मनकारी युवा
राजविराज : कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन भएपछि बिरामी कुरुवाहरूको बिचल्ली भएको छ। लकडाउनमा होटलसमेत बन्द हुँदा पैसा हुनेले पनि पेट भर्न पाएका छैनन्। अस्पतालमा संक्रमित र अन्य बिरामीका कुरुवाहरूको पेट भर्नेतर्फ राज्य र दलहरूले सहिष्णु व्यवहार देखाउन सकेनन्। नेता, कार्यकर्ताहरू सरकारको समर्थन र विरोध गर्न प्रदर्शनमा उत्रिरहेका बेला विभिन्न मनकारी व्यक्ति, संस्था र समूह भने भोकाहरूलाई खाना खुवाउन अग्रसर भएका छन्।
राजविराजस्थित गजेन्द्रचोकमा सप्तरी उद्योग वाणिज्य संघ र लायन्स क्लब राजविराज सिटीले खाना खुवाउन जुटिरहँदा युवा व्यापारीहरूले अस्पताल परिसरमै गएर बिरामी कुरुवाहरूलाई खाना खुवाइरहेका छन्।
सवारीसाधन बन्द भएकाले घरबाट खाना ल्याउन नसकिने र साथमा पैसा भए पनि होटल बन्द भएकाले किनेर खान नपाउने अप्ठ्यारा, हैरानी र सास्ती उनीहरूले देखे। बिरामीहरू रोगले छटपटिने र उनीहरूका कुरुवा भोकले छटपटिने अवस्था देखेर युवा व्यापारीहरूले आपसमा सल्लाह गरेर सामाजिक काममा लाग्ने उनीहरूले निधो गरे। बिरामीहरूलाई चिकित्सक, स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्। प्रहरी, प्रशासन शान्ति सुरक्षासँगै कोरोना नियन्त्रण कार्यमा खटिरहेका छन्। यस्तो बेलामा उनीहरूले भोकालाई पेट भर्ने काम रोजे।
युवा व्यापारी अमित साह, अमृत सञ्चेती, ओमप्रकाश साह, सिद्धार्थ तातेड, पशुपति साहले आफ्नो उमेरका व्यापारीलाई सहयोगका लागि एक पटक अनुरोध गरेर खाना खुवाउने आँट गरे। एक सातादेखि उनीहरू मिनरल वाटरसहित साढे एक सय बट्टामा दाल, भात, तरकारी, अचार प्याक गर्छन्। मारुती भ्यानमा बोकेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल, छिन्नमस्ता र युनिक अस्पतालमा बिहान ११ बजे र साँझ ७ बजे पुग्छन्। बिरामी, कुरुवाका साथै काममा खटिएर खाना खान घर जान नपाएका अस्पतालका कतिपय कर्मचारीलाई पनि यसले सजिलो भएको छ।
‘न गाउँ फर्किन पाइन्छ, न यहाँ होटल नै खुलेको छ।’ बिरामी कुरुवा बोदे बर्साइन–७ फुलहाराकी सावित्री साहले भनिन्– ‘कसरी पेट पाल्ने भन्ने संकटको समयमा भोकालाई खाना खुवाएर युवाहरूले मानवीय धर्म निर्वाह गर्दैछन्।’ काम सुरु गर्नुभन्दा अघि उनीहरूलाई दैनिक कसरी खाद्यान्न जोहो गर्ने चिन्ता थियो तर सहयोगी हातहरू जुटन थालेपछि भोकालाई खाना खुवाउन पाउँदा युवाहरू उत्साहित देखिन्छन्।
राजविराज–६ का अमृत सञ्चेती भन्छन्– ‘भोकालाई पेट भर्नुलाई धर्म सम्झेर सेवा सुरु गरेकोमा साथीहरूले हौसला दिएका छन्, लकडाउन अवधिभर खुवाउँछौं।’ अस्पताल नजिकै घर भएका सञ्चेतीले आफ्नै घरमा दुई जना सहयोगी राखेर खाना तयार पार्छन्। यो काममा उनकी श्रीमती रिया राय सञ्चेतीले पनि साथ दिएकी छन्। लकडाउनमा होटल बन्द भएकाले दैनन्दिनको ज्याला–मजदुरी गरेर पेट भर्ने, औषधि किन्न र अत्यावश्यक कामले राजविराज आउनेहरूका लागि राजविराजको गजेन्द्रचोकमा १२ दिनदेखि निःशुल्क खाना वितरण भइरहेको छ।