अरूले जे जे गर्छन्, त्यही त्यही नै गर्छन्। भीड जता जान्छ, मानिस पनि त्यत्तै त्यत्तै जान्छन्। कुनै न कुनै रूपमा हरेक मानिसमा भेडो प्रवृत्ति रहन्छ। मानिसको यस्तो प्रवृत्तिलाई सामाजिक मनोविज्ञानमा हर्ड मेन्टालिटी भनिन्छ। चुनावका बेलामा कुनै पार्टीको लहर भनेको पनि यही हर्ड मेन्टालिटी हो। हरेक दिन समाजमा हर्ड मेन्टालिटीका सानाठुला घटनाहरू घटिरहन्छन्। तर यस शताब्दीको सबै ठुलो हर्ड मेन्टालिटीको घटना हो, कोरोना भाइरसको डर र त्रास।
कोरोना भाइरसको कारण हरेक मानिसको मनमा डर, त्रास र आतंक छ। यस किसिमको डरत्रासले मानिसको मनमस्तिष्कमा पहिलादेखि नै विद्यमान हर्ड मेन्टालिटीलाई झनै मजबुत बनाइदिएको छ। त्यसैले त मानिसहरू कोरोनाको क पनि नजानेका कतिपय युट्युवरहरूको कुरा समेत पत्ताएर यो या त्यो खाने गरिरहेका छन्। कोरोनाप्रतिको सही सूचनाको अभाव, डर र अनिश्चिताको कारण नै मानिसहरूमा यस किसिमको मानसिकता विकास भएको हो। मानिसको मानसिकता घर, परिवार, समाज, संस्कार, धर्म, संस्कृति, परम्परा, शिक्षादीक्षा तथा वातावरणले निर्माण हुन्छ। मानिस समाजिक प्राणी भएकाले समाजिक मूल्य र मान्यताहरूबाट प्रत्यक्ष र परोक्ष रूपमा प्रभावित हुने गर्दछ। र, त्यसैको अनुसरण गर्ने गर्दछ। वास्तवमा हरेक मानिसको मनमस्तिष्कमा यसरी नै हर्ड मेन्टालिटी विकास भएको हुन्छ।
अधिकांश परम्परा, संस्कृति तथा रीतिरिवाज यही हर्ड मेन्टालिटीको उपज हो। हर्ड मेन्टालिटीलाई मोब, प्याक तथा गैंग मेन्टालिटी पनि भनिन्छ। सरल शब्दमा यसलाई भेडोपना वा भीडको पागलपनका रूपमा लिइन्छ। हर्ड मेन्टालिटी मानिसहरूमा भन्दा पनि जनावरहरूमा बढी देखिन्छ। गाई, भैंसी, भेडा, बाख्रा तथा चराचुरुंगी आदि सबैमा हर्ड मेन्टालिटी प्रचुर मात्रमा देखिन्छ। भेडा त यसको सबै भन्दा सशक्त उदाहरण हो। मानिसमा देखा पर्ने यस्तो हर्ड मेन्टालिटीका कारण समाज तथा राष्ट्रलाई कहिलेकाहीँ त अकल्पनीय हानी पुग्न सक्दछ भने कसै कसैका लागि भने हर्ड मेन्टालिटी निकै फाइदाजनक पनि हुन्छ। बजारले तथा राजनीतिले मानिसको हर्ड मेन्टालिटीबाट भरपुर फाइदा लिने गर्दछ। राजनीतिक पार्टीले चुनावका बेलामा वा विरोध प्रदर्शनका बेलामा जति सक्दो भीड जम्मा गर्ने प्रयास गर्नु पनि यही हर्ड मेन्टालिटीको उपयोग गर्नु हो।
हर्ड मेन्टालिटीबाट बच्न सजिलो छैन। मानिस जति नै सचेत र बुद्धिमान भएता पनि कुनै न कुनै बेला हर्ड मेन्टालिटीबाट प्रभावित भएको हुन्छ। समाजमा जति जति अनिश्चिता र अस्थिरता बढ्छ, त्यति नै हर्ड मेन्टालिटी बढ्छ। त्यो किनभने अनिश्चिता तथा सही सूचना अभावको वातावरणमा मानिसले आफुले ठीक निर्णय गर्न सक्दैन, अनि भीडको पछि लाग्छन्। एउटा दृश्य कल्पना गर्नुहोस् त तपाईं कुनै नौलो ठाउँमा जाँदै हुनुहुन्छ, बाटोमा ठुलो खोला आउँछ, खोलामा पुल हुँदैन। माथिपट्टि खोला कम गहिरो देखिएको भएता पनि मानिस तलपट्टि गहिरोतिरबाट खोला पार गरिरहेका छन्। त्यस्तो अवस्थामा तपाईं निश्चितरूपमा अरू मानिसहरूले खोलापारको ठाउँबाट नै खोला पार गर्नुहुने छ। हो कि होइन ?
विरोध प्रदर्शनमा जब अचानक प्रहरीले हस्तक्षेप गरेर लाठी चार्ज तथा हवाइफायर गर्छन्, त्यस्तो बेलामा प्रदर्शनकारीहरू प्रायः एकै दिशातर्फ भाग्छन्। यस्तो अवस्थामा भीड जता भागेको छ, त्यही बाटो नै सुरक्षित हो भन्ने व्यक्तिको ठम्याइ हुन्छ। तर भीडले गरेको निर्णय अक्सर गलत हुन्छ। स्नायु मनोवैज्ञानिकका अनुसार डर र अनिश्चितताको बेलामा मानिसको नियोकोर्टेक्स भन्दा पनि म्यामलियन ब्रेन सक्रिय हुन्छ। जसले गर्दा मानिसले जनावारको जस्तो व्यवहार देखाउँछन्। कतिपय मानिसहरूमा सामान्य अवस्थामा पनि म्यामलियन ब्रेन सक्रिय भएको हुन्छ, यस्ता मानिसहरू हमेसा भीडको पछि लाग्ने गर्छन्।
अन्तमा कोरोना भाइरसका बारेमा जनमानसलाई अहिले पनि सही तथ्य तथा ठीक सूचना प्राप्त भएको छैन। त्यहीमाथि आआफ्नो स्वार्थका लागि डर, त्रास र आतंक तथा अनेक किसिमका अफवाह, षडयन्त्रका सिद्धान्तहरू फैलाउनेहरू हावी भएका छन्। जसले गर्दा समाज डर, त्रास र अनिश्चितताको वातावरणले व्यप्त छ। यही कारणले समाजमा हर्ड इम्युनिटीभन्दा पनि कोरोनाको हर्ड मेन्टालिटी विकास भएको छ। यस्तै हो भने कोभिड १९ विश्वको सबै भन्दा जटिल मानसिक समस्या हुन बेर छैन।