महामारी नियन्त्रणमा स्वयंसेवक खटाइँदै
सुर्खेत : कोरोना महामारी नियन्त्रणमा कठिन भएपछि कर्णालीमा स्वयंसेवक खटाइने भएको छ। कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण, संक्रमितको उद्धार, उपचार र शव व्यवस्थापनमा अब स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
मुख्यगरी प्रदेशका दुर्गम जिल्लाबाट संक्रमितलाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ। तर, प्रदेश अस्पतालसम्म संक्रमितको उद्धार, उपचार र मृत्युपछि शव व्यवस्थापनमा कठिनाइ हुने गरेको छ। यही समस्या समाधानका लागि प्रदेश सरकारले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा कोरोना महामारी नियन्त्रण, व्यवस्थापन तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्न लागिएको बताइन्।
प्रदेश सरकारले स्वयंसेवक खटाउनुअघि सेवा गर्न इच्छुकहरूलाई सार्वजनिक रूपमा आह्वान गर्नेछ। यसरी छनोट हुने स्वयंसेवकहरूले गाउँगाउँमा कोरोना संक्रमणबारे जनचेतना फैलाउनेदेखि मृतकको शव व्यवस्थापनसम्मका काम गर्नेछन्। ‘संक्रमण गाउँसम्म फैलिएको छ, अहिले पनि धेरै नागरिक कोरोनाबारे सचेत छैनन्,’ मन्त्री नेपालीले भनिन्, ‘स्वयंसेवकहरूले गाउँसम्म पुगेर संक्रमितको अवस्था र सावधानीका उपायहरू पनि सिकाउने छन्।’ सामान्य चिया र खाजाबाहेक स्वयंसेवकलाई निःशुल्क खटाइने मन्त्री नेपालीले जानकारी दिइन्। मन्त्री नेपालीले
भनिन्, ‘समयमै संक्रमितलाई अस्पतालसम्म ल्याउन, उनीहरूको उपचारमा सहजीकरण गर्न र अक्सिजनको व्यवस्थापनमा पनि स्वयंसेवकले काम गर्नेछन्।’
यसरी परिचालन हुने स्वयंसेवकहरू मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संरक्षकत्वमा हुनेछन्। स्वयंसेवकले अस्पतालमा औषधि तथा अक्सिजनको सहज आपूर्ति र संक्रमितको रेखदेखलगायतका काम गर्नेछन्। त्यस्तै मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूको समयावधि पनि थप गरेको छ। उनीहरूको करार म्याद सकिएका कारण समयावधि असार मसान्तसम्म थप गरिएको हो।
यस्तै, रिक्त दरबन्दीमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ। कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी अभाव भएका कारण तत्काल रिक्त दरबन्दीमा जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरिएको हो।