भक्तपुरमा थप ८ जना संक्रमितको मृत्यु, मृतकको संख्या २४५ पुग्यो
भक्तपुर : भक्तपुरमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जसमा ६ जना पुरुष र २ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ४ वटामध्ये सबैभन्दा बढी चाँगुनारायण नपामा मात्रै ३ जना संक्रमित पुरुषको मृत्यु भएको हो ।
त्यस्तै मभ्यपुर थिमि र सूर्यविनायकमा एकएक जना महिला र पुरुष गरी ४ जना तथा भक्तपुर नपाका एकजना पुरुष संक्रमितको मृत्यु भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १६२ जना पुरुष र ८३ जना महिला गरी २४५ जना पुगेको छ । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ६१ जना पुरुष र २५ जना महिला गरी ८६ जना संक्रमितको मृत्यु भएको छ ।
भक्तपुरका ३९ जना पुरुष र २६ जना महिला गरी ६५, सूर्यविनायकका ४१ जना पुरुष र २३ जना महिला गरी ६४ जना र चाँगुनारायण नपाका २१ जना पुरुष र ९ जना महिला गरी ३० जना संक्रमितले ज्यान गुमाएका छन् ।
भक्तपुरमा पछिल्लो दुई सातादेखि दैनिक रुपमा संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार भक्तपुरमा ३ घन्टामा एकजना संक्रमितको मृत्यु भइरहेको छ ।यहाँ नयाँ थपिने एकसय संक्रमितमध्ये मर्नेको संख्या ३ जना पुगेको छ । पछिल्लो पटक २७७ जना नयाँ संक्रमित थपिँदा ८ जनाले ज्यान गुमाएका थिए ।
मंगलबार पहिलोपटक भक्तपुरमा सक्रिय संक्रमित ४ हजारभन्दा कम भएका छन् । जसअनुसार यहाँ एकहजार ९७९ जना पुरुष र एकहजार ७४५ जना महिला गरी ३ हजार ७२४ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ११८ जना पुरुष र ८८ जना महिला गरी २०६ जना अस्पताल तथा नपाको आइसोलेसन केन्द्रमा उपचाररत छन् ।
त्यस्तै एकहजार ८६१ पुरुष र एकहजार ६५७ महिला गरी ३ हजार ५१८ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।यहाँका ४ नपामध्ये सबैभन्दा बढी सूर्यविनायक नपामा ६५३ पुरुष र ६१५ महिला गरी एकहजार २६८ सक्रिय संक्रमित रहेका छन् । मध्यपुर थिमि नपामा ६०६ पुरुष र ५४७ महिला गरी एकहजार १५३ सक्रिय संक्रमित छन् । भक्तपुर नपामा ३४२ पुरुष र २७५ महिला गरी ६१७ तथा चाँगुनारायणमा २७४ पुरुष र २१८ महिला गरी ४९२ जना सक्रिय संक्रमित रहेका छन् ।
थपिने भने डिस्चार्ज हुने बढी
पछिल्लो समय नयाँ थपिने भन्दा डिस्चार्ज हुने संक्रमित बढेका छन् । मंगलबार २७७ जना संक्रमित थपिँदा ४९९ जना डिस्चार्ज भए । हालसम्म ८ हजार २९८ पुरुष र ६ हजार ७०६ महिला गरी १५ हजार ४ जना संक्रमित डिस्चार्ज भएका छन् । जुन ७९ प्रतिशत हो ।
भक्तपुरमा १८ हजार ९७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० हजार ४३९ जना पुरुष र ८ हजार ५३४ जना महिला रहेका छन् ।