बधाई छ इन्दिरा आमा
नेपालमा संक्रमण र मृत्युदर घट्ला र अवस्था शान्त बन्ला भन्ने सबैको पर्खाइ र चासोको विषय छ । केही साता अघिसम्म नेपालमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्या दैनिक थपिँदो थियो । कहिले थोरै त कहिले त्रसित बनाउने गरी आउने ठुलो तथ्यांकले निषेधाज्ञामा निसासिएर बसेका नागरिकको ढुकढुकी बढाउँथ्यो ।
हालको समय संक्रमित र मृत्युका समाचारले ढाकिने सञ्चारमाध्यम र सामाजिक सञ्जाल हेर्नसमेत धेरैपटक सोच्नुपर्छ । यस्तो बेला केही त्यस्ता समाचार पनि आउँछन्, जसले मनै प्रफुल्ल मात्रै बनाउँदैन, आत्मबलसमेत पनि बढाउँछ । संक्रमित भएर उपचार गराइरहेका र आइसोलेसनमा बसेकालाई ती कुराले हौसला मिल्छ, आत्मबल पनि बढाउँछ । बिहीबार यस्तै एउटा समाचार बन्यो ‘उमेर सय, कोरोना पराजय’ ।
उमेरले सय वर्ष पुगेकी सिन्धुली कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापालाई जेठको पहिलो साता स्वास्थ्यमा समस्या आयो । कोरोनाको लक्षण देखिएपछि उनी घरमै आइसोलेसनमा बसिन्, खानपानमा ध्यान दिइन् । सुधार नभएपछि जेठ १३ गते अस्पताल पुगेर पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भयो । तर, उनले हार मानिनन् । आत्मबल मजबुत बनाइन् । समयमा अस्पताल पुगेकाले चिकित्सकको उपचार पद्धतिले काम ग¥यो, उनको अत्मबलले कोरोना पराजित गर्न अझै मद्दत पुग्यो । नभन्दै एक सातामै उनले कोरोना संक्रमणबाट मुक्ति पाइन् र घर फर्किइन् । उमेरले एक शताब्दी पुगेकी इन्दिराको आत्मबल र आफ्नो स्वास्थ्यको ख्याल नै कोरोना जित्ने प्रमुख कारण बन्यो । आत्मबल बढाए कोरोना जितिन्छ भन्ने उदाहरण बेनेकी इन्दिराकुमारीलाई बधाई छ ।
कुनै रोग लागे यससँग लड्ने क्षमता हाम्रो शरीरमा नै हुन्छ । आत्मबल उच्च भए रोग प्रतिरोधात्मक शक्ति पनि बढ्ने बैज्ञानिकले गरेको अनुसन्धानबाट पुष्टि गरेकै कुरो हो । चिकित्सकका अनुसार जब रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ शरीरमा प्रवेश गरेका भाइरसले आफ्नो स्थान सुरक्षित गर्छन् र शरीरमा फैलने अनि असर गर्ने मौका पाउँछन् । आत्मबल उच्च भए भाइरससँग लड्ने तत्वको उत्पादन शरीरले नै गर्छ । यसलाई सघाउन मात्रै बाहिरबाट दिइने औषधि र भ्याक्सिन हो । औषधि उपचार र आत्मबल दुवैको मद्दतबाट रोग जितिने भएकाले चिकित्सकले सधैं बिरामीलाई हौसला बढाउने कुरा गर्ने गरेका हुन् । यो सबैको मेल भए कुनै पनि रोगलाई हामी सहजै जित्छौं ।
विश्वमा कोरोना महामारी फैलिएको पहिलो लहरमै ‘कोरोनाको पहिलो औषधि आत्मबल’ भन्ने चर्चा नभएको होइन । उमेरले वृद्ध अवस्थामा पुगेका र बालबालिकामा आत्मबल कम हुने र रोगले बढी असर गर्ने भएकाले संक्रमण जिते यस्ता व्यक्तिको चर्चा बढी हुने नै गर्छ । अन्य उमेर समूहकाले पनि कोरोना जितेपछि सुनाउने अनुभवमा आत्मबललाई पहिलो प्राथमिकता दिँदै आएका छन् । कोरोनाको अघिल्लो लहरमा कोरोनासँग जुधेकी विराटनगर निवासी ९० वर्षीया मधुदेबी भट्टराईको अनुभवले धेरैलाई बाँच्ने प्रेरणा दिएको थियो । उनका कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । वृद्ध÷वृद्धाकै अनुभवले हामीलाई जिउने धेरै कुरा सिकाउँछ । त्यसैले भनिएको हो, ‘आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको’ ।
रोगबाट जोगिन आत्मबलसँगै खानपान, रहनसहन र जीवनशैली पनि उत्तिकै महत्वपूर्ण हुन् । पहिलेजस्तो अब हात मिलाउने, अंकमाल गर्ने र जहाँ, जस्तो अवस्थामा भेट्यो खाइहाल्ने समय छैन । भिडभाडमा पस्दा, बस्दा र कुनै कुरा छुँदासमेत सचेत हुने समय आएको छ । नाक, मुख छोप्ने मास्क अन्य कपडासरह अब अनिवार्य बनेको छ । लुगाफाटो वा समान खरिद गर्दा अब मास्क र स्यानिटाइजर पनि हामीले खरिद गर्ने सूचीमा थपिनेछन् ।
आफ्ना व्यवहार पनि परिवर्तन गर्दै हात मिलाउनुको साटो नमस्ते गर्ने र पानी नभएको ठाउँमा धेरै समय रहनु परे स्यानीटाइजर प्रयोग गर्ने बानी बसाल्नुपर्छ । पटक–पटक साबुनपानीले हात धुने र स्वास्थ्यमा समस्या देखिए समयमा उपचारका लागि पुगे रोग निको पार्न चिकित्सकलाई पनि सहज हुने देखिएको छ । अब सबैले यी कुरा मनन गरौं र आफूलाई सुरक्षित राखौं । आत्मबल बढाउनेसँगै सबै स्वास्थ्य मापदण्ड पनि पालना गरौं ।