म्याग्दीमा कोरोना महामारीबाट ३५ जनाले गुमाए ज्यान
बेनी : कोरोना महामारीबाट म्याग्दीमा ३५ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएयता करिब एक महिनाको अवधिमा मात्रै कम्तिमा २७ जनाको मृत्यु भएको छ । कुल संक्रमितको २.३५ प्रतिशतले ज्यान गुमाएका हुन् । ९५६ जना अथवा ९७.६५ प्रतिशतले कोरोना जितेका छन् ।
म्याग्दीमा संक्रमण पुष्टि भएका १९ जना, जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि गएका १२ जना र कोरोनाको लक्षण र चिन्ह देखिएका तर स्वाब परीक्षण नगरिएका ४ जना (शंकास्पद) समेत मृत्यु हुनेको संख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
यस्तै पोखरा, काठमाडौंलगायत सहरी क्षेत्रमा उपचारको क्रममा कोरोना पुष्टि भएका १२ जनाको मृत्यु भएको छ । म्याग्दीमा कोरोना पुष्टि भइ ७ जनाको बेनी अस्पतालमा र १३ जनाको पोखरा, काठमाडौं रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।
‘शनिबार र आइतबार बेनी अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ,’ उनले भने, ‘ज्यान गुमाएकामध्ये धेरैजसो होम आइसोलेसनमा बसेर जटिल भएपछि मात्रै अस्पताल आएका हुन् ।’
म्याग्दीमा हालसम्म एक हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ४९६ जना छ । म्याग्दीबाट संकलन गरेर पठाइएको ३१४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।
सदरमुकाम बेनी बजारभित्र निषेधाज्ञा जारी भएपछि नयाँ संक्रमित भेटिने दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ । नया नयाँ ठाउँमा संक्रमित भेटिएका छन् ।
कोरोना नियन्त्रणका लागि वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संक्रमण बढ्ने दर स्थिर रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा लम्बाइएको बताए ।
जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्रको सिफारिसमा सुरक्षा समितिले सात दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक जेठ १ गतेदेखि १० गतेसम्म निषेधाज्ञा गरिएको थियो ।