बन्ने भयो सुरुङ मार्ग

बन्ने भयो सुरुङ मार्ग

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने कुहिरेभिर (सिद्धबाबा)मा सुरुङमार्ग बन्ने प्रक्रिया सुरु भएको छ। सिद्धबाबा मन्दिरदेखि पाल्पाको तिनाउ गाउँपालिकाको दोभानसम्मको सडक अत्यधिक जोखिमपूर्ण रहेको छ। सोही क्षेत्रमा सुरुङ बनाउने प्रक्रिया सुरु भएको हो।

‘मृत्युमार्ग’का रूपमा चिनिएको यो खण्डमा पछिल्लो एक दशकमा करिब दुई सय जनाको ज्यान गएको छ। सयौं सवारीसाधन पुरिने र तिनाउ नदीमा खस्ने गरेका छन्। वर्षाैंदेखि चुनावी नारा बनिरहेको यो सडक सुधारका लागि संघीय सरकारले काम अघि बढाएको हो।

सडक विभागले आइतबार सुरुङ मार्ग निर्माणका लागि ४५ दिने बोलपत्र आह्वान गरेको छ। यो क्षेत्रमा सुरुङ निर्माणको अध्ययन गर्न २०७१ सालदेखि बजेट विनियोजन भए पनि नागरिकहरू सुरुङ बन्नेमा विश्वस्त थिएनन्। निर्माण कम्पनी छनोटकै प्रक्रिया सुरु भएपछि यस क्षेत्रका नागरिकहरू उत्साहित भएका छन्।

बुटवलबाट उत्तरतर्फ स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, कास्की, बागलुङ जाने यो छोटो राजमार्ग हो। यो राजमार्ग सुनौलीदेखि पोखरासम्म जोडिएको छ। यसलाई त्रिदेशीय मार्ग बनाउने योजनासमेत सरकारको छ। केरला–सुनौली सडक बनाउने अवधारणा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका छन्।

‘यो महत्त्वपूर्ण सडक हो, डबल लेनमा विस्तार गर्ने सरकारको योजना छ, अर्थमन्त्री पौडेल भन्छन्,– ‘त्यसका लागि सिद्धबाबा क्षेत्रलाई सुरक्षित बनाउनु पहिलो काम हो।’ गत वर्ष अर्थ मन्त्रालयले यो सुरुङ मार्गका लागि १० अर्ब १५ करोडको स्रोत सुनिश्चित गरेको थियो। 

सडक विभागका उपमहानिर्देशक विजय जैशीले पाँच वर्षभित्र सुरुङ निर्माणको काम सक्ने योजना रहेको बताए। सिद्धबाबाको जोखिम क्षेत्रलाई सुरक्षित बनाउन सुरुङ मार्गसहित अन्य विधिका योजना तय गरिएका छन्। ‘स्विस कम्पनीले यसको विस्तृत अध्ययन प्रतिवेदन बनाउन सहयोग गरेको छ, हामीले त्यसकै आधारमा काम अघि बढाउन थालेका छौं, उनले भने।

स्विस सरकारको सहयोगमा सिद्धबाबामा सुरुङ बनाउने योजनाको विस्तृत अध्ययन भएको थियो। सो अध्ययन अनुसार १ हजार १ सय २६ मिटरको सुरुङ मार्ग बन्ने उपमहानिर्देशक जैशीले जानकारी दिए। सुरुङ मार्गको प्रवेश बिन्दु र अन्तिम बिन्दुमा भने रकनेट र रकसेट विधिबाट पहिरो व्यवस्थापनको काम हुने उनले बताए।

अर्थमन्त्री पौडेलले आफू पहिलो पटक अर्थमन्त्री हुँदा बजेट नै विनियोजन गरेर सिद्धबाबामा सुरुङमार्ग बनाउने योजना अघि बढाएका थिए। तर त्यसयता मूर्तरूपमा काम हुन सकेको थिएन। अहिलेको कार्यकालमा उनले त्यसलाई मूर्तरूप दिन थालेका हुन्। सिद्धबाबाको पहिरो क्षेत्रमा सुरुङ बनाउन आइतबार मात्रै बोलपत्र आह्वान भएको हो। 

सिद्धबाबा मन्दिरको खोच बुटवलतर्फको प्रस्थानबिन्दु हो। त्यहाँबाट सुरु भएको सुरुङ रामापिथेकस पार्क छेउमा निस्किनेछ। डबल लेनको सुरुङ निर्माण गर्ने गरी टेन्डरमा उल्लेख गरिएको छ। यो सुरुङ निर्माण पाँच वर्षभित्र सक्ने योजनासहित निर्माण कम्पनीको खोजी भएको हो। दुई वर्षअघि सुरुङ मार्ग बनाउन मिल्ने नमिल्ने विषयमा चट्टानको परीक्षण भएको थियो। चट्टान परीक्षणमा सुरुङ बनाउन सकिने निष्कर्ष निकालिएको थियो।

हाल पहिरोले अत्यधिक जोखिम क्षेत्र रहेको क्षेत्रमा १ हजार १ सय २६ मिटरको सुरुङ बन्नेछ। अन्य स्थानमा ढुंगा नखस्ने प्रविधि अपनाइनेछ। करिब तीन किलोमिटर क्षेत्र सुरक्षित बनाउने काम सडक विभागले गर्न लागेको हो। 

सुरुङ निर्माणपछि पनि अहिलेको सडक कायमै हुनेछ। जसलाई आपत्कालीन अवस्थामा सवारीसाधन चलाउन प्रयोग गरिनेछ। जसको माथिबाट पहिरो झर्न नदिन रकसेट प्रविधि अपनाइने सडक विभागका उपमहानिर्देशक जैशीले जानकारी दिए। 

सडक विभागले ४५ दिने बोलपत्र आह्वान गरेको छ। अनुभवी कम्पनीले मात्रै सुरुङ निर्माणका लागि टेन्डर दाखिला गर्ने पाउनेछन्। पछिल्लो १० वर्षमा तीन किलोमिटरसम्म सुरुङ खनेको अनुभव भएका कम्पनीहरूले बोलपत्र दाखिला गर्न सक्ने मापदण्ड बनाइएको छ। स्वदेशमा सुरुङ निर्माण कम्पनी नभएकाले विदेशी कम्पनीले यो काम गर्नेछन्।

सिद्धार्थ राजमार्गको यो खण्ड अत्यन्त जोखिमपूर्ण छ। हरेक वर्षायाममा यो क्षेत्रमा जाने पहिरोले यातायातका साधन दुर्घटनामा पर्ने गरेका छन्। यो सडककै कारण बुटवलबाट उत्तरतर्फ जोडिने जिल्लाको यात्रा जोखिमपूर्ण हुने गरेको छ। पाल्पा दोभानका शिक्षक विष्णुप्रसाद पाण्डेले सुरुङमार्ग बन्ने खबरले स्थानीय खुसी भएको बताए। 

‘धेरै समय कुरामात्रै चल्यो, अब काम हुने संकेत देखिएको छ, छिट्टै काम थाल्नुपर्छ, उनले भने। पाल्पाका दक्षिणी पालिकाका स्थानीयका लागि सिद्धबाबा निकै तनाव बनेको छ। दैनिक कृषि उपज लिएर बुटवल झर्नेहरू सुरुङ मार्ग बन्ने प्रक्रिया सुरु भएपछि उत्साहित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.