म्यानमारकी नेत्री आन साङ सू ची पहिलोपटक अदालतमा: ३० मिनेटसम्म वकिल भेट्न दिइयो
नपिद्व: म्यानमारकी नेत्री आन साङ सू ची सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक अदालतमा हाजिर भएकी छन् ।
सैन्य सरकारले लगाएका विभिन्न मुद्दाको सुनुवाइका लागि उनी अदालत पुगेकी हुन् । तर उनी अदालत पुग्दा सुनुवाइ स्थगित भएको थियो । सुनुवाई अघि सू चीलाई उनका वकिलहरुसँग भेट्ने अनुमति दिइएको थियो ।
सू चीलाई पदच्युत गरेपछि १६ सातादेखि नजरबन्दमै राखिएको छ । म्यानमारको सेनाले उनको पार्टी नेश्नल लीग फर डेमोक्रेसीले गत वर्षको नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेर जितेको आरोप लगाउँदै सत्ता हत्याएको थियो ।
फेब्रुअरी १ मा सत्ता हत्याएदेखि नै सेनाले आन साङ सू ची सहित ४ हजार भन्दा धेरै नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ । साथै सैन्य कू विरोधी प्रदर्शनको क्रममा ८ सय भन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।
७५ वर्षीया नेत्री सू चीमाथि विभिन्न ६ वटा मुद्दा परेका छन् । सोमबार उनलाई अदालतमा पहिलो पटक आफ्ना वकिलहरुसँग भेट्नका लागि ३० मिनेटको समय दिइएको थियो ।
उनका वकिलहरुका अनुसार सू चीको स्वास्थ्य अवस्था अहिले ठीक छ । दुई दिनअघि मात्रै यहाँको निर्वाचन आयोगले सू ची को पार्टीलाई खारेज गरिदिएको छ ।