घर भाडा र तिलहरी
लकडाउनले सजनीको व्यापार चौपट भएको थियो। राजधानीको एउटा निजी स्कुलमा पढाउने उनका श्रीमान् रमेशको जागिर हुनु र नहुनुमा केही फरक थिएन। अरू बेला पनि थोरै तलबमा धेरै काम लगाउने निजी स्कुलले लकडाउनको निहुँमा कहिले आधा तलब त कहिले त्यो पनि दुईतीन महिनासम्म दिन मानेको थिएन। सानो छोरा पनि छोरीसँगै स्कुल जाने भएपछि दुई वर्षअघि सजनीले एउटा सानो सटर भाडामा लिएर पानीपुरी बेच्ने सुरु गरिन्। त्यसले सटर तथा घरको भाडा तिर्न पुग्थ्यो। रमेशको तलबले परिवारलाई मुस्किलले औषधि उपचार तथा घर खर्च धान्थ्यो।
घरबेटी दिदी आएर झ्यालबाट बोलाइन्। डरैडरले सजनीले पर्दा खोलिन्। अब त भाडा तिर्ने बेला भएन ? प्रश्न तेर्सियो।
लकडाउनपछि रमेशको तलब पनि आधा मात्रै आउने र पानीपुरी व्यवसाय पनि बन्द भएपछि उनीहरूलाई भाडा तिर्न र घर खर्च चलाउन धौधौ भयो। काठमाडौं छोडेर पहाडको घरमा गएर बस्ने सोच पनि उनीहरूले नबनाएका पनि होइनन्। जग्गा दुई भाइले कमाउँदै आएका थिए। गाउँमा पनि बस्ती पातलिएसँगै बँदेल, भालु, बाँदर, दुम्सीलगायत जंगली जनावरले अन्नबाली खाइदिएर गाउँमा बस्नै नसक्ने भएका थिए। बिरामी पर्दै गएकी आमालाई सहर लगेर उपचार गराउन भाइहरूले सजनीलाई बारम्बार फोन गरिरहेका थिए। तर सजनीको अवस्थाबारे उनीहरू बेखबर थिए। छोरो जन्मेपछि चार जनाको परिवारलाई एउटै कोठामा बस्न मिल्दैन भनेर घरबेटीले भनेपछि उनीहरू अर्को कोठा खोज्न बाध्य भए। छोरीछोरी पढ्ने स्कुलनजिकै बाध्य भएर महिनाको दस हजार तिर्ने गरेर उनीहरू सरेका थिए।
लकडाउन अगाडि सबै ठिकै चलिरहेको थियो। उनले दुई गाँस कम खाएर पनि महिनाको हजार रुपैयाँ सहकारीमा जम्मा गर्ने गरेकी थिइन्। चैत, वैशाखको भाडा उनीहरूले जसोतसो गरेर तिरे। जेठदेखि भाडा तिर्ने पैसा पनि भएन। रमेशको तलबले खान पनि पुगिराखेको थिएन। एक दिन उनीहरूको घरमा मात्रै बत्ती आएन। राति भएपछि आउला कि भन्ने आशामा बसेका उनीहरूको घरमा राति पनि बत्ती आएन। अर्को दिन घरबेटी दिदीले मिटर बिग्रेकाले नयाँ मिटर किन्नुपर्ने भयो, पैसा छ कि भनेर सोध्नुभयो। ५ गतेभित्र भाडा तिरिसक्नु पर्ने घरबेटीको नियमलाई कसैले तोडेका थिएनन्। यसपालि भने असारको पन्ध्र गते भइसकेको थियो। भाडा तिर्न नसकेर उनीहरू आफैं लज्जित थिए। काठमाडौंमा तीन ठाउँमा जग्गा किनेको छु भनेर सुनाउने घरबेटी दिदीले यसरी भाडा माग्न आउनुहोला जस्तो उनीहरूले ठानेका थिएनन्।
सरकारले भनेजस्तै एक महिनाको भाडा छुट गरिहाल्छन् कि भन्ने आशा पनि उनीहरूमा जीवितै थियो। तर उनीहरूले सोचेजस्तो भएन। त्यो रात सजनी र रमेशलाई निद्रा परेन। भोलिपल्ट बिहानै सजनीले रमेशले उनलाई बिहेमा लगाइदिएको औंठी ल्याएर रमेशका हातमा राखिन्। उनका आँखामा आँसु भरिएका थिए। नबोली भान्छामा पसिन्। औंठी बेचेर आएको १५ हजार रुपैयाँ रमेशले सजनीको हातमा थमाए। बत्ती, पानी, इन्टरनेट गरेर झन्डै बाह्र हजार रुपैयाँ लिएर उनी घरबेटीलाई दिन माथि उक्लिइन्। ‘ए पैसा ल्यायौ’ भन्दै हाँस्दै समाएर साहूनी कोठाभित्र पसेर ढोका ढप्काइन्। कोठामा आएर सजनी रुन थालिन्। आज भाडा तिर्न औंठी बेचियो, अर्को महिनाको भाडा तिर्न के पो गर्नेहोला ? गहिरो सोचमा डुबिन्। जसोतसो तीन महिना बिताए। रमेशको आधा तलबले उनीहरूले आधा पेट खाइरहे। तरकारी किन्न जाँदा बाटोमा भेटिएकाहरूले लकडाउनमा पनि कस्तो नमोटाएको सजनी ? भनेर सोध्दा उनी नाजवाफ हुन्थिन्।
एक दिन घरबेटी दिदी आएर झ्यालबाट बोलाइन्। डरैडरले सजनीले पर्दा खोलिन्। अरू बेला के कस्तो छ भन्ने घरबेटी दिदीले यतिबेला केही सोधिनन्। श्रीमान् बाहिर गएको एक हप्ता भइसक्यो, पानी, बत्तीको बिल नतिरेको पनि दुई महिना भइसक्यो, अब त भाडा तिर्ने बेला भएन ? उनले सिधै सोधिन्। केही महिनाअघि घाम तापिरहँदा घरबेटी दिदीले जेठी छोरीको बिहेमा दाइजो दिन भन्दै तेस्रो ठाउँमा ४ आना जग्गा किनेको सुनाएकी थिइन्। घरभाडाले घर खर्च चल्ने हुँदा सरकारी अफिसमा काम गर्ने हाकिम श्रीमान्को तलब कहिले पनि घरमा ल्याउनु नपरेको उनले गर्व गर्दै सुनाएकी थिइन्। तर आज भने उनले उल्टै तपाईंहरू यसपालि घर नजाने ? भनेर प्रश्न गरिन्। सजनीलाई उनको प्रश्नले उकुसमुकुस बनायो। एक छाक खान धौ धौ परिरहेका बेला कोरोनाको त्राससँगै महंगो भाडा तिरेर तीन दिन लगाएर कसरी घर जाने ? उनले सोच्नै सकिनन्।
पर्सीसम्म भाडा दिउँला भनेर उनले घरबेटीलाई भनिहालिन् तर कहाँबाट ल्याएर दिने ? उनी ठूलै चिन्तामा परिन्। नजिकै बसेकी छोरीले यो सबै सुनिरहेकी थिइन्। घरबेटी गएपछि उनले ‘ममी म राम्रोसँग पढ्छु, अनि धेरै पैसा कमाएर आफ्नै घर बनाउँला है। हजुर चिन्ता नलिनुस्’ भनिन्। सजनीले छोरीलाई अँगालो हालेर रुन थालिन्। उनले बाहिर गएका श्रीमान् आएपछि भाडा माग्न आएको कुरा सुनाइन्। निजी स्कुलका शिक्षकलाई अरू बेला त नदेखेझैं गरी हिँड्ने आफन्त, इष्टमित्रले यतिबेला के ऋण देलान् ? रमेश तनावमा देखिए। त्यो रात पनि सजनीलाई छटपटि भइरह्यो। तीन महिनाको भाडा मात्रै ३० हजार। कसरी तिर्ने होला ? कानको सानो झुम्का, एउटा औंठी र तिलहरी रमेशले उनलाई बिहेमा लगाइदिएका थिए। त्यही तिलहरी तिलहरी ल्याएर भारी मनले श्रीमान्को हातमा राखिन्।
फेरि पनि चुपचाप तिलहरी बेचेर आएको १८ हजार रुपैयाँ सजनीका हातमा राखे रमेशले। सहकारीमा जम्मा भएको पैसा पनि टाकटुक पारेर ३० हजार बनाइ सजनी भाडा दिन भन्दै घरबेटी बस्ने चौथो तलामा उक्लिइन्। आफन्त, साथीभाइ, चिनेजानेका धेरैले उनीहरूका घरबेटीले एक महिनाको भाडा नलिएको सुनेकी थिइन्। घरबेटीले केही राहत देलान् कि भन्ने झिनो आशा उनमा बाँकी थियो। एक महिनाको मात्रै भाडा माफ भए अर्को महिनाको खर्च चल्थ्यो कि ? सिँढी चढ्दै सोच्न भ्याइसकेकी थिइन् सजनीले। उनले चार तला माथि पुगेर घण्टी बजाइन्। छिनमै घरबेटी दिदी ढोकामा आइन्। ‘ए तिमी, भाडा लिएर आयौ ?’ उनले हाँस्दै हात अगाडि बढाइन्।
‘हजुरहरूलाई पैसा नभएर गाह्रो भएको थाहा थिएन, हाम्रो त चलिराखेको छ’ भन्दै सजनीले उनको हातमा पैसा राखिदिइन्। दिदीले गन्नु त पर्दैन होला नि भन्दै भित्र पसेर ढ्याप्पै ढोका ढप्काइन्। हजारौं भाडा उठ्ने ४ तले घर, ३ ठाउँमा जमिन, लाखौं बैंक ब्यालेन्स भएका घरबेटीको व्यवहारले सजनी सोचमग्न भइन्।