कौशिकीलाई प्रेम प्रस्ताव
‘सुन्दरी ! तिमी को हौ ? कहाँबाट आयौ ? किन आयौ ? किन मेरा यतिका वीरहरू मरायौ ? मेरै भाइलाई समेत बाँकी राखिनौ। हेर्दा त्यति क्रुर जस्ती देख्दिनौ। तिमी जस्ती सुन्दरीबाट त्यस्तो कर्म नहुनुपर्ने हो, कसरी भयो विश्वासै गर्न सकिहेको छैन। रिसाएर आएको थिएँ, गएर अहिले नै समाप्त पार्छु भन्ने सोचेको थिएँ तर तिम्रो कोमलांग देखेर आफैं मर्माहत हुन पुगें। हेर ! एकबारको जीवन किन खेर फाल्छ्यौ बेकारमा। तिमी जस्ती सुन्दरीको यो स्थान पनि होइन र त्यस्तो काम पनि होइन। बरु हामी जस्ता त्रिलोक विजयी राजामहाराजाको दरवारमा बसेर ऐसआराम गर्ने हो। आऊ मेरो दिल स्वागतमा आतुर छ। पट्रानी बनाएर राख्नेछु।’ गौरीशंकर हिमालयको फेदीमा पारदर्शी कपडामा सजिएकी कौशिकीलाई देखेर मोहित बनेको शुम्भ दानवले भन्यो।
‘महाशय ! आभारी छु प्रशंसाका लागि। यस्ती आभागिनीको प्रशंसा गर्नुभयो, यो तपाईँको महानता हो। न घर छ न द्वार, न कहाँबाट आएको हुँ भन्ने थाहा छ। न कहाँ पुग्ने हो भन्ने नै थाहा छ। जीवनमा के कति हण्डर खानुपर्ने हो, के कस्तो विपत्तिको सामना गर्नुपर्ने हो त्यो पनि थाहा छैन। यही नदी जस्तै (नजिकै बगिरहेको कौशिकी नदीलाई देखाउँदै) नदी जस्तै निरन्तर बग्दैछु, बग्दाबग्दै यहाँसम्म आइपुगेको छु। न बाबुआमाको ठेगान, न कुल घरानको ठेगान। तैपनि यति ठूलो प्रशंसा पाइरहेकी छु। मेरा लागि यो भन्दा ठूलो कुरा के हुन सक्छ र ? विवाहको कुरा गर्नुभयो, पट्रानी बनाउँछु भन्नुभयो। त्यो त झन् सौभाग्यकै कुरा हो तर के गर्ने बाल्यकालमा गल्तीले युद्ध गरेर जसले जित्न सक्छ उसैको साथमा विवाह गर्नेछु भन्ने प्रतीज्ञा गरिहालें। अहिले त्यसैको पश्चात्ताप गर्दैछु। अब त विवाह नै हुँदैन कि जस्तो लाग्न थालेको छ।’ केही लजाए जस्तो गर्दै कौशिकीले शुम्भलाई लठ्याइन्।
स्वर्ग, मत्र्य, पाताल तीनै लोक मेरा अधीनमा छन् यतिबेला। जब त्रिलोक विजयी शुम्भ आफैं झुकेर प्रेमको प्रस्ताव गर्दैछ भने किन चिन्ता गछ्र्यौ ? बुझ अब तिम्रा दुःखका दिन गए।
‘होइन सुन्दरी ! त्यसो नभन। तिमी जस्ती यौवनकी रानी, सौन्दर्यकी खानीलाई त्यति बढी निराश हुन सुहाउँदैन। सौन्दर्यका पारखी अझै सकिएका छैनन् संसारमा। स्वर्गको समेत राजा मै हुँ, देवताहरू मेरो डरले स्वर्ग छाडेर भागेका उहिल्यै हुन्। स्वर्ग, मत्र्य, पाताल तीनै लोक मेरा अधीनमा छन् यतिबेला। जब त्रिलोक विजयी शुम्भ आफैं झुकेर प्रेमको प्रस्ताव गर्दैछ भने किन चिन्ता गछ्र्यौ ? बुझ अब तिम्रा दुःखका दिन गए। माफी चाहन्छु, पहिले नै तिम्रो आशय बुझ्न सकिनँ। मेरा अनुचरका साथमा युद्धको प्रस्ताव पठाएकी रहिछ्यौ। मै उस्तो। साँच्चिकै युद्ध नै होला भन्ने ठानेर सेना पठाएँ। बेकारमा हजारौं वीरहरूको ज्यान गयो। त्योभन्दा पनि बढी तिमी जस्ती कोमालांगीमाथि अन्याय गरें। बल्ल अहिले आएर बुझ्दैछु तिमीले भनेको युद्ध त रतियुद्ध पो रहेछ, जहाँ भौतिक हतियार नभई वासनाको हतियार आवश्यक हुन्छ। जे भयो भयो, विगतलाई नमिठो सपना ठानेर बिर्सिदेऊ। भन बरु कहाँ बसेर युद्ध गरौं। जहाँ भन्छ्यौ त्यहीँ, जतिबेला भन्छ्यौ त्यतिबेलै र जस्तो आसनमा भन्छ्यौ त्यस्तै आसनमा युद्ध गरी तिमीलाई तृप्त पार्नेछु।’ शुम्भले बढप्पन देखायो।
‘भैगो महाराज ! यस्ती अभागिनीको साथमा लागेर किन नदुःखेको कपालमा डोरी लगाउन चाहनुहुन्छ। जस्ताको सङ्गत गर्यो त्यस्तै भइन्छ। सुनारको सङ्गतमा पर्दा सुनले समेत तातिनुपर्छ, रापिनुपर्छ, पोलिनुपर्छ, ठोकिनुपर्छ, पिटिनुपर्छ। आगोको संगतले ढुङ्लोलाई पनि आगो नै बनाउँछ। पानीको संगतले आगोलाई पनि पानी जस्तै (चिसो) बनाउँछ। बेकारमा यस्ती अभागिनीलाई दया गरेर किन आफ्नो भाग्य घटाउनु हुन्छ। भनिहालें नि नदी जस्तै बग्दै आएको छु। कहाँ पुग्छु थाहा छैन। के हुन्छ त्यो पनि थाहा छैन। के कति हण्डर खानुपर्ने हो त्यो पनि भन्न सक्दिनँ तर पनि केही छैन। भाग्यको कुरा हो, जस्तो होला त्यस्तै टर्ला। भाग्यमै नभएको कुरा खोजेर कहाँ पाइन्छ र ? जहाँ छु त्यहीँ ठीक छु। यहीँ रहन दिन आग्रह गर्छु।’ कौशिकीले कटाक्ष गरिन्।
‘होइन मानिनी ! भाग्य होइन, उद्यमको कुरा गर्नु पर्छ। भाग्य भनेको आफैं हुने कुरा होइन। बनाउने कुरा हो, बनाउन सकिने कुरा हो। नदीका कुरा गर्यौ, ठीकै हो जीवन नदी जस्तै हो। दुवै निरन्तर बग्छन् र बग्दाबग्दै गन्तव्यमा पुग्छन्। नदीको उद्गम सागर हो। सागरकै जल उछिट्टिएर नदी बनेको हो। त्यसैले ऊ निरन्तर सागरतर्फ लम्किरहेको हुन्छ र एक दिन भेट्टाउँछ पनि। हो, बाटो बांगो, टिंगो हुन्छ। हिँड्दाहिँड्दै यदाकदा नसोचेको स्थानमा पुग्नुपर्ने हुन सक्छ। नसोचेको चीजको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। तथापि सत्य यही हो उसले सागर भेटेकै हुन्छ। तिमी पनि त्यही सागरको बुँद जस्तै हौ। जो उछिट्टिएर कतै पुगेकी थियौ। सागरतर्फ लम्कने क्रममा केही दुःख पनि पायौ होला तर अब गन्तव्य भेटिसकेकी छ्यौ।’ शुम्भले अनुनय गर्यो।
‘छैन महाराज ! छैन। मेरो गन्तव्य निकै टाढा छ, कति टाढा छ आफैंलाई थाहा छैन। स्वेच्छाचारिणी स्त्री हुँ। यही बानी परिसकेको छ। वनकी चरी वनमै रमाउँछे। घरबार र दरबारको सुखसयलको काम छैन उसलाई। जति नै मिठो खाना दिनुुस् मौका मिल्नासाथ कुनै सड्को भागेर वनमा पुग्छ पत्तै हुँदैन। बुझ्नुस् मेरो पनि अवस्था त्यस्तै हो। विवाहपछि दायित्व थपिन्छन्, बन्धनमा परिन्छ। बालबच्चा होलान् स्याहार सुसार गर्नैपर्ला, जुन मबाट हुनै सक्दैन। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु राम्रो होइन। चिप्लो कुरा गरेर दुःख दिनुभन्दा पहिले नै खस्रो कुरा गरेर पन्छिनु बेस हुन्छ।’ कौशिकीले दुनो सोझ्याइन्।
‘भयो सुन्दरी ! भयो। तिम्रो रूप र यौवनले पहिले नै घाइते भइसकेको छु, यस्तो कुरा गरेर थाप घाइते नबनाऊ। विवाह गर्ने, घरजम गर्ने, बच्चाबच्ची जन्माउने सोख हरेक स्त्री जातिमा हुन्छ। सन्तानबिनाको जीवन कुनै पनि स्त्री जातिले पूर्ण मान्दैनन्। तिमी मात्र अपवादमा कसरी पर्न सक्छ्यौ होला र ? घरद्वार, बालबालिका बन्धन होइनन् भन्नेमा पनि भलिभाँती परिचित छ्यौ सायद। लाग्छ मन चोर्नकै लागि यी सब भनिरहेकी छ्यौ। होइन तिम्रो चाहना नै यस्तै हो भने पनि केही छैन, कर गर्दिनँ। तिमीलाई दरबार बन्धन बन्न दिने छैन। सन्तान पनि तिम्रो कुरा हो। आफू खुसी गर्न सक्छ्र्यौ।’ शुम्भले थप फकाउन खोज्यो।
‘महाराज ! तपाईँ पुरुष जाति हुनुहुन्छ, पुरुष जातिको भाषा बोल्दै हुनुहुन्छ। तपाईँ होइन तपाईँभित्रको कामुकता बोलेको हो यो। वासनामा कैद भएको बेला पुरुष जातिका निम्ति असम्भव भन्ने नै हुँदैन। आकाशकै तारा खसाउँला जस्तो गरिरहेका हुन्छन् तर एकैछिनपछि त्यस्ता जोस र फुर्ति कता हराउँछन् कता। कि नसुने जस्तो गर्छन् कि कुनातिरको निद निद रुचाउँछन्। तथापि पुरुष जातिको स्वभाव ठानेर नराम्रो मानेको छैन, त्यता ध्यान दिएको छैन तर के बुझ्नोस् भने मैले चाहेको वासनाको युद्ध होइन। भौतिक हातहतियारले लडिने युद्ध हो। सक्नुहुन्छ युद्धमा जितेर भोग गर्नुस्। होइन भने बाटो खुला छ, जताबाट आएको हो उतै जान सक्नुहुन्छ।’ कौशिकीले धम्कीको भाषा बोलिन्।
कौशिकीको कुरा सुनेर शुम्भ नराम्रोसित झस्क्यो र सिंहनाद गर्दै जाइलाग्यो। कौशिकी (कोशी) नदीको किनारमा एकछिन उनीहरू बीच घमासान युद्ध भयो। अन्त्यमा कौशिकीको हातबाट मृत्युवरण गरी शुम्भ सदाका लागि संसारबाट बिदा भयो। काम समाप्त गरी कौशिकी पनि आफ्नो धामतिर लागिन्। देवताहरू उनको प्रशंसा गर्दै आआफ्ना लोकमा गएर सुखपूर्वक रहन लागे।