सेयर बजारमा रेकर्ड

सेयर बजारमा रेकर्ड

काठमाडौं : पछिल्ला दिनमा सेयर बजारमा निरन्तर उछाल देखिएको छ। कोरोना जोखिम, लकडाउन र राजनीतिक अन्योलको परवाह नगरी सेयर बजारमा निरन्तर उछाल देखिएको हो। 

पछिल्ला केही समययता हरेक दिनजसो १० अर्बभन्दा बढीको कारोबार भइरहेको छ। नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले कारोबारको भोलुम निकै उत्साहजनक रहेकोले बजार अझ बढ्ने बताए। 

बजेट आएको दोस्रो दिन १७ अर्ब २ करोड कारोबार भएर रेकर्ड कायम गरेको सेयर बजारमा आइतबार १७ अर्ब २७ करोडको कारोबार भयो। नेप्से तीन हजारको बिन्दु नजिक पुगेको छ। आइतबार सेयर बजार करिब ५० अंकले बढेर नेप्से परिसूचक २९०६.४७ बिन्दुमा पुगेको छ। बजार खुलेदेखि नै निकै तेज गतिमा उकालो लागेको बजारमा दिनभर नै उत्साहजनक कारोबार भयो। 

अध्यक्ष रौनियारले कोरोना, लकडाउनका कारण लगानीका अरु क्षेत्र खुम्चिँदै गएकोले लगानीकर्ताहरू पुँजी बजारतिर आकर्षित भइरहेको बताउँछन्। घरमै बसेर कारोबार गर्न सकिने भएकाले सबैको ध्यान पुँजीबजारतर्फ केन्द्रित भएकाले बजार निरन्तर उकालो लागिरहेको छ। 

केही समयअघि हाइड्रोमा झुम्मिएका लगानीकर्ताहरू केही दिनयता बैंकिङ क्षेत्रमा आकर्षित हुन थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीप्रति लगानीकर्ताको आकर्षणले सेयर बजारमा आक्रामक कारोबार भइरहेको छ। विज्ञहरूका अनुसार बैंकिङ क्षेत्रको बुलिस ट्रेन्ड केही दिन कामयै रहनेछ।  

कोभिडको समयमा सबै जना घरमा बसी अनलाइनबाट कारोबार गर्ने भएकाले सेयर बजारमा कोभिडको प्रभाव नपरेको अध्यक्ष रौनियारले बताए। कोभिडले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बिमालगायतको आम्दानीमा कमी भएको छैन । तेस्रो त्रैमासिकमा बैंकको १८ प्रतिशत आम्दानी बढेको  छ। हाइड्रोपावरमा झन् कोभिडले कुनै असर गरेको पाइँदैन। जसका कारण पनि सेयर कारोबार बढ्न सघाउ पुगेको छ। सेयर कारोबार गर्नका लागि ३६ लाखले डिम्याट खाता भरेका छन्। त्यसमध्ये ६ लाखले अनलाइनबाट नियमित कारोबार गरिरहेका छन्। विदेश बस्ने नेपालीहरूले पनि लगानी गरिरहेकाले पछिल्लो समयमा निरन्तर सेयर बजार माथि गइरहेको लगानीकर्ता बताउँछन्।

गृहणी, विद्यार्थीले समेत डिम्याट खोली आईपीओ भर्ने र विस्तारै सेकेन्डरी मार्केटमा जाने गरेकाले पनि पछिल्लो समयमा सेयर बजारमा कारोबार बढ्दै गएको छ। बैंकमा पर्याप्त तरलता हुनुका साथै रेमिट्यान्स प्रवाहसमेत बढेकाले सेयर कारोबार बढ्न सघाउ पुगेको विज्ञहरू बताउँछन्। 

चौथो त्रैमासिकमा नाफा बढ्ने देखिएकाले बढी बोनस पाउने आशामा लगानीकर्ता हौसिएका छन्। सेयर किन्दा ९ महिनाको ब्याज तिरेको हुन्छ। एक क्वाटरको ब्याज तिरे १ वर्षको बोनस पाइने भएकाले पछिल्लो समयमा सेयर बजार कारोबार गर्ने बढेको विश्लेषक बताउँछन्। 

पुँजी लाभकर ५ प्रतिशत बनाइनुका साथै कमिसन पनि घटाइएकाले सेयर बजार बढ्नमा थप मद्दत पुगेको अध्यक्ष रौनियारले बताए। सेयर बजारको कारोबार बढ्दै जाँदा कमिसन अझै घटाउनुपर्ने आवाज उठ्न थालेको छ। आइतबार मात्रै लगानीकर्ताले १२ करोड बढी कमिसनमात्रै तिरेका छन्। लगानीकर्ताबाट सेबोन, नेप्से, सीडीएससी र ब्रोकरले कमिसन पाउँछन्। 

लगानीकर्ताले ५० हजारसम्मको कारोबारमा ०.४०२, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३६८५, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत कमिसन तिर्नु पर्ने व्यवस्था छ। करोडभन्दा माथिको कारोबारमा ०.२६८ प्रतिशत कमिसन तिर्नुपर्छ। पछिल्लो समयमा कमिसन घटाएर सहज बनाइए पनि लगानीकर्ताले सेवासुविधा पाउन सकेका छैनन्। यसका साथै अझै कमिसन घटाउनुपर्ने बताउन थालेका छन्। 

अहिले पुँजी बजार ३९ खर्बको छ।  यो बजेटको अढाइ गुणा बढी हो। जीडीपी ४५ खर्बको छ। पुँजी बजार त्यसको हाराहारीमा पुग्न थालेको छ। पुँजीबजारको आकार बढे पनि सेयरको मूल्य भने बढ्न नसके पनि पछिल्लो समयमा बढ्ने संकेत देखिन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.