सत्ता समीकरणका उल्झनहरू

सत्ता समीकरणका उल्झनहरू

बहुदलीय व्यवस्थामा प्रवेश गरेदेखि पछिल्लो ३० वर्षको संसदीय लोकतान्त्रिक प्रयोगमा दलहरू पूर्णरूपमै असफल भएकै देखिन्छन्


कोरोना महामारीबीच नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ । दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ । अप्रत्याशित रूपमा देखिएका राजनीतिक घटनाक्रमसँगै पुनः जनप्रतिनिधिमूलक प्रतिनिधिसभा विघटन र महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आमजनतामा नैराश्यता र आक्रोशपूर्ण आशक्तिहरू सिर्जना गरेका छन् । व्यक्तिगत स्वार्थदेखि दलीय विवाद हुँदै दोस्रोपटक पनि पुनः प्रतिनिधिसभा विघटनसम्मको परिस्थितिमा पुग्नुपर्ने सत्ता समीकरणका उल्झनहरूले फेरि पनि दिर्घकालीनसम्म राजनीतिक अस्थिरता कायम राख्ने स्पष्ट संकेतहरू देखिन्छन् ।

लोकतन्त्रमा अप्राकृतिक÷अशोभनीय राजनीतिक उतारचढावबीच नागरिकसमक्ष विकल्पका रूपमा जनमत लिनु ज्यादै अवैधानिक कदम त नहोला । तर, राजनीतिक संकट, स्वास्थ्य संकट, आर्थिक संकट साथै मानवीय संकटका बीच फेरि चुनावको घोषणा गर्नुले दूरदर्शी राजनीतिक समाधान भने पक्कै होइन । वर्तमान समयमा महामारी नियन्त्रणका लागि संयन्त्र, सामग्री र बजेट कै अपुग छ । अन्तर्राष्ट्रिय निकायसँग महामारी नियन्त्रणका लागि अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री, औषधि लगायतका सहयोगको हारगुहार गर्नुपरेको छ । यस्तो अवस्थामा अध्यादेशबाट आउने साँघुरो विनियोजित बजेटका लागि घोषित चुनावी खर्च र महामारीबाट थिल्थिलिएका जनता कसरी तयार होलान् ?

संसदीय लोकतान्त्रिक शासन व्यवस्थामा सत्ता समीकरणको सौदाबाजी र स्वार्थकेन्द्रित दलीय विवाद सिर्जना गर्दै गठबन्धनमा ल्याएको विग्रहले समग्र व्यवस्था माथि नै धावा बोल्ने दूषित संकेत देखिन्छन् । प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेका विधेयक, कार्यान्वयनको चरणमा रहेको वर्तमान संविधान, वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको छलफलसँगै निकट समयमा आउँदै गरेको आवधिक चुनावलाई लत्याउँदै रातारात प्रतिनिधिसभाको विघटन गरी मध्यावधि चुनावमा जाने निर्णय भने अत्यावश्यक परिस्थिति अनुरूपको होइन । व्यक्तिगत, दलीय गुटगत स्वार्थ, आरोप प्रत्यारोप, विवाद र सत्ता समीकरणमा देखिएका कमीकमजोरीले व्यवस्थामाथि नै प्रहार गर्नुले भावी दिनमा कस्तो नजीर प्रत्युत्पादित गर्दछ भन्ने अहिलेको मुख्य चिन्ताको विषय हो ।

विगतका विघटन 
नेपालमा विगतदेखि कै राजनीतिक अस्थिरता अझै कहिलेसम्म हो ? भन्ने प्रश्न ज्यादै गम्भीर रूपमा सिर्जना भएका छन् । विगत सात दशकदेखिको इतिहासलाई अध्ययन गर्दा स्थायी सरकारसहित पूर्ण कार्यकालका उपलब्धीमूलक सरकार गठन भएका छैनन् । विगतदेखि नै व्यक्तिगत स्वार्थ र पार्टीकै अन्तरकलह, पार्टी गठबन्धनका असमझदारीपूर्ण कदमले सत्ता समीकरण र पार्टीहरू नै विग्रहको स्थितिमा पुगेका छन् । २००७ सालमा प्रजातन्त्र स्थापनासँगै नागरिकको राजनीतिक अधिकारको पनि सुरुआत भए पनि बलियो राजतन्त्र र कमजोर राजनीतिक दलबीच भएका उतारचढावले नागरिकको राजनीतिक अधिकार स्थापित हुन सकेनन् ।

विश्व राजनीतिमा आएको परिर्वतन र नागरिकको राजनीतिक अधिकारको चाहाना पूरा गर्न २०१५ सालमा जननिर्वाचित कुशल राजनीतिज्ञ विपी कोइरालाले सुरुआत गरे तापनि बलियो राजतन्त्र र असंगठित दलका कारण फेरि राजनीतिक अधिकार खोसियो । राजा महेन्द्रले नेपालको संविधान २०१९ को लागू गरी पुनः प्रजातन्त्रको हरण गरे । पञ्चायती शासन व्यवस्था लागू गरे । त्यसयता पनि राजाका अधीनमा कठपुतली सरकारहरूको गठन र विघठन निरन्तर जारी रह्यो । कुनै पनि सरकार स्थायी र निरन्तर रूपमा पाँच वर्षसम्मको कार्यकाल पूरा गर्न सकेनन् ।
पञ्चायती व्यवस्थाले कुण्ठित गरेको नागरिकका राजनीतिक अधिकारका लागि भएको २०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्थासँगै प्रजातन्त्रको पुनर्बहालीले थप नयाँ उत्साह त थपिदियो । त्यसपछि कष्ृणप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भई सोही सरकारद्वारा २०४७ कात्तिक २३ गते नयाँ संविधानको घोषणा भयो । २०४८ सालमा नेपालमा दोस्रो ऐतिहासिक निर्वाचन कांग्रेसलाई बहुमत प्राप्त भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकारको घोषणा भयो । अवधि नपुग्दै २०५१ सालमा प्रधानमन्त्री उनले मध्यावधि निर्वाचनको घोषणा गरिदिए ।

कुनै पार्टीले बहुमत प्राप्त गर्न नसक्दा नेकपा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । नौ महिना लामो मनमोहन सरकारपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । राजनीतिक उतारचढावका कारण देश फेरि जनयुद्धमा होमियो । देउवा सरकारलाई अपदस्त गर्दै राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरी नागरिकको अधिकार फेरि खोसे । दस वर्षसम्मको राजनीतिक अस्थिरता र संवेदनशील संकटबाट फेरि राजनीतिक दल र माओवादी विद्रोहीबीच १२ बुँदे सहमति भई पुनः लोकतन्त्रको स्थापना भयो । त्यसयता जनताका जनप्रतिनिधिले निर्माण गरेको संविधान निर्माणमा पनि पहिलो कार्यकाल अपुग भएपछि पुनः थप कार्यकाल थप्नु प¥यो । नयाँ संविधान जारी त भयो तर कार्यान्वयनको चुनौती उस्तै रह्यो ।

विद्यमानका संकट 
बहुदलीय व्यवस्थामा प्रवेश गरेदेखि पछिल्लो ३० वर्षको संसदीय लोकतान्त्रिक प्रयोगमा दलहरू पूर्णरूपमै असफल भएकै देखिन्छन् । देश दलीय स्वार्थकेन्द्रीत घनचक्करको दलदलमा फस्यो । गणतन्त्रको स्थापना र नयाँ संविधानको व्यवस्था पछि पनि दलीय धुव्रीकरण र गुटगत स्वार्थ, व्यक्तिगत लेनदेन, असन्तुलित समीकरणका लागि गरिएका दूषित सहमतिहरूले अस्थिरतालाई निरन्तरता दिइरहेको देखियो । त्यसयताका सरकारहरू पनि पूर्ण रूपमा कार्यकाल पूरा गर्न पाएनन् । संविधानको परिकल्पना अनुसारको संघीय संरचनाअनुरूप नै निर्वाचन सम्पन्न भयो । निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी निर्वाचनको सहकार्यसँगै पार्टी एकतासम्म पुगे । निर्वाचनमा दुई तिहाई मत प्राप्त गठबन्धनको सरकार त बन्यो तर सत्ता समीकरण लामो समयसम्म टिक्न सकेन ।

कोरोना महामारीबीच नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ । दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ ।

व्यक्तिगत स्वार्थकेन्द्रित सहमति, बढ्दो महत्वकांक्षा, सरकारको बचाउ र विरोधको आरोप प्रत्यारोपपूर्ण दुरासयले दुई पार्टीबीचको तत्कालीन नेकपा एकता र सरकार दुवै जोगाउन सकेनन् । स्वार्थ केन्द्रित सत्ता समीकरणका फलस्वरूप बहुमतको दुरूपयोग र जनमतको कुठाराघातसम्मको प्रपञ्चमा सरकार आफंै फसेको छ । जनप्रतिनिधिमूलक प्रतिनिधिसभाको पटक पटक विघटन गरी राजनीतिक अस्थिरतालाई निरन्तरता दिइयो । आफ्नै दलीय भागवण्डा र आरोप प्रत्यारोप, अनौपचारिक सहमति र आधारहीन बहसहरूले देशलाई विगतजस्तै घनचक्करमा फसायो । दलीय स्वार्थले संविधान र व्यवस्थामाथि नै निरन्तर धावा बोल्यो ।

सरकारको अधिनायकवादी शैलीलाई कमजोर प्रतिपक्षको मधुरो स्वरले प्रतिरोध गर्न सकेनन् । जसकारण आज फेरि विधि र व्यवस्था जोगाउन प्रतिनिधिसभाका सांसदहरू अदालतको साहारामा पुग्नु परेको छ । सरकारका एकलौटी निर्णय र संवैधानिक निकायहरूमा गरिएको भागवण्डा, सम्मानित संस्थामाथिको हस्तक्षेप र विवादले राज्यका संयन्त्रहरू कमजोर भएका छन् भने नागरिकमा चरम वितृष्णा र आक्रोस छाएको छ । कोरोना र राजनीतक संक्रमणको यो महाव्याधिमा सरकार जनता जोगाउने प्रयत्नमा लागेन भने भावी दिनहरू पनि अँध्यारा हुन सक्छन् ।
भावी विधिगत संशय 
विगतमा देखिएका यस्तै राजनीतिक दुरासयपूर्ण गतिविधिहरूबाट आक्रान्त भएर नेपाली जनताले कानुनी र विधिको शासन कायम गर्न, गराउन नयाँ संविधानको परिकल्पना, निर्माण र कार्यान्वयनमा साथ दिएका हुन् । यहीँ अवस्थालाई विश्लेषण गर्ने हो भने विगत र वर्तमान जस्तै भावी दिनमा पनि सत्ता समीकरणका उल्झनहरू नआउलान् भन्न सकिँदैन । तोकिएको समयमा निर्वाचन भए पनि नभए पनि दाहाल, देउवा, पौडेल, महत, भट्टराई, ओली जो आए पनि विगतका दशकभन्दा कुनै फरक राजनीतिक कोर्स नदेखिने प्रशस्त लक्षणहरू देखिन्छन् । अहिलेकै अवस्थालाई हेर्दा नेपालमा स्थायी सरकार न विगतमा थियो न त आगामी दिनमा नै हुने देखिन्छ ।

दुई तिहाईको सरकारका अवसर र त्यसको तिक्ततापूर्ण अवसानले सत्ता समीकरणका आगामी यात्रा सहज देखिँदैनन् । पछिल्ला विकसित घटनाक्रमले गम्भीर किसिमका उल्झनहरू मुलुकले सामना गर्नुपर्ने स्पष्ट संकेत देखिन्छन् । राज्यका सम्मानित संस्थाहरूको कार्यसम्पादन र निर्णय कार्यान्वयनमा देखिएका त्रुटिगत संवैधानिक समस्याहरूले पनि उल्झन थपिँदै गएका छन् । दुईभन्दा बढी अप्राकृतिक शक्तिहरूको मिलेमितोमा सरकार गठन गर्ने र त्यसले प्रत्युत्पादन गर्ने जसको भागीदार हुने तर अपजसको भारी नबोक्ने प्रवृत्ति नदोहोरिएला भन्न मिल्ने कुनै पनि आधार छैनन् । दलीय विवाद र नैतिक पतनले दलहरू विग्रह हँुदै जाने र भावी दिनमा पनि कुनै दलको स्पष्ट बहुमत पनि नआउने, सरकार बनाउन पार्टीबीचका सौदाबाजीले राष्ट्रिय हित नगर्ने सबैमा जनजायर नै छ ।

जीवनको उत्तरार्धमा रहेर पनि घृणित सत्तामा लिप्सिनुले भावी पुस्ताले कस्तो राजनीतिक संस्कार सिक्लान् ? दलीय स्वार्थका कारण संवैधानिक विधि र व्यवस्था नै स्थापित हुन सक्दैनन् भने देशले व्याप्त महामारीले सिर्जना गरेको स्वास्थ्य र आर्थिक संकटलाई चिर्दै गरिबी र बेरोजगार युवालाई अवसर सिर्जना गरी मुलुकको समृद्विको सपना पूरा हुन्छन् भन्ने आधार के होलान् ? महामारीका बीचमा झन् बढी सक्रिय भएर प्रतिनिधिसभामा छलफल र नीति नियम निर्माण गर्नुपर्ने समयमा अध्यादेशबाट राजकाज चलाउनु पर्ने अस्वाभाविक संकट देखिएको छ । योभन्दा ठुलो राजनीतिक संकट के हुन सक्छ ?

यसर्थ, भावी दिनमा राज्यको दायित्व, दलीय उद्देश्य र नागरिकका अधिकारका लागि गम्भीर समीक्षा, आत्मालोचना र नयाँ धारबाट राजनीति सुरुआत हुन सकेन भने बाँकी आगामी दिनका सत्ता समीकरणका उल्झनहरूले व्यवस्था पनि सबै गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । वर्तमानको प्राथमिकता जनताको जीवन जोगाउनु हो । चुनाव र सत्ता समीकरण सौदाबाजी गरी महत्वपूर्ण निर्णय गर्ने होइन । राजनीतिक, संवैधानिक र मानवीय संकट जोगाउन फेरी पनि अदालतले कानुन र जनभावना अनुरूपको निर्णय गर्नुपर्ने समय आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.