कोरोनाबाट मृत्यु हुने परिवारलाई महाबु गाउँपालिकाले दिनथाल्यो आर्थिक सहायता
दैलेखः दैलेखको महाबु गाउँपालिकाले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मृतकका परिवारलाई दाहसंस्कार र काजकिरिया खर्च स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए । कोरोना संक्रमणबाट ज्यान गुमाएका गाउँपालिकाबासीलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराइने अध्यक्ष शाहीले बताए ।
गाउँपालिकाले बुधवार मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । महाबु गाउँपालिका–२ बडाखोलाका इन्द्रबहादुर सुनारको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको हो ।
सुनार महाबु गाउँकार्यपालिका सदस्य समेत हुन् । यस्तै महाबु गाउँपालिका–१ खरिगैराकी जसमा शाहीको परिवारलाई समेत ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।
गाउँपालिकामा दोस्रो चरणको कोरोना भाइरसको संक्रमणबाट ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लक्षित गर्दै गाउँपालिकाले अक्सिजन सहितको २५ बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको अध्यक्ष शाहीले बताए ।
‘हामीले गाउँपालिकाबाट सबै वडामा स्वास्थ्यकर्मी पठाएर नागरिकहरुको निशुल्क कोरोना परीक्षण गरेका छौँ,’ अध्यक्ष शाहीले भने ‘कोरोना संक्रमितहरुलाई निशुल्क उपचार भइरहेको छ ।’ अध्यक्ष शाहीका अनुसार कोरोना संक्रमितहरुलाई लक्षित गर्दै एम्बुलेन्स समेत तयारी अवस्थामा राखिएको छ ।