जनमोर्चाका सांसद कृष्ण थापा निलम्बित
पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको पद उनकै पार्टीले खारेज गरेको छ । पार्टीले उनलाई सांसदबाट हटाएको पत्र प्राप्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले बिहीबार प्रदेश सभामा पढेर सुनाए ।
जनमोर्चाका महासचिव मनोज भट्ट र सांसद पियारी थापाले सांसद थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बिहीबारै दर्ता गराएका थिए । जनमोर्चाको बिहीबारको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट हटाउने निर्णय गरेको पियारी र मनोजले दर्ता गरेको पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सफल बनाउन नलागेको भन्दै उनको पार्टीले थापालाई निलम्बन गरेको हो । उनले कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्तावित दाबीपत्रमा पनि हस्ताक्षर गर्न मानेका थिएनन् । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जनमोर्चाका ३ सांसद रहेकामा अब गण्डकीमा २ सांसदमात्र बाँकी छन्।