वडामै अक्सिजनसहितको आइसोलेसन सेन्टर
दमौलीः कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्लागण्डकी ८ वडा कार्यालयले आफ्नै वडाभित्र अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ। कोरोनाबाट एउटै वडामा एकै दिन तीनजनाको ज्यान गएको छ। सोही क्षेत्रमा संक्रमितको संख्या पनि बढिरहेको छ । एन्टिजेन परीक्षणका क्रममा एकै दिन ३० जनामध्ये १४ जनामा पोजेटिभ देखिएको थियो ।
संक्रमित बढ्न थालेपछि वडा कार्यालयले आफै आइसोलेसन बनाउन थालेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए । 'सबै संक्रमित होमआइसोलेसनमा बस्ने अवस्था छैन, ’उनले भने,‘नमिल्नेहरुका लागि अक्सिजनसहितको आइसोलेसन तयार पारेका छौं ।'
बुधबारबाट आइसोलेसन सञ्चालनमा आउनेछ । वडाले आफ्नै सक्रियतामा वडाभित्रै अक्सिजनसहितको आइसोलेसन तयार पारेको जिल्लामै यो पहिलो घटना हो । सोही वडाले संक्रमितका घरघरमा स्वास्थ्य टोली परिचालन समेत परिचालन गरेको छ। उनीहरुले बिरामीको अवस्थाबारे बुझ्ने र आवश्यक स्वास्थ्य दिँदै आएका छन्।