सकारात्मक उर्जाका लागि वास्तुशास्त्र
भवन निर्माण गर्नुभन्दा अगाडि दिशाहरूको ज्ञान राख्नु आवश्यक हुन्छ। वास्तुशास्त्रका अनुपम सिद्धान्त पञ्चतत्वमा आधारित छन्। प्राचीनकालमा दिशा ज्ञानका लागि अनेक साधन प्रचलित थिए,जस्तो सूर्य उदाउने दिशा, ध्रुव ताराको स्थितिको दिशा आदि। वास्तु ज्ञानका चार दिशा र त्यसको सहायक कोण अर्थात् विदिशाको विशेष महत्व हुन्छ। हाम्रा ऋषिमुनिहरूले आधुनिक विज्ञान विकसित हुनुभन्दा हजारौं वर्ष अगाडि, सूर्यको रश्मिमा निहीत जीवन तत्वलाई पत्ता लगाएका थिए।त्यसकारण उनीहरूले आवासलाई पूर्वोन्मुखी बनाउने विधान बनाए साथै अन्य कोणका देवताअनुरूप गृह–निर्माणको योजना पनि बताए ताकि मनुष्यको सुख–समृद्धि एवं आरोग्य वृद्धिमा उनीहरू सदैव सहायक बन्न सकून्।
दिशाहरू आठवटा हुन्छन्– पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर र ईशान।बिहान सूर्य उदाएको समयमा त्यतातिर फर्केर उभिँदा अगाडिको भागलाई पूर्व दिशा भनिन्छ भने पछाडिको भागलाई पश्चिम दिशाले जानिन्छ। दाहिनेहाततर्फको दिशा दक्षिण हुन्छ भने देब्रेतर्फको भागलाई उत्तर दिशाको नामले चिनिन्छ। आग्नेय कोण– दक्षिण–पूर्वको कोणलाई आग्नेय कोण भनिन्छ। पूर्वदिशाको दक्षिण भागलाई पूर्वी आग्नेय तथा दक्षिण दिशाको पूर्वतर्फलाई दक्षिणआग्नेय भनिन्छ। नैऋत्य कोण– दक्षिण–पश्चिमको कोणलाई नैऋत्य कोणको नामले जानिन्छ। दक्षिण दिशाको पश्चिमतर्फको भागलाई दक्षिण नैऋत्य तथा पश्चिमतर्फको भागलाई पश्चिम नैऋत्य कोण भनिएको छ।
वायव्य कोण– उत्तर–पश्चिमको कोणलाई वायव्य कोण भनिएको छ। पश्चिम दिशाको अगाडिको भागलाई पश्चिम–वायव्य तथा उत्तर दिशाको पछिल्लो भागलाई उत्तर–वायव्य कोण भनिन्छ। ईशान कोण– उत्तर–पूर्वको कोणलाई ईशान कोण भनिन्छ। पूर्व दिशामा उत्तरतर्फ ईशानकोणको स्थानलाई पूर्वी ईशान तथा उत्तर दिशाको पूर्वतर्फ स्थित स्थानलाई ईशान कोण भनिन्छ।दिशाअनुसार भवन निर्माण गरिएको छ भने त्यहाँ निवास गर्नेलाई सुख समृद्धि प्राप्त हुनुका साथै मानसिक शान्तिसमेत प्राप्त हुने गर्दछ। वास्तुशास्त्रअनुसार कुन–कुन स्थानमा के–के निर्माण गर्नु पर्ने हुन्छ, तल पूर्ण रूपमा व्याख्या गरिएको छ :
पूजा स्थल
पूजा कक्ष घरको मुख्य अंग हो। पूजन, भजन, कीर्तन, अध्ययन–अध्यापन सधैं ईशान कोणमा गर्नुपर्छ। पूजा स्थलबाट वृद्धि, मनमा शुद्ध संस्कारको प्रभाव पर्छ। पूजा गर्ने समयमा व्यक्तिको मुख पूर्व दिशामा हुनुपर्छ। भगवान्को मूर्तिको मुख पूर्वबाट पश्चिमतर्फ फर्किएको हुनुपर्छ। ब्रह्मा,विष्णु, शिव, इन्द्र, सूर्य, कार्तिकेयको मुख पूर्वबाट पश्चिमतर्फ हुनुपर्छ। गणेश, कुबेर, दुर्गा, भैरव, षोडश मातृकाको मुख सधैं दक्षिण दिशातर्फ हुनुपर्छ। हनुमानजीको मुख नैऋत्य कोणतर्फ हुनुपर्छ। ज्ञान प्राप्तिका लागि पूजागृहमा उत्तर दिशामा बसेर उत्तरतिर मुख गरेर पूजा गर्ने गर्नुपर्छ र धन प्राप्तिकालागि पूर्व दिशामा पूर्वतर्फ मुख गरेर पूजा गर्नु उत्तम मानिएको छ।
भान्साघर
भोजन बनाउन भान्साको आवश्यकता हुन्छ। भवनमा भान्साघर पूर्व–दक्षिणको बीच आग्नेय कोणमा बनाउनु पर्छ। भान्साघरमा चुलो या ग्यास आग्नेय कोणमा राख्नुपर्छ। ताजा हावाको पंखा उत्तर र पूर्व दिशामा लगाउनु पर्छ।
भोजनालय
कतिपय ठाउँमा भोजन भान्साघरमा नै गरिन्छ, तर भोजन गर्नका लागि एउटा अलग कक्षको व्यवस्था गर्नु राम्रो हुन्छ। हुन त स्थानको अभाव भयो भने भोजन कक्ष ड्राइङ्ग रुमकै एउटा भागमा बनाउन सकिन्छ।
भवन निर्माण गर्नुभन्दा अगाडि दिशाहरूको ज्ञान राख्नु आवश्यक हुन्छ। वास्तुशास्त्रका अनुपम सिद्धान्त पञ्चतत्वमा आधारित छन्।
डाइनिङ्ग टेवल , ड्राइङ्गरुमको दक्षिण–पूर्वमा राख्नुपर्छ अथवा भोजन कक्ष पनि दक्षिण–पूर्वमै राख्नुपर्छ। भोजनालय वा भोजन कक्ष भवनमा पूर्व या पश्चिम दिशामा बनाउनुपर्छ।
भण्डार कोठा
प्राचीनकालमा पूरै वर्षभरिका लागि अन्नादिको संग्रह गर्ने गरिन्थ्यो। त्यसकारण घरमा भण्डार गृहको अलग व्यवस्था हुने गर्दथ्यो। वर्तमान समयमा स्थानको अभाव हुने भएकाले भान्साघरमै खाद्यान्न राख्ने गरिन्छ। खाद्यान्न ईशान र आग्नेय कोणको मध्यपूर्वी झ्यालसँगै राख्नुपर्छ। यदि स्थानको सुविधा हुन्छ भने भवनको ईशान र आग्नेय कोणको मध्यपूर्वी भागमा भण्डार गृहको निर्माण गर्न सकिन्छ।
शौचालय
वास्तुशास्त्रअनुसार शौचालयका लागि नैऋत्य कोण या दक्षिण दिशाको मध्य या नैऋत्य कोण या पश्चिम दिशाको मध्य स्थानलाई सर्वाधिक उपयुक्त मानिएको छ। शौचालय बस्दा तपाईंको मुख पूर्व वा उत्तरतर्फ हुनुपर्छ।
स्नान गृह
वास्तुशास्त्रअनुसार स्नान गृह भवनको नैऋत्य कोण एवं दक्षिण दिशाको मध्य अथवा नैऋत्य कोण या पश्चिम दिशाको मध्यमा हुनुपर्छ। मतान्तरबाट पूर्वमा पनि बनाउन सकिन्छ। आधुनिक स्नानगृहमा गिजर आदिको पनि व्यवस्था हुनेगर्छ। गिजरको सम्बन्ध आगोसँग हुने भएकाले त्यसलाई सदैव आग्नेय कोणमा राख्नुपर्छ। स्नान गृह या शौचालयका लागि छुट्टाछुट्टै स्थान निश्चित गरिएको छ तर धेरै ठाउँमा स्थान सीमित हुने भएकाले यस्तो सम्भव हुन सकेन र स्नानगृह र शौचालय एकै ठाउँमा बनाउन पर्यो भने भवनको दक्षिण–पश्चिम भागमा वायव्य कोणमा शौचालय बनाउनु पर्छ। यदि कुनै विकल्प छैन भने आग्नेय कोणमा शौचालय बनाएर त्यससँगै पूर्वतर्फ स्नान गृह समायोजन गर्न सकिन्छ।
शयन कक्ष
गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।सुत्ने बेलामा सिरान दक्षिणमा र खुट्टा उत्तर दिशातिर हुनुपर्छ। पृथ्वीको दक्षिण ध्रुव र शिरको रूपमा मनुष्यको खुट्टाको दक्षिणी ध्रुवले पनि ऊर्जाको अर्को धारालाई पूर्ण पार्दछ। चुम्बकीय तरंगको प्रवेशमा बाधा उत्पन्न हुँदैन। त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निद्रा लाग्छ। जसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख–समृद्धि एवं सम्पन्न हुने गर्छ। यदि दक्षिण दिशामा सिरान गर्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ। अन्य दिशामा पलङ र सिरान राख्नाले बुद्धि ठिकसँग सञ्चालन हुन पाउँदैन।
अध्ययन कक्ष
वायव्य, नैऋत्य कोण र पश्चिमको मध्यमा स्वाध्याय कक्ष बनाउनलाई उचित मानिएको छ। ईशान या पूर्व दिशामा पूजा गृहको साथै अध्ययन कक्ष बनाउनलाई सर्वोत्तम मानिएको छ। अध्ययन कक्ष सदैव ईशान साथै पूर्व दिशामा हुनुपर्छ।
स्वागत कक्ष
अतिथिका लागि स्वागत कक्ष वायव्य नैऋत्य कोण या ईशान पूर्व दिशाको मध्यमा हुनुपर्छ। स्वागत कक्षमा सोफा बेन्च,कुर्सी,चकटी,तकिया आदि दक्षिणतर्फ र पश्चिम दिशातर्फ राख्नुपर्छ। स्वागत कक्ष या बैठकमा जहाँसम्म सम्भव हुन्छ उत्तर र पूर्वतर्फ खुला ठाउँ राख्नुपर्छ।
यदि हामीले माथि दिइएको सुत्रअनुसार वास्तुपरक गृह निर्माण गरेको खण्डमा जीवन अवश्यपनि सुःख, शान्ति र संवृद्धि हुनेछ। घरमा सकारात्मक उर्जा शक्ति प्राप्त हुनेछ र नकारात्मक उर्जाहराउने छ। घरमा सदासर्वदा आनन्दको अनुभूति हरहर्ष प्राप्त भइरहनेछ।
लेखक वास्तुविद् हुन्।