अक्सिजन नहुँदा ‘रिफर’

अक्सिजन नहुँदा ‘रिफर’

सुर्खेत : कर्णालीका दुर्गम जिल्लामा अक्सिजन उपलब्ध छैन। अक्सिजन नै नहुँदा कोरोना संक्रमितको उपचारमा जटिलता छ। जिल्लामै उपचार सम्भव नहुँदा संक्रमितलाई थप उपचारका लागि जिल्लाबाहिर (रिफर) पठाउनुपर्ने बाध्यता छ। रिफर गर्नुपर्ने बाध्यताका कारण स्थानीयमा आर्थिक भार थपिएको हो।

कर्णालीका हुम्ला, डोल्पा र मुगुलगायतका दुर्गम जिल्लामा अक्सिजन उपलब्ध छैन। तर, संक्रमितको उपचारमा अक्सिजन अनिवार्य जस्तै बनेको छ। जिल्लामा अक्सिजन नहुँदा जटिल प्रकृतिका संक्रमितलाई चिकित्सकहरूले जिल्लाबाहिर रिफर गर्दै आएका छन्। संक्रमितको अवस्था गम्भीर हुने र सडक यातायात भरपर्दो नहुँदा आफन्तले हेलिकप्टर नै चार्टड गरेर संक्रमितलाई सुर्खेत, नेपालगन्ज र काठमाडौंसम्म लैजाने गरेका हुन्।

हेलिकप्टर चार्टड गर्दा १० लाख रुपैयाँसम्म तिर्नुपर्छ। यसले सर्वसाधारणले उपचार नै नगराउन नसक्ने अवस्था छ। अक्सिजन अभावकै कारण संक्रमितलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता छ। तर, ती जिल्लाहरूमा सञ्चालन गर्ने भनिएका अक्सिजन प्लान्ट भने हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। प्रदेश सरकारले दुर्गममा अक्सिजन प्लान्ट सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध गराएको छ। तर, दक्ष जनशक्तिको अभावमा मेसिन जडान गरिएका छै्रनन्। प्लान्ट सञ्चालनमा ल्याउन नसक्दा जिल्लामा अक्सिजन छैन। 

यसको मारमा संक्रमित परेका छन्। आफन्तले जिल्लाबाहिर नै लगेर उपचार गराउनुपर्ने अवस्था छ। हुम्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी संक्रमित भए। उनको स्वास्थ्य अवस्था जटिल भएपछि गत वैशाख ३१ गते थप उपचारका लागि जुम्ला रिफर गरियो। जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उनलाई हुम्लाबाट जुम्लासम्म हेलिकप्टरमा लैजान साढे ९ लाख रुपैयाँ खर्च भयो। उनलाई जुम्ला रिफर गर्नुको एक मात्र कारण हुम्लामा अक्सिजन नहुनु नै हो। त्यहाँ प्लान्ट सञ्चालनका लागि मेसिनहरू पुगिसकेका छन्। तर, जडानको कुनै टुंगो छैन। रुकुमपश्चिमको अवस्था पनि उस्तै छ। वैशाखयता मात्रै जिल्लाबाट रिफर गरिएका ६ जना संक्रमितलाई हेलिकप्टरबाट बाहिर लगियो। 

जिल्ला स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकलपर्सन ईश्वर रावलले अक्सिजन अभावकै कारण संक्रमितलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको बताए। गाडीबाट संक्रमितलाई अन्य जिल्लामा रिफर गर्दा बाटोमै मृत्यु हुन सक्ने खत्तराका कारण पनि हेलिकप्टर नै चार्टड गर्नु परेको हो। संक्रमितले अक्सिजन अभावमा हेलिकप्टर चार्टड गर्नुपर्ने बाध्यता भइरहँदा जिल्ला अस्पतालमा भने मेसिन पुगेको एक महिना भइसक्दा पनि प्लान्ट सञ्चालनमा आएको छैन। 

अक्सिजन प्लान्ट जडानको काम नहुँदा मेसिनहरू थन्किएका छन्। कर्णालीका १० जिल्लामध्ये सुर्खेत र जुम्लामा मात्रै अक्सिजन प्लान्ट सञ्चालनमा आएका छन्। बाँकी जिल्लामा प्लान्ट नभएकै कारण त्यहाँका संक्रमितलाई अक्सिजनकै लागि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ।  

पछिल्लो समय कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितको उद्धारका लागि हेलिकोप्टर चार्टर गर्ने निर्णय गरेको छ। तर, कार्यान्वयनमा आएको छैन। कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले भने जनशक्ति अभावका कारण दुर्गममा अक्सिजन प्लान्ट जडानमा समस्या भएको बताएको छ। ‘अधिकांश जिल्लामा प्लान्ट सञ्चालन गर्ने मेसिन पुगिसकेका छन्, तर जडानका लागि जनशक्ति र पाइपलाइनको अभाव छ,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्सन नोदनाराण चौधरीले भने, ‘सबै जिल्लामा एकै पटक प्लान्ट जडान गर्नुपर्दा समस्या आएको हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.