बिदा भइन् बानिरा

बिदा भइन् बानिरा

म मान्छे,

च्यातिएका वाक्यका टुक्राहरूका
पटक पटक बेग्ला बेग्लै अर्थ नलगाऊ
मैले आफ्नो कहानी बिर्सिसकेकी छु। 

 

‘म एउटा च्यातिएको पोष्टरभित्र’ कविताका यी हरफ झैं आफ्नो जीवन लीला बिर्साउँदै साहित्यकार डा. बानीरा गिरी संसारबाट बिदा भएकी छन्। नेपाली साहित्यकी विश्व नारीरत्न डा. गिरीको आइतबार राति सिभिल अस्पतालमा हृदयघातका कारण निधन भएको हो। 

उनी लामो समयदेखि मधुमेहबाट पनि पीडित थिइन्। पछिल्लो पाँच वर्षदेखि अल्जाइमर रोगसँग लडिरहेकी उनी विगत तीन वर्षयता अर्धचेतन अवस्थामा बाचिरहेकी थिइन्। 

पति शंकर गिरीसँगै उनी मीनभवनस्थित घरमा बस्थिन्।  बोल्न नसके पनि परिवारको उनीप्रतिको माया, ममता र अपनत्वमा कहिल्यै कमी आएन। आँखाको भावले पतिसँग कुरा गर्ने डा. गिरी अन्ततः आइतबार राति १० बजे संसारबाट बिदा भइन्। घरमै उपचाररत उनलाई एक्कासि असहज भएको थियो। उनी कोरोनाबाट समेत संक्रमित भएकी थिइन्। 

आफूलाई कविता लेखनमा अब्बल सावित गरेकी गिरीको कविता वाचन शैली, प्रस्तुति र कविता चेत उपल्लो कोटीको थियो। कवितालाई पहिलो प्रेम र प्रेमीको रूपमा लिने गिरी कविता बिनाको जीवन जेलमा कैदी भएर बाँच्नु जस्तै हुने महसुस गर्थिन्। 

उनी आफ्नी आमाले बिहान उठेर पूजा गर्दा वाचन गर्ने संस्कृतका श्लोक र स्तुतिहरू सुनेर कविता प्रतिआकर्षित भएकी थिइन््। मानिसको जीवन र प्रकृतिलाई विम्ब बनाएर कविता लेख्ने उनी भन्थिन्, ‘हाम्रो जीवन र प्रकृति एक अर्कासँग जोडिएका छन्। कविताले यो सम्बन्धलाई सधैं उत्सवको रूपमा स्वीकार गर्ने गर्छ। कविताले शक्तिशालीले शक्तिहीनलाई गरिने हिंसालाई पनि ओगट्छ।’

उनका कविता, निवन्ध र उपन्यास गरी १४ कृति प्रकाशित छन्। एउटा अर्को जङ्यबहादुर शीर्षकको कवितासंग्रह लेखेर नेपाली काव्यजगतमा उदाएकी गिरीका ‘जीवन थाय् मरु’ कविता संग्रह, उपन्यास कारागार, शब्दातित सान्तनु, मेरो आविष्कार, जंगल जंगल, पर्वतको अर्को नाम पार्वती जस्ता पुस्तक प्रकाशित छन्। कवि गोपालप्रसाद रिमालबारे शोध गरी नेपाली साहित्यमा पीएचडी गर्ने उनी पहिलो नेपाली महिलासमेत हुन्। उनले २०४२ सालमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी सकाएकी थिइन्। उनी कुशल समालोचक र प्राध्यापकसमेत हुन्। 

समालोचक तथा प्राध्यापक नेत्र एटम भन्छन्, ‘बानीराका कविताहरू कोमल हुन्छन्।  कवितामा प्रकृति र मातृत्वलाई बिम्ब बनाउने। प्रकृतिलाई आमाको रूपमा बुझेकी छन् उनले। आत्मकेन्द्रित भएर आफूभित्रका गुण र रहस्यलाई खोज्ने कवि हुन् उनी।’ महिला स्वतन्त्रतामा सुखी र खुसी हुन्छन् भन्ने गिरी स्वच्छन्दतावादी प्रकृतिप्रेमी कवि रहेकी उनले बताए।  एटमका अनुसार गिरीले नेपाली साहित्यको अनुसन्धान, उपन्यास तथा कविता लेखनमा उत्कृष्टता हाँसिल गरेकी छन्।  उनी भन्छन्, ‘आत्माभिमानको उच्चता उनको व्यवहार र लेखन दुवैको दह्रो वैकल्पिक आधार हो। वैचारिक दृढता र कोमल अभिव्यक्तिकी धनी उनी महिलाको चयनको स्वतन्त्रता र सिर्जनशीलताको आह्वानकर्ता हुन्।’ उनको लेखनमा गहिरो नदीको जस्तो निरन्तर प्रवाह र गम्भीरता रहने पनि उनले बताए। 

साहित्यकार डा. धुव्रचन्द्र गौतमका अनुसार उनमा सशक्त कविको व्यक्तित्व थियो। उनी भन्छन्, ‘बानीराको मृत्युले निकै पीडा दियो मलाई। भेटेर श्रद्धाञ्जली दिन पनि नपाइने। कोभिड–१९ का कारण हामी सबै कारागारमा बन्दी भएको बेला ‘कारागार’ उपन्यासकी लेखिका बिदा हुनुभयो।’ 

साहित्यकार मोमिला जोशी सामाजिक सञ्जालमा लेख्छिन्, ‘यस धर्तीमा अब कहिल्यै भेट्न सकिन्न भनेर स्विकार गर्नै गाह्रो परिरहेको तितो यर्थाथ। बह्माण्डको शून्यमा पनि आदि यर्थाथ भएर शब्द र स्वरमा सदा गुन्जिरहने छन् यी महान हस्तीहरू।’ 

२००२ सालमा दार्जीलिङको खर्साङमा जन्मिएकी गिरी कविता महोत्सवमा भाग लिन २०२२ सालमा काठमाडौं आएकी थिइन्। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेकी थिइन्। 

२०२५ सालदेखि उनले पद्मकन्या कलेजमा प्राध्यापन गर्न थालिन्। उनका पति शंकर गिरीको अग्रसरतामा २०७६ सालमा बानिरा फाउन्डेसनको समेत स्थापना भएको छ। त्रिमूर्ति निकेतनको आयोजनामा २०७१ सालमा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट ‘नेपाली साहित्यका विश्व नारीरत्न’ उपाधिद्वारा गिरी सम्मानित भएकी थिइन्। 

सन् १९७६ मा अफ्रो एसियाली लेखक सम्मेलनमा नेपाली टोलीको नेतृत्व गर्दै भाग लिने उनी पहिलो नेपाली प्राज्ञसमेत हुन्। उनले गोरखा दक्षिणबाहु, महेन्द्र विद्याभूषण, रत्नश्री स्वर्णपदक, सैनध्वज नन्दकुमारी पुरस्कारलगायत सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन्। उनका पति, एक छोरा र एक छोरी छन्। उनका कविताहरू हिन्दी, उर्दु, अंग्रेजी, जापनीलगायत थुप्रै भाषामा अनुवाद भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.