३६ प्रतिशतको विकृति हटाऔं
भनिन्छ, धनको मुख कालो हुन्छ। त्यसैले कालो धन कमाउनेहरूले सफेद व्यवहार गर्दैनन्। दया, माया, नैतिकता, विवेकलाई बन्धक बनाएर उनीहरू धनको भर्याङ चढिरहेका हुन्छन्। कसैले देशलाई ठगेका हुन्छन्, कसैले दुईछाक टार्न नसक्नेहरूलाई र कसैले मानव जगत्लाई नै शोषण गरेर कालो धनको पछाडि तँछाडमँछाड गरिरहेका हुन्छन्। समाजमा अलिक कमाएकाहरूले ऋणले छाक टार्नेहरूलाई निर्मम शोषण गरिरहेको यस्तै दृश्य आम समुदायमा छ।
सबै साहुमहाजनले निमुखा गरिबलाई लुटिरहेका हुन्छन् भन्न खोजिएको पटक्कै होइन। मनकारी साहुमहाजन पनि देशमा प्रशस्त छन्। उनीहरू मुलुकका प्रतिष्ठित घरानाका रूपमा स्थापित छन्। लुट्नु त परका कुरा आम्दानीको ठुलै हिस्सा सामाजिक काममा खर्च गरेर समाज र देशलाई ठुलो गुन पनि लगाइरहेका छन्। तर सबैमा यस्तो महानता हँुदैन, जो धनी हुन अरूलाई लुट्नुपर्छ भन्ने अन्धकारयुक्त संस्कारमा छन्, जो दया, माया, इज्जत, प्रतिष्ठा सम्झेर उँभो लागिन्नँ भन्ने कुत्सित भावनाले ग्रसित छन्। साहित्यका कथामा झैं दिनदहाडै गरिब, निमुखालाई निर्मम लुटेर मालामाल बनिरहेकाहरूको उदाहरण अनगिन्ति छ। अहिले विशेषगरी गोरखा सदरमुकामको यस्तै दृश्य पर्दाअगाडि आएको छ, जहाँका दलित समुदायलाई चर्को ब्याजमा ऋण दिएर उनीहरूको जायजेथा हडप्ने प्रवृत्ति देखिएको छ।
गोरखा सदरमुकामको विशेषगरी काँठमा बस्ने दलित समुदायहरूलाई मुख्यबजारमा बस्ने साहुमहाजनहरूले चर्को ब्याजमा पैसा सापट दिने गरेका छन्। ३६ प्रतिशत ब्याजदरमा दुईचार लाख रुपैयाँ सापटी दिएर उनीहरूको बीसौं, तीसौं लाख पर्ने घरजग्गाको लालपूर्जा हडपिरहेको पाइएको छ। ऋण दिने बेला मौखिक रूपमा दृष्टिबन्धक भनेर लालपूर्जा राख्ने तर लेखापढी व्यवसायीसँग साँठगाँठ गरी राजीनामा पास गरेर घरजग्गा आफ्नो बनाएका घटना पनि छरपस्ट छन्। सहमति गर्दा ३६ प्रतिशत भन्ने तर चुक्ता गर्ने बेला ब्याजको स्याज गर्दै ६० प्रतिशतसम्म लागू गर्ने अनि तिर्न नसक्ने बनाएर लालपूर्जा साहुलाई नै छाड्न बाध्य पार्ने घटना पनि छन्।
साहुलाई विश्वास दिलाउन ऋण लिन चाहने गरिब र ऋण दिने साहुको बीचमा दलाल पैदा हुने, ऋण पाएबापत निश्चित प्रतिशत दलालले खाने गरेको घटना पनि छन्। चर्को ब्याजमा ऋण दिने, चुक्ता गर्न जाँदा अहिल्यै किन चुक्ता गर्ने भन्दै ललाईफकाई लामो समय बनाएर नामी घरबारी छोड्न बाध्य पार्ने घटनाहरू पनि छ्यापछ्याप्ति छन्। गहना धितो राखेर सुनचाँदी पसलेहरूले चर्को ब्याजमा ऋण दिने तर केही वर्षभित्रै निमुखा विपन्न समुदायको सुनका गहना लिलाम गरेका घटना पनि छिपेका छैनन्। साधारणतया दिनहुँ हेर्दा सुन पसलमा गहना बनाएर बेचिरहेको जस्तो देखिन्छ, तर गरिब आमा, दिदीबहिनीहरूको फुली, मुन्द्री बन्धक राखेर ऋण दिने र केही बर्षमा हडपेर मालामाल भएकाहरू पनि छन्।
मिहिन गरेर खोज्ने हो भने सडकछेउको सटरमा पसल राखेर भित्र कालोधन्दा गरेका यस्ता उदाहरण बग्रेल्ती छन्। नखोजेर वा खोज्ने निकाय नभएर मात्र हो, यदि रुचिका साथ खोज्ने हो भने जनसम्पर्कका लागि सटरमा काउन्टर राख्ने तर भित्र अर्कै कारोबार गर्नेहरू भेटिन्छन्। यसबारे जिल्लास्थित प्रहरी कार्यालय जानकार हुन्छ। प्रहरीका इन्टेलिजेन्सहरू यस्ता कारोबार र कारोबारीका बारेमा राम्ररी जानकार हुन्छन् तर नीतिगत खोजी नभएकैले अहिलेसम्म त्यस्ता कालोधन्दा गर्नेहरू कारबाहीको दायरामा आएका छैनन्। निमुखा गरिबलाई टाट पल्टाउने गरी मिटर ब्याजमा ऋण लगानी गरी घरबारविहीन बनाउने गोरखा बजारमा जुन दृश्य देखिन्छ, यो यथार्थता गोरखाको मात्र होइन, नेपालका सबैजसो गाउँ र सहरका हुन्। गोरखाको दृश्य प्रतिनिधि मात्र हो।
७७ वटै जिल्लाभित्र हुने गरेका यस्ता गतिविधिको नियमन स्थानीय प्रशासनले गर्ने हो। आर्थिक कारोबारसम्बन्धी अनियमितताप्रति नेपाल राष्ट्र बैंकको ध्यान आकर्षण हुनुपर्छ। सयौंवर्ष पहिलेको समाजमा झैं हुने गरेका यस्ता मिटर ब्याजी गतिविधि निर्मूल पार्न सामाजिक अभियन्ताहरूको पनि भूमिका हुन्छ। शोषणरहित सुन्दर समाज निर्माणमा नागरिक समाजको पनि महŒवपूर्ण योगदान हुन्छ। यदि यसो हुन सक्यो भने मात्र संयुक्त राष्ट्रसंघका आवद्ध नेपालसहित १९३ राष्ट्रले सन् २०३० सम्ममा हासिल गर्न लागेको दिगो विकास लक्ष्य सफल हुनेछ। त्यति मात्र होइन, नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाली’ को महत्त्वाकांक्षी योजना पनि सम्भव हुनेछ।