देशकै शान गौशालाका गाई

देशकै शान गौशालाका गाई

रुमाल आकारको चटक मिलेको दस बिघाको कम्पाउन्ड। भित्र पस्दा निलोजस्ता पाताले छाएका आकर्षक घरहरू। घरनजिकै हरिया घाँसपातले झनै आकर्षक छ। दैलोमा फूलहरू फुलका छन्। फूलको मगमग आउने बासनाले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ। दैलोभित्र पस्दा गाईका बथान छन्। गाई बाँ बाँ गरिरहेका छन्। गाईको बथानमा बाछाबाछीहरू पनि छन्। गाईको स्याहारसुसारमा दुई दर्जन मानिस व्यस्त छन्। कोही गोबर सोहोर्दै छन् त कोही गाईलाई पोसिलो आहार खुवाउँदै छन् अनि कोही गाई दुहुँदै छन्।

महोत्तरीको गौशाला–३ नवराजपुरस्थित निगौल गाई गौशालाको गोठमा पुग्दा कुनै निजी गाई फर्मजस्तो देखिन्छ तर त्यसो होइन। गाईको बथानलाई संरक्षण गर्न नेपाल सरकारको मातहतमा रहेको राष्ट्रिय सहकारी बोर्डले गाईपालनको काम गरिरहेको छ। जहाँ १ सय ५८ वटा उन्नत जातका गाई, बाछा, बाछी, साँढे पालिएका छन्। गाईले दैनिक १ सय ५० लिटर दुध दिन्छन्। स्थानीयहरूले गोठबाटै प्रतिलिटर ६० रुपैयाँमा दुध किनेर लैजान्छन्। गौशाला–५ मा पुरानो अर्को गाई गोठ पनि छ। ९५ वर्ष पुरानो गोठमा १ सय ५० बढी गाई, बाछा, बाछी रैथाने जातका छन्।

निगौल गाई गौशालाले वर्षमा एक करोड २७ लाखभन्दा बढी आम्दानी गर्छ। कसैले गाईपालन गर्न नसके यो गौशालाले त्यस्ता गाई जिम्मा लिएर संरक्षण गरिदिन्छ।

रैथाने गाईलाई संरक्षण गर्ने र उन्नत जातको गाईलाई विकास गर्ने उद्देश्यले सरकारकै तर्फबाट गाईपालनको काम भइरहेको हो। निगौल गाई गौशालालाई गाईका प्रजनन् केन्द्रका रूपमा विकास गर्ने राष्ट्रिय सहकारी बोर्डको महत्त्वाकांक्षी योजना छ। गौैशालालाई नमूना सहकारी गाउँ निर्माण गर्न सरकारकै तर्फबाट काम भइरहेको छ। गौशाला भौतिक रूपमा सम्पन्न बन्दै गरेको छ। संरचना निर्माणका लागि सरकारकै तर्फबाट करोडौंको लगानी भएको छ। गाईका लागि पौष्टिक आहारको खेती गर्न, चरण क्षेत्र, गाई गोठ, आँप बगैंचा, पोखरी गरी १ सय ५७ बिघा जग्गा छ। जुन अर्बौंको सम्पत्ति हो।

गाईपालनबाटै गाउँमा रोजगारी सिर्जना गर्ने, गाईको गोबर, गहुँतबाट जैविक विषादी उत्पादन गर्ने, देशवासीलाई पौष्टिक तत्त्वका लागि शुद्ध गाईको दुध वितरण गर्ने योजनाका साथ काम भइरहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख तथा पशु चिकित्सक दिपेन्द्र पण्डित बताउँछन्। ‘गाईको प्रजनन् केन्द्रको रूपमा विकास गर्ने अबको योजना छ’, उनी भन्छन्। गाई बहुउपयोगी घरपालुवा जनावर हो। गाई नेपालको राष्ट्रिय जनावर पनि हो। गाईलाई हिन्दू धर्मावलम्बीले पूजा पनि गर्छन्। गाईलाई लक्ष्मीको रूपमा मान्छन् र तिहारमा धुमधामले पूजा गर्छन्। गाईले साँझ बिहान दिने दुध मानवका लागि एक प्रकारको प्रसाद नै हो। गाईको दुध सेवनले हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ। दुधले हाम्रो स्वास्थ्यमा चौतर्फी फाइदा पुर्‍याउँछ, बच्चाको मष्तिष्कलाई छिट्टो विकास गर्छ।

गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ। हिन्दू मान्यताअनुसार गोमुत्रले अपवित्रता नाश गर्छ। स्थानीय किसान बिल्टु महतोका अनुसार, कुनै पनि धार्मिक कार्यक्रम गर्दा गौमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ। गाईको गहुँत पवित्र मानिन्छ र हिन्दू धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्त्व छ। गाईको गहुँत सेवनले रोगहरू पनि निको हुन्छ। गाईलाई दुधका साथै गुइँठा र कम्पोस्ट मलका लागि पाल्ने गरिन्छ। यसका अलावा गाईको छालासमेत उपयोगी हुन्छ। यो जनावरको भाले पशुलाई साँढे वा गोरु भनिन्छ। गोरुलाई गाडाहरू तान्ने र खेतबारीमा जोत्ने काममा प्रयोग गरिन्छ। पछिल्लो समय ट्रयाक्टर भित्रिएसँगै गोरुले खेत जोत्ने चलन हराएको छ। गोरु पाल्ने चलन पनि हराउँदै गएको छ। पहिलो गोरुलाई किसानहरूले नगद सम्पत्तिको रूपमा गन्थे। अहिले क्रमिक रूपमा किसानहरूको गोठमा गाईको संख्या घट्दै गएको छ।

१९८३ सालमा भारत विहार प्रान्तको दरभंगा महाराजाबाट १५ सय दुधालु गाई र  सय बिघा जग्गा प्रदान गरी महोत्तरीको गौशालामा ‘निगौल गाई गौशाला’ को सुरुआत गरिएको थियो। गाई पाल्ने ठाउँको नामले अहिलेको गौशाला ठाउँ नाम रहन गएको हो। तत्कालीन समयमा नेपाल हिन्दू राज्य थियो। धार्मिक दृष्टिकोणबाट बुढो, बिरामी गाई, साढेहरू लगायत गौ वंशको संरक्षण गर्नुपर्छ भन्ने मान्यताले गौशालाको स्थापना गरिएको थियो।

गौशालाको व्यवस्थापन दरभंगा महाराजको तर्फबाट ब्रहमदेव ठाकुरमार्फत गरिएको थियो। नेपाललाई हस्तान्तरण गरेपछि यसको व्यवस्थापन तत्कालीन बडाहाकिमलाई दिइयो। पछि अञ्चलाधीश हुँदै २०४७ सालपछि महोत्तरीका सिडिओको मातहतमा आयो। नेपालको सबैभन्दा पुरानो गौशालाको रूपमा परिचित यो गौशाला बर्सौदेखि अलपत्र तथा उपयोगविहीन अवस्थामा थियो। दुई सय बिघा जग्गा घट्दै एक सय ५७ बिघामा सीमित भएको छ। गौ माताको जग्गा व्यक्तिले कब्जा गरेका हुन्।

१९ जेठ २०६७ मा मन्त्रिपरिषद्को बैठकले ऐतिहासिक यो गौशालाको सञ्चालन, व्यवस्थापन तथा विकासको जिम्मा राष्ट्रिय सहकारी विकास बोर्डमार्फत गर्ने निर्णय ग¥यो। त्यसपछि निगौल गाई गौशालाको साख जोगाउँदै सरकारले आधुनिक ढंगले कामको थालनी गरेको थियो। जुन अहिले देशकै नमुना बन्दै गएको छ। स्थानीय स्तरमा युवाहरूलाई रोजगारी प्रदान गरेको छ। गाउँलेहरूलाई सस्तो दरमा गाईको शुद्ध दुध उपलब्ध गराएको छ।

महोत्तरीको भरतपुर–१० का ३५ वर्षीय सत्यनारायण महतो गाई गोठमा दिनको १२ घण्टा खट्छन्। उनले मासिक १५ हजार तलब थाप्छन्। बिहान ५ बजेदेख साँझ ६ बजेसम्म उनी गाईको स्याहारसुसारमा व्यस्त रहछन्। ‘गाईलाई स्याहार गर्दा आत्मालाई शान्ति मिल्छ। हामी हिन्दूले गाईलाई माताको रूप लिन्छौं’, उनी भन्छन्, ‘गाईरूपी लक्ष्मीको सेवा गर्ने अवसर सबैलाई प्राप्त भएको छैन।’ सत्यनारायण कोरोना महामारी भन्दा पहिले चार वर्षदेखि वैदेशिक रोजगारीमा थिए। महामारीले बिरानो भूमिमा बस्न नसकेर उनी आफ्नै भूमिमा फर्केर आएका हुन्। ‘बेरोजगार भएको थिएँ, अहिले गाउँमै रोजगारी पाएको छु, खुसी लागेको छ।’ सत्यनारायण जस्ता २१ जना मजदुरले रोजगारी पाएका छन्।

विदेशभन्दा आफ्नै घरछेउमा काम पाएकाले उनीहरू खुसी छन्। गाईको सेवा पनि भयो छोराछोरी पाल्न काम गरेवापत ज्याला पनि पाउने भए। ‘५ वर्ष विदेशमा काम गरें, अब यहीँ काम गरेर जीवन चलाउँछु’, गौशाला नगरपालिका– १०, भरतपुरका सत्यनारायण महतो बताउँछन्। गाउँमा कसैको गाईवस्तु बिरामी भयो भने त्यसको उपचार पनि गौशालाका प्राविधिकहरूले गरिदिने गरेको किसानहरू बताउँछन्। ‘यदि कसैले गाईपालन गर्न नसके निगौल गाई गौशालाले त्यो गाई जिम्मा लिएर संरक्षण गरिदिन्छ’, स्थानीय किसान सिताराम महतो भन्छन्।

निगौल गाई गौशालाले वर्षमा एक करोड २७ लाखभन्दा बढी आम्दानी गर्छ। सरकारले वर्षेनी १० लाख रकम अनुदान पनि पठाउँछ। समयमा अनुदान रकम नआउँदा गाईलाई पौष्टिक आहार जुटाउन समस्या हुने गरेको कर्मचारी सुरेश सिंहले बताए। ‘गौशाला राम्रोसँग व्यवस्थित भयो भने तुरुन्तै ५० जना बढीले रोजगारी प्राप्त गर्नेछन्।’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.