बागलुङमा ३१ जेठसम्म निषेधाज्ञा
बागलुङ : जिल्लामा आगामी ३१ जेठसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
उनका अनुसार बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक वित्तीय संस्था बुधबार र आइतबार बिहान ७ बजेदेखि १० बजे सम्म खुला रहनेछ ।बैठकले कोरोना संक्रमण दर बढेको र जोखिम कायमै रहेको ठहर गर्दै जेठ ३१ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो । बागलुङमा गत बैशाख २१ गतेदेखि लकडाउन थालिएको थियो । संक्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेष्ठ २२ सम्म लकडाउन थप गरेको थियो । जुन भोली अर्थात् शनिबार सकिदैछ ।
‘संक्रमितको संख्या अझै पनि एक हजार हाराहारीमा छ, यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो’ प्रजिअ कार्कीले भने,‘अझै पनि संक्रमितको संख्या बढि रहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाई गरिने निर्णय भएको छ ।’