दरबार ‘हादसा’को २० वर्ष
२ जुन २००१। आर्यघाट, पशुपति। बेलुकी ९ बजेतिर। त्यस रात आर्यघाटमा तीनवटा चिता जलाइएका थिए। अर्काे एउटा शव एक छेउमा पर्खिरहेको थियो। घाटमा उनको शवले आफ्नो पालो पर्खिरहेको थियो।
१ जुन २००१। चाबहिल आफन्तकोमा भोज खाएर पत्नीसँग घर फर्किंदै थिएँ। राति ९ः३० को हाराहारीमा हामी नक्सालस्थित नागपोखरी आइपुग्यौं। बाहिर चुक घोप्टेको अन्धकार थियो, एकादुका गाडी, मोटरसाइकलको हेडलाइट पिलपिल हुनेबाहेक खासै चहलपहल थिएन। नागपोखरीबाट नारायणहिटी राजदरबारको अग्लो पर्खाल जडवत् यथावत देखिन्थ्यो। त्यसदिन राजदरबार अन्धकारमय देखिन्थ्यो। त्यो अनपेक्षित अन्धकारले म र पत्नीबीच जिज्ञासाका प्रश्नोत्तर भए। हामी घर पुगेर कोठामा छिरेका मात्र के थियौं ल्यान्डलाइन फोनको घन्टी बज्न थाल्यो ! फोन उठाएँ। चाक्सीबारीबाट आदरणीय दाजु त्रैलोक्यमान सिंहको फोन रहेछ। ‘हेलो भाइ थाहा पायौ ? राजदरबारमा गोली चल्यो रे।’ अहँ दाजु, भर्खर त घर पुगें ! मेरो जवाफ थियो।
राजकुमारी श्रुति, अधिराजकुमार धीरेन्द्रलगायत अन्य राजपरिवार सदस्यहरूलाई गोली लागेका खबरहरू रातभर आई नै रह्यो। महाराजाधिराज वीरेन्द्र र शाही परिवारका सदस्यहरूको नृशंस हत्या भएको त्यो दरबार हत्या काण्ड भएको २० वर्ष बितेछ। दुई दशकको अवधिमा बागमतीमा धेरै पानी बगिसकेको छ।
२ जुन २००१। आर्यघाट, पशुपति। बेलुकी ९ बजेतिर।
त्यस रात आर्यघाटमा तीनवटा चिता जलाइएका थिए। अर्काे एउटा शव एक छेउमा पर्खिरहेको थियो। घाटमा उनको शवले आफ्नो पालो पर्खिरहेको थियो। यी सबै कुरा बोध गराउन पर्खिरहेकी थिइन् वा त्यत्तिकै ! अँ त, उक्त रात यता तीनवटा चिता दनदन्ती जलिरहेका थिए भने उता दूरदराजमा एकएक मिनेटको अन्तरालमा विषण्णतापूर्वक तोप आर्तनाद गरिहेका थिए। आर्यघाटमा महाराजाधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य र राजकुमार निराजनलाई दागबत्ती दिइएको थियो। तीन चिताका लागि मात्र स्थान रहेकाले महाराजाधिराजकी स्नेही छोरी राजकुमारी श्रुतिको शव आदरका साथ एकाछेउमा राखिएको थियो। हजारौं वर्षको नेपालको इतिहासमा एकैसाथमा चार चार शाही लास यसरी घाटमा ल्याइएको देख्न त परै जाओस् कसैले कल्पना समेत गरेका थिएनन्।
अकस्मात परलोक सिधारेका राजा, रानी, राजकुमार र राजकुमारीको अन्तिम एक झलक पाउन सुक्कसुक्क गरिरहेका र विलापिएका महिलाहरू, गालाबाट आँसु झारिरहेका पुरुषहरू, के यस्तो अनर्थ भएको होला भनी स्तब्ध भएका जनसमुदाय भेउ पाउन सडक, बाटोको दायाँबायाँ उभिइरहेका थिए। मलामी पहिरनमा ब्राह्मणहरूले ती शवहरू बोकेर शान्त मर्यादाका साथ पशुपतिको आर्यघाट ल्याएका थिए। परेड बर्दीमा शाही अंगरक्षक, रातो ट्युनिकमा शाही रिसल्ला (घोडचढी सैनिक), नालभुइँतिर फर्काइएको बन्दुक बोकेका अनेक कम्पनी, शाही सुरक्षा गार्ड र नेपाली सेनाको एक टुकडी ब्यान्ड बाजाको अगुवाइका साथा शाही मलामी चलाइएको थियो।
सुक्कसुक्क गरिरहेका महिलाहरूले धूप, अगरबत्ती बालेर र फूल बर्साएर, अक्षता, अबीर अर्पण गरेर पार्थिव शरीरको अन्तिम बिदाइ गरेका थिए। शाही मलामी स्वयम्भूनाथको तलतिरबाट बिस्तारै विष्णुमतीको स्वाहा (शोभा) भगवती, क्षेत्रपाटी र त्यहाँबाट राजदरबार अनि कमलपोखरीबाट चाबहिल हुँदै आर्यघाटसम्म ल्याइपु¥याउँदासम्म हजारौं हजारपटक भगवान्का नाम पुकारेका थिए। हिन्दू धर्मग्रन्थ र नेपाली परम्पराअनुसार अन्तिम रीति सम्पन्न गरेपश्चात र विगुलको अन्तिम विषण्णता धुन बजेपछि सम्मान गार्डले अनगन्ती बन्दुक पड्काएका थिए। सन्न वातावरणबीच निस्तब्धतामा चितालाई दागबत्ती दिइएको थियो। तीन चिता जलिरहेका थिए अर्को शव आफ्नो पालो पर्खिबसेको थियो र दूरदराजमा उदिग्नतामा तोप पड्किरहेको थियो। महाराजाधिराजको प्रत्येक वर्षका लागि एकपटक जम्मा ५६ पटक।
महाराजाधिराज वीरेन्द्रको बारेमा मौसूफ एक भलादमी राजा, दयालु नरेश र अनिच्छुक स्वेच्छाचारी शासक भन्ने जनधारणा रहेको थियो। मुसलधारे वर्षा पन्छाउँदै र अन्धकारलाई चिर्दै व्यग्रताका साथ शाही नेपाली सेनाको सुपर हेलिकप्टर भरभराउँदै पोखराका लागि काठमाडौंको नवमण्डलमा उड्यो। पर्याप्त प्रयास गर्दा पनि पोखरामा अवतरण गर्न नसकेपछि हेलिकप्टर काठमाडौं नै फर्कियो। त्यतिखेर रातको करिब २ बजेको थियो। पोखरामा पर्खिबक्सेका अधिराजकुमार ज्ञानेन्द्रलाई राजमार्गको बाटो शीघ्र काठमाडौं सवारी चलाइयो। सेनाका १६ वटा गाडीको गारदमा चलाइएको मौसूफको सवारी मिर्मिरेमा गजुरीस्थित सैनिक क्याम्पमा आइपुगेको थियो। त्यहाँबाट काठमाडौंको छाउनीस्थित सैनिक क्याम्पसम्म मैसुफको सवारी हेलिकप्टरमा चलाइएको थियो।
२ जुन बिहानको करिब ६ः३० बजेको थियो। छाउनी सैनिक अस्पतालको सघन उपचार कक्षतर्फ जाने क्रममा मौसूफलाई जर्नेलहरू र डाक्टरले विस्मत र भारी स्वरमा सक्दो राम्रोसँग संक्षिप्तमा बिन्ती चढाएका थिए। उहाँले त्यहाँ जुन दृष्य देख्नुभयो त्यसले दह्रो मुटु भएको व्यक्तिको समेत मुटु कमाउन पर्याप्त थियो। उहाँको विस्मित भाव दाजु महाराजाधिराज वीरेन्द्रको मृत अनुहारमा देखिने विस्मित र आश्चर्य भावसँग मेल खान्थ्यो। चेतना शून्य चुप्पीका साथ मौसूफले बडामहारानी ऐश्वर्य, राजकुमार निराजन र राजकुमारी श्रुतिको शवतर्फ हेर्नुभयो। मौसूफको काकाकी छोरी राजकुमारी जयन्ती मृत थिइन्। दिदी शाहजादी शारदाको पति कुमार खड्गविक्रम मृत थिए। मौसूफको कान्छा भाइ अधिराजकुमार धीरेन्द्र अचेत, तर निभ्न लागेको जीवनसँग संघर्ष गरिरहेका थिए।
रानी अधिराजकुमारी कोमल र राजकुमारी श्रुतिका पति कुमार गौरव गम्भीर रूपमा घाइते अवस्थामा थिए। अधिराजकुमारी र कुमार पुनः स्वास्थलाभ हुने प्रबल सम्भावना रहेको जानकारी दिइएको थियो। युवराजाधिराज दीपेन्द्र जीवन समर्थ प्रणाली (भेन्टिलेटर) मा राखिएको भए पनि मृतसरह रहेको जानकारी दिइएको थियो। ॐ शान्ति ! शान्ति ! शान्ति ! गद्दी आरोहणपश्चात तुरुन्तै श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले प्रधानन्यायाधीशको अध्यक्षतामा एउटा जाँचबुझ समिति गठन गरिएको थियो। १ जुन २००१ को बेलुका घटेको दुःखद् घटना बारेको सत्यतथ्य जनसमक्ष ल्याउन आदेश गर्नुभयो। जाँचबुझ समितिले एक साताभित्र प्रतिवेदन बुझायो। अनेक प्रत्यक्षदर्शीहरूको साविती बयानअनुसार त्यस नृशंस हत्याकाण्डको दोषी
युवराजधिराज दीपेन्द्र भएको निष्कर्ष निकालियो। पत्रकार सम्मेलनमा उक्त हत्याकाण्डमा प्रयोग भएका बन्दुकहरू प्रदर्शन गरिएका थिए।
ज्ञानेन्द्रले नेपाली साप्ताहिक खबरपत्रिका पुनर्जागरणलाई एउटा अन्तरवार्ता दिनेक्रममा गणेशमान सिंहको सम्झना गर्नुभएको थियो। ‘...गणेशमानजीले देखाउनु भएको बाटोमा लाग्न सकेको मात्र भए राष्ट्रका कतिपय विसंगती न्युनीकरण हुन सक्थ्यो होला। दाजु महाराजाधिराज वीरेन्द्रको ‘विकासको मूल फुटाउने’ मन्त्रणा र गणेशमानजीले गर्नुभएको ‘आर्थिक क्रान्ति’को आह्वान दुवैको लक्ष्य एउटै थियो...।’ पुनर्जागरण साप्ताहिकमा छापिएको थियो। पाटनको पुल्चोक जाँदाको उकालीमाथि हिमालय होटेलको अघिल्तिर हातमा लठ्ठी र लबेदा आवरणमा बागमती पारी काठमाडौंतर्फ टकटकी हेरिरहेका पण्डित शुक्रराज शास्त्रीको पूर्ण कदको शालिक जो कोहीले सजिलै देख्न सक्छ। उनले त्यहाँबाट गुमेका केही कुरा वा अहिलेसम्म पाउन बाँकी केही खोजिरहेका त छैनन् ?
सिंहद्वारा अंग्रेजीमा लिखित ‘फरएभर इन्कम्प्लिट द स्टोरी अफ नेपाल’ पुस्तकको उपसंहारबाट शिवलाल श्रेष्ठले गरेको नेपाली अनुवाद।