समालोचनाका ट्रेन्ड सेटर
राजा महेन्द्र बेलाबेलामा दार्जीलिङ गइरहन्थे। एक त कवि हृदयका राजा उनी फेरि उनका छोराहरू पनि त्यहीँको अंग्रेजी स्कूलमा पढ्दै गरेकाले उनी त्यहाँ पुगिरहन्थे। यसै मेसोमा उनले आफू युवराज छँदै तिनलाई केहीपटक भेटेका हुन्। दूरदर्शी स्वभावका राजा थिए महेन्द्र जो छोटो हेराइबाटै कुनै पनि मान्छेको प्रतिभालाई आँक्न सक्थे। यसरी राजाको हेराइमा परेका उनलाई आफ्ना जुनियर साथी जनकलाल शर्माले २०१० सालमा काठमाडौं बोलाएका थिए। शर्माले उनलाई बोलाएका मात्र होइनन्, आफ्नै घरमा चार महिनासम्म ससम्मान राखे। केही वर्षपछि उता दार्जीलिङमा उनको नोकरीको अवकाश भयो २०१३ सालमा। यसपछि भने उनै राजा महेन्द्रको सद्भावमा सधैंका लागि यता आएर पुरातत्त्व विभागको निर्देशक बने। उनी थिए, नेपाली इतिहासका पायोनियर र नेपाली समालोचना क्षेत्रका ट्रेन्ड सेटर सूर्यविक्रम ज्ञवाली।
पूर्खाहरू नेपालको गुल्मीबाट भारतको वाराणसी सरेपछि १९५५ साल वैशाख २९ गते ज्ञवाली त्यहीँ जन्मिए। पिता तिलविक्रम र माता पार्वतीदेवीको सम्मिलनबाट जन्मेका उनले बाल्यकालमा नेपाली भाषामा प्रारम्भिक शिक्षा लिन पाएनन्। बाबुले घरमा जेजति सिकाए त्यसैमा उनले चित्त बुझाउनु प¥यो। आफू बस्ने ठाउँको नजिकका स्कूलहरूमा मराठी भाषामा मात्र प्रारम्भिक शिक्षा दिइन्थ्यो। यस्तै अवस्थामा उनले हिन्दी, मराठी र अंग्रेजी माध्यमका विभिन्न शैक्षिक संस्थाहरूबाट प्रवेशिका र आईए पास गरे। जीवनका चौबिस वसन्त पार गरेपछि उनी नोकरी खोज्ने क्रममा त्यतिबेलाको नेपाली भाषा र साहित्यको दोस्रो राजधानी मानिने सानो सहर दार्जीलिङतिर हानिए। त्यहाँको सरकारी स्कूल र सरकारी कलेजको अध्यापन कार्यमा रहेर उनले जीवनका झन्डै साढे तीन दशक बिताए।
भारतवर्षमा नेपाली भाषा र साहित्यको उन्नयनका लागि उनले दार्जीलिङमा अखिल भारतीय नेपाली साहित्य सम्मेलन स्थापना गरे। आफू त्यसका संस्थापक सचिव बने। यो संस्थाको नाम केही समयपछि नेपाली साहित्य सम्मेलन मात्र रहन पुगेको हो। दुई कर्मठ भाषा र साहित्यसेवीहरू धरणीधर कोइराला र पारसमणि प्रधानको साथ लिँदै उनले समग्र विश्वमा नै हाम्रा आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिक त्यहाँको चौरस्तामा उभ्याए। सामूहिक कार्य नै थियो त्यो तर त्यसको समग्र नेतृत्व भने उनै ज्ञवालीको रह्यो। गोर्खाल्याण्ड आन्दोलनका कारण यसका उदण्ड कार्यक्र्ताहरूको कोपभाजनमा परी पटकपटक भत्कँदै र बन्दै गरेको यो सालिक आज पनि चौरस्तामा रहेको छ भने नेपाली साहित्य सम्मेलन आज पनि सूधपा भवनका नाममा त्यहाँको सोनाम वाङ्दी पथमा रहेको छ।
आईएसम्मको अध्ययन गरेर दार्जीलिङको सरकारी स्कूलमा पढाउँदै गर्दा कलकत्ताबाट बीए र बीटी पनि गरे। त्यही अवस्थामा कलकत्ता विश्वविद्यालयमा नेपाली भाषाले मान्यता पाएको हो र यो प्राप्त गर्दा पनि ज्ञवालीले निकै पापड बेलेका थिए। यसरी भारतवर्षमा नेपाली भाषाको मान्यताको आन्दोलनको भ्र्ूण ज्ञवालीको पहलमा नै बसेको हो भने त्यसको पूर्णता आजभन्दा झन्डै डेढ दशकअघि भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषा अन्तर्भुक्त भएबाट भएको हो। नेपालको ऐतिहासिक अध्ययन र अनुसन्धानका क्रममा तनमयका साथ लाग्ने ज्ञवालीले पृथ्वीनारायण शाह, द्रव्य शाह, राम शाह, वीर बलभद्र, अमरसिंह थापाजस्ता अमर व्यक्तित्वहरूको विश्लेषणात्मक अध्ययन गरी तिनीहरूको ऐतिहासिक जीवनी पनि लेखेका छन्।
भाषा र साहित्यतर्फ नेपाली भाषाको विकासको संक्षिप्त इतिहास, नेपालका शाहवंशीय राजाहरू तथा आदिकवि भानुभक्त आचार्यको जीवन चरित्रजस्ता ओजपूर्ण र अन्वेषणात्मक कृतिहरू उनले लेखेका छन्। परम्परागत नेपाली समालोचनाको विपक्षमा उनले प्रभाववादी समालोचनाको सूत्रपात गरेका छन्। अग्रज समालोचकहरू मोतीराम भट्ट तथा बाबुराम आचार्यहरूले खनेको गोरेटोलाई उनले अझ फराकिलो पार्दै शास्त्रीय ट्रेन्डमा चलेको नेपाली समालोचनाको मूल्य र मान्यतालाई पूर्वीय दर्शनमा नै आधारित रही पाश्चात्य प्रभाववादी मान्यतामा ढालेर नयाँ प्रयोग गर्दै नेपाली समालोचनाको पृथक् ट्रेन्ड सेट गरेका छन्।
नेपाल र भारत दुवै देशहरूमा राजकीय पदमा आसीन हुने सौभाग्य पाउने व्यक्तित्व पनि हुन् ज्ञवाली। यसमा अन्यथा लिने प्रश्न नै छैन किनकि अद्भुत क्षमता र असाधारण विद्वताका कारणले नै उनले यस्ता अवसर पाएका हुन्। नेपालमा जिल्ला शिक्षा अधिकारी भनिने पदलाई भारतवर्षमा डिस्ट्रिक्ट एजुकेशनल इन्सपेक्टर भनिन्छ सो पद आजसम्म पाउने मात्र दुई नेपालीहरू मध्ये एक हुन् ज्ञवाली। उनीबाहेक पण्डित धरणीधर शर्मा कोइरालाले यो पद पाएका थिए। यसबाहेक उनी एकपटक दार्जीलिङ नगरपालिकाका सदस्य र कमिसनर पनि भएका थिए। नेपाल आगमनपश्चात् उनी पुरातत्त्व विभागको निर्देशक, राष्ट्रिय पञ्चायतको सदस्य, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य तथा कुलपति तथा नेपाली राजदूतावास नयाँ दिल्लीमा नेपालको तर्फबाट सांस्कृतिक सहचरीसमेत भएका थिए। राजा महेन्द्र तथा वीरेन्द्र दुवैको धाप त उनीमाथि थियो नै तर यसका अतिरिक्त आफ्नो विराट क्षमताका कारणले पनि उनी अमेरिकाको न्यूयोर्क विश्वविद्यालयका अतिथि प्राध्यापकसमेत हुन पुगे।
धरणीधर शर्मा कोइरालाको नैवेद्य नामक काव्यकृतिमाथि लेखिएको ज्ञवालीको नैवेद्य समालोचनाले समालोचनाका क्षेत्रमा एउटा विष्फोटक क्रान्ति ल्यायो। पाश्चात्य कोणबाट लेखिएको यो समालोचनाबाट नेपाली समालोचना औपचारिक रूपमा नै आधुनिक युगमा प्रवेश गरेको मानिन्छ। गोर्खाली र जन्मभूमि पत्रिकाको कुशल सम्पादन गर्ने क्रममा नै उनमा समालोचकीय चेतले आत्मसात गरेको हो। नैवेद्य समालोचनामा उनले निर्भिक्ताका साथ कृतिका सबल र कमजोर दुवै पक्षको चिरफार गरेका छन्। उमेर र लेखनकर्मका हिसाबले बाबुराम आचार्यभन्दा कान्छा हुन् ज्ञवाली तर समालोचनाधर्मिताका अर्थमा उनी बाबुरामभन्दा अगाडि देखा परे जसका कारण ज्ञवाली समालोचनाको ट्रेन्ड सेटर बन्न पुगे। कृतिको शल्यक्रिया सफलताका साथ गर्ने मामलामा कोशेढुंगा त हुँदै हुन्, ज्ञवाली समालोचनाका क्षेत्रमा कृतिलाई राम्ररी सम्पादन गरेर मात्र पाठकसमक्ष पस्किनु पर्छ, गुणका आधारमा कृतिको मापन गरिनु पर्छ र कलात्मक पक्ष प्रबल रहेको कृतिबाट मात्र जीवनका सुन्दर पक्षहरू उद्घाटित हुन्छन् भन्ने मान्यता राख्ने पनि उनै ज्ञवाली हुन्। प्रभाववाद र सँगसँगै नीतिपरक समालोचना मान्यताका पनि उनी उठानकर्ता मानिन्छन्।
नेपाली कथाका क्षेत्रको उत्कृष्ट प्राप्ति कथाकुसुमको सम्पादन ज्ञवालीबाट भयो भने समालोचना तथा इतिहास लेखनको शास्त्रीय मान्यता उनबाट भञ्जन भयो। प्रमाणिक्तामा रहेर नेपालको इतिहास तथा नेपाली वीरवीरंगनाहरूको विश्लेषणात्मक जीवनीकार्यको उत्खनन् ज्ञवालीबाट भयो। बाबुराम आचार्य, बालचन्द्र शर्मा र उनै ज्ञवाली नेपालको इतिहास लेखनका त्रिमूर्तिहरू हुन्। शाहवंशीय राजाहरूका गाथागायन उनबाट भएको छ भने आफू संस्थापक सदस्यसचिव रहेको संस्था नेपाली साहित्य सम्मेलनबाट भानुभक्त स्मारक ग्रन्थजस्तो उत्कृष्ट कृतिको सम्पादन पनि उनले गरे।
भानुभक्तलाई नजिकबाट बुझ्नका लागि आजसम्मकै सार्थक ग्रन्थ मान्छन् अन्य समालोचकहरू यसलाई। आदिकवि भानुभक्तलाई सर्वप्रथम मोतीराम भट्टले चिनाएका हुन् तर मोतीरामको चिनाइमा नखुलेका भानुभक्तका पाटाहरूलाई ज्ञवाली खुलाउन सफल भएका छन्। भानुभक्तका कुशल व्याख्यानकार ज्ञवालीले नेपालबाट प्रशस्तै मानसम्मान तथा पुरस्कारहरू पाएका छन्। पृथ्वी प्रज्ञा पुरस्कार, त्रिभुवन प्रज्ञा प्ुरस्कार, गोरखा दक्षिणबाहु प्रथम तथा त्रिशक्ति पट्ट दोस्रो आदि पुरस्कार तथा मानसम्मान पाउनुअघि नै उनले भारतबाट कैजर ए हिन्द पदक पाइसकेका थिए।
नेपालमा २५ वर्ष र भारतमा ४० वर्ष गरी पूरा ६५ वर्ष उनले भाषा, इतिहास लेखन, साहित्यिक पत्रकारिता र साहित्यका नाममा समर्पण गरेका छन्। सम्पादन, अनुवाद, कोशलेखन आदिमा पनि उनको कलम अब्बल देखिएको छ। एक दर्जन मौलिक कृतिका अतिरिक्त सम्पादन र अनुवाद गरी दुई दर्जन उनका कृतिहरू सार्वजनिक भएका छन्। लैनसिंह वाङ्देल, इन्द्रबहादुर राई तथा इन्द्र सुन्दासजस्ता साहित्यिक चेला उनका रहे भने निरंकुश राणाशाहीलाई रिझाउन तत्कालीन बृटिस शासकहरूले उनीसहित धरणीधर कोइराला र नैवेद्यका प्रकाशक हरिप्रसाद प्रधानलाई झन्डै एक वर्ष जेलमा पनि राखेका थिए। यसरी नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत प्रत्यक्ष सहभागिता जनाएका र औपचारिक रूपमा अंग्रेजी साहित्य र प्राच्य इतिहासमा स्नातक रहेका ज्ञवालीसहित धरणीधर शर्मा र पारसमणि प्रधानलाई नेपाली साहित्य सम्मेलनको स्वर्ण जयन्तीका उपलक्षमा बृहत् नागरिक अभिनन्दन पनि गरिएको थियो।
आजको जस्तो प्राज्ञ पद त्यो बेला सत्ताधारी राजनीतिक नेताको निगाहमा नभई विराट क्षमताका आधारमा प्राप्त हुने विषय थियो। लैनसिंह वाङ्देल, बालचन्द्र शर्मा, विजय मल्ल, बालकृष्ण सम, तीर्थबहादुर श्रेष्ठ तथा माधवप्रसाद घिमिरे नै यसको उदाहरणका लागि काफी छन्। त्यो जमानाका प्राज्ञ रहेका ज्ञवाली वास्तवमा नै नेपाली वाङ्मयका विभूति रहे, अमर प्राज्ञ रहे। प्रामाणिक इतिहास लेखनका पायोनियर उनले नेपालका राष्ट्रनिर्माताहरूको जीवनवृत्तलाई अभिलेखीकरण गरे, उनीहरूको वास्तविक परिचय जनसमक्ष ल्याए। २०१४ सालतिर यता पुरातत्त्व विभागको निर्देशक भइसकेपछि भारतको पश्चिम बंगाल सरकारका तत्कालीन राज्यपालले धरणीधर शर्माले नोकरीबाट अनिवार्य अवकाश लिइसकेका थिए।
यस्तो अवस्थामा रिक्त हुन पुगेको दार्जीलिङ डिस्ट्रिक्ट एजुकेशनल इन्सपेक्टरको पद सम्हाल्न उनलाई आमन्त्रण मात्र गरिएन, उनलाई लिन काठमाडौंमा सहयोगी नै पठाएका थिए। यसबाट पनि भारतवर्षमा उनको लोकप्रियताको थप पुष्टि हुन्छ। यो आमन्त्रणलाई उनले सहजै स्वीकार गरेका थिए र उता सो पदका लागि राज्य सरकारले अर्काे उपयुक्त व्यवस्था गरेपछि उनी यता फर्केर पुन पुरातत्त्व विभागको जिम्मेवारी सम्हाल्न पुगे। यसरी समग्र जीवनलाई प्राज्ञिक, सामाजिक र शैक्षिक उन्नयनमा खर्च गर्ने इतिहासका पायोनियर र समालोचनाका ट्रेन्ड सेटर सूर्यविक्रम ज्ञवालीले प्राणघातक रोग क्यान्सरका कारण २०४२ मंसिर १ गते चोला बिसाए। समग्र नेपाल र भारतीय नेपाली समाजमा उनको अनुपस्थितिले बनाएको रिक्तता लामो समयसम्म कायम रहने देखिन्छ।