स्वास्थ्यकर्मीलाई सुरक्षा
भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष आइसोलेसन वार्डमै स्वास्थ्यकर्मीमाथि आक्रमण भयो। स्वास्थ्यकर्मीको लापरबाहीले संक्रमितको मृत्यु भएको भन्दै आफन्त अस्पतालका भौतिक पूर्वाधार तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि खनिए। बिरामीको उपचारमा खटिएका डाक्टर र नर्सले ज्यान जोगाउन दुई तले भवनको शौचालयबाट हाम फाल्नुपर्यो। संक्रमितको निधन भएपछि पटक पटक आक्रमण, धम्की र दबाब भएको भन्दै बाँकेका स्वास्थ्यकर्मी शुक्रबार दिनभर हातमा कालोपट्टि बाँधेर आन्दोेलनमा उत्रिए।
स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना बाँकेमा मात्रै भएको होइन। देशका अन्य अस्पतालका बिरामीले पनि यस्तै अवस्था भोगेका छन्। प्रदेश १ को सदरमुकाम विराटनगरमै पनि अस्पतालमा यही अवस्था भयो। तर पनि चिकित्सक र नर्सलगायत स्वास्थ्यकर्मी बिरामीका लागि काम गरिरहेकै छन्। कतिले अन्याय सहन नसकेर सडकमै आउनु परेको छ भने कोही पीडा दबाएर बसिरहेका छन्। कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामी होम आइसोलेसनमै बसेका छन्। अलि बढी लक्षणसहितका संक्रमण भएकाहरू जिल्ला र स्थानीय तहकै स्वास्थ्य संस्थाका आइसोलेसनमा उपचार गरिरहेका छन्। नियमित औषधि सेवन गरेर निको भएका छन्। त्यस्ता आइसोलेसनबाट गम्भीर समस्या भएका बिरामीलाई अस्पतालमा रिफर गरिन्छ।
अक्सिजनको लेभल घटेर संक्रमणबाट जटिल अवस्थामा पुगेका बिरामी मात्र अस्पतालको आइसोलेसनमा पुग्छन्। कोरोनाको लक्षण अनुसारको रोगको निदान खोज्दै जाने हो। अक्सिजन, प्लाज्मा, रेम्डिसिभिर वा अरू जे जे औषधि चाहिन्छ, त्यो सबै प्रयास अस्पताल र स्वास्थ्यकर्मीले गरिरहेका छन्। समयमै अस्पताल पुगेर उपचार गर्ने ठुलो संख्यामा संक्रमित निको भएर पनि घर फर्केका छन्।
निधन हुने अधिकांश गम्भीर स्वास्थ्य अवस्थामा अस्पताल पुगेका देखिन्छन्। यी व्यक्तिलाई स्वास्थ्यकर्मीले जोगाउन हरप्रयास गरेकै छन्। गर्नु उनीहरूको धर्म नै हो। बिरामीको संख्या धेरै हुनु, बिरामी अनुपातमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण नहुनुले पक्कै पनि संक्रमितले समयमै सेवा नपाएकै हुन्। आइसोलेसनमा पर्याप्त स्वास्थ्यकर्मी नभएका कारण पनि बिरामीका धेरै जना कुरुवा बसेको देखिन्छ। जो पायो त्यही व्यक्तिलाई निर्वाध रूपमा आइसोलेसनसम्म जान दिने अस्पतालको फितलो सुरक्षा व्यवस्था पनि आफन्त र कुरुवाको भीड लाग्ने कारक हो।
गम्भीर समस्यामा भएका बिरामीलाई देखेर आफन्त डराउने, आत्तिने र कसरी हुन्छजीवन बचाउनु पर्छ भनेर लाग्नु मानवीय स्वभाव नै हो। यसरी भीड धेरै लाग्दा धेरै थरीका धेरै थरी कुरा हुँदा पनि स्वास्थ्यकर्मीमाथि अनावश्यक शंका गर्ने हुनसक्छ। त्यसका लागि अस्पतालले अनिवार्य रूपमा कार्ड प्रणाली विकास गर्ने र एक बिरामी एक कुरुवाको व्यवस्था गर्न सकेको भए सबैको हित हुने देखिन्छ। एउटै बिरामीका तीनभन्दा बढी कुरुवा हुँदैन थिए। यो पक्कै पनि अस्पतालको व्यवस्थापकीय कमजोरी नै हो। यसमा सुधार गर्नुपर्छ।
संक्रमितको उपचारका लागि अस्पतालका भौतिक पूर्वाधार विकास, अक्सिजन प्लान्ट, पर्याप्त स्वास्थ्य सामग्री भएर मात्र पुग्दैन। परिवारकै सदस्य नजिक जान डराउने संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई काम गर्ने राम्रो वातावरण पनि हुनुपर्छ। संकटको घडीमा गम्भीर स्वास्थ्य समस्या भोगिरहेका संक्रमितका लागि स्वास्थ्यकर्मीले साक्षात् भगवान्कै रूपमा काम गर्नुपर्छ र गरिरहेका छन् पनि। स्वास्थ्यकर्मीलाई जति खुसी पार्न सक्यो, उति नै संक्रमितको बढी स्याहार, सुसार र औषधि उपचार राम्रो हुन्छ। ज्यानको जोखिम मोलेर उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोना र स्वास्थ्य बिमा, अतिरिक्त भत्ता र सुविधा दिन राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन।
कोरोनाविरुद्धको खोप नलगाएका भन्दा लगाउने व्यक्तिलाई तुलनात्मक रूपमा संक्रमणको असर कम परेको छ। दीर्घरोग लागेका र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका जुनसुकै उमेर समूहका व्यक्तिहरु संक्रमणको शिकार भएर ज्यान गुमाइरहेका छन्। स्वास्थ्यकर्मीले भरप्रयास गर्दा पनि ज्यान जोगाउन सकेका छैनन्। त्यसैले मृत्युको कारण स्वास्थ्यकर्मीको लापरबाही मात्रै हो भनेर कार्यस्थलमै तोडफोड गर्ने काम निन्दनीय छ। डाक्टर र नर्समाथि आक्रमण गर्ने र धम्की दिने कार्य क्षम्य कुरा होइन।