कोरोना नियन्त्रणमा स्वयंसेवक खटाउँदै कर्णाली सरकार

कोरोना नियन्त्रणमा स्वयंसेवक खटाउँदै कर्णाली सरकार

सुर्खेत : कोरोना महामारी नियन्त्रणमा कठिन भएपछि कर्णालीमा स्वयंसेवक खटाइने भएको छ । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा अब स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यगरी प्रदेशका दुर्गम जिल्लाबाट संक्रमितलाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ । तर प्रदेश अस्पतालसम्म संक्रमितको उद्धार, उपचार र मृत्युपछि शव व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । यही समस्या समाधानका लागि प्रदेश सरकारले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री सीताकुमारी नेपालीले कर्णालीमा कोरोना महामारी नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्न लागिएको बताइन् ।

प्रदेश सरकारले स्वयंसेवक खटाउनु अघि सेवा गर्न इच्छुकहरुलाई सार्वजनिक रुपमा आह्वान गर्नेछ । यसरी छनौट हुने स्वयंसेवकहरुले गाउँ–गाउँमा कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको शव व्यवस्थापन सम्मका काम गर्नेछन् । ‘संक्रमण गाउँसम्म फैलिएको छ, अहिले पनि धेरै नागरिक कोरोनाबारे सचेत छैनन्’ मन्त्री नेपालीले भनिन्, ‘स्वयंसेवकहरुले गाउँसम्म पुगेर संक्रमितको अवस्था र सावधानीका उपायहरु पनि सिकाउने छन् ।’ सामान्य चिया र खाजाबाहेक स्वयंसेवकलाई निशुल्क खटाइने मन्त्री नेपालीले जानकारी दिइन् । 

मन्त्री नेपालीले भनिन्, ‘समयमै संक्रमितलाई अस्पतालसम्म ल्याउन, उनीहरुको उपचारमा सहजिकरण गर्न र अक्सिजनको व्यवस्थापनमा पनि स्वयंसेवकले काम गर्नेछन् ।’ यसरी परिचालन हुने स्वयंसेवकहरु मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षकत्वमा हुनेछन् । स्वयंसेवकले अस्पतालमा औषधि तथा अक्सिजनको सहज आपूर्ति र संक्रमितको रेखदेख लगायतका काम गर्नेछन् । त्यस्तै मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरुको समयावधि पनि थप गरेको छ । उनीहरुको करार म्याद सकिएका कारण समयावधि असार मसान्तसम्म थप गरिएको हो । 

यस्तै रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी अभाव भएका कारण तत्काल रिक्त दरबन्दीमा जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरिएको हो । सरकारले प्रदेशभित्रै अक्सिजनको दिगो र भरपर्दो आपूर्तिलाई सुनिश्चित गर्न सुर्खेत र कालिकोटमा अक्सिजन सिलिण्डर रिफिलिङको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

सुर्खेतमा अक्सिजन रिफिलिङको व्यवस्थानका लागि लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई एक करोड बिस लाख र कालिकोटका लागि स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ दिने निर्णय गरिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्नका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई साढे दुई करोड बजेट दिने निर्णय पनि गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.