आनन्द कहाँ छ त ?
एक युवक दीक्षा लिन सद्गुरु बौद्घ भिक्षुकोमा गए। बौद्घ भिक्षु एउटा बुद्घ मन्दिरमा बस्नुहुन्थ्यो। जब युवक छेउमा आए तब भिक्षुले सोध्नुभयो– पहिले कतै केही सिकेका छौ ? हजुर पहिले मैले एक योगीसँग सिकेको छु। के सिकेका छौ ? युवक झट्पट पलेटी कसेर पदमासनमा बसे, आँखा बन्द गरे। दुई मिनेटसम्म भिक्षुले हेर्नु भयो र भन्नुभयो– आँखा खोल र आफ्नो बाटो जाऊ।
युवकले भने– आफ्नो बाटो जाऊ ? म त हजुरको शरणमा शिष्य हुन आएको हुँ। गुरुले भन्नुभयो– पत्थरको मूर्ति यस मन्दिरमा धेरै छन्। हामीलाई अरू जरुरत छैन। यिनलाई नै सफा सुग्घर बनाउँदा र सम्हाल्दैमा झन्झट भइरहेछ। तिमी पदमासन लगाएर बसे पनि तिम्रोभित्र बजारको भिड छ। पदमासन लगाएर मात्र के हुन्छ ? शीर्षासन नै लगाए पनि के हुन्छ ? भित्रबाट बजार बन्द हुनुपर्छ। त्यही एकमात्र वास्तविक आसन हो। शरीरको आसनमा नउल्झ।
एउटा आनन्द (रति) छ मनुष्यमा– स्त्री र पुरुषको। क्षणभरका लागि सुख मिल्छ अर्थात् मिले जस्तो आभाष हुन्छ। अर्को आनन्द (रति) तिम्रो चेतनामा, मूल स्रोतमा छ जब तिमी आफैंभित्र हेर्न सक्छौ। जब आफैंलाई भेट्छौ त्यो क्षण महाआनन्दको हुनेछ।
सन्तवाणी सुन्यौं या उनीहरूका लेखहरू पढ्यौ भने थाहा लाग्छ– महामारीको अवस्था नहुँदा पनि त मानिसको मन, विचार र सोचाइ त उस्तै रहेछ। अहिले परिस्थिति प्रतिकूल भएर एक्कासि आत्तिनु र तनावमा जानुको सट्टा आफ्नो जीवनशैलीलाई फर्केर हेर त ! वर्तमानमा श्वासको महŒवलाई बुझ त ! एस धम्मो सनंतनो–११५ मा ओशोले व्याख्या गर्नुभएको प्रसंग वर्तमान कोरोना कहरमा आफू भित्र कसरी हेर्ने त त्यो थाहा पाउन मद्घत मिल्ने रहेछ। बुद्घले आफ्ना भिक्षुलाई सूत्र बताउनु भएको थियो– ‘शून्य गृहमा प्रवेश गर्ने शान्त चित्त भिक्षु विपस्यनालाई धर्म सम्झँदै साधना गरेमा अमानुषी रति (अलौकिक आनन्द) प्राप्त हुनेछ।’
जो व्यक्ति शून्यमा स्थिर हुन्छ, जो आफू भित्रबाट निर्विचार हुन्छ, जसको भित्र विचार या तरंग नै उठ्दैन, शून्य अर्थात् निर्विचार, उही शान्त चित्त हो। साधारणतया जो देखिँदा शान्त चित्त देखिन्छ ऊ सतहबाट शान्त प्रतीत हुन्छ, भित्रबाट शान्त हुँदैन। किनकि भित्रबाट विचारका बबण्डरहरू चलिरहेका हुन्छन्। चुप रहेर मात्र कोही शान्त हुन सक्दैन। नबोलेर कोही शान्त हुन सक्दैन। विचार शून्यताले मात्र शान्त हुन्छ। तिमी बाहिरबाट बिल्कुल पत्थरको मूर्ति जस्तै बन्न सक्छौ तर भित्रबाट विचार चलिरहेको छ भने पत्थरको मूर्ति जस्तै बनेर केही हुनेवाला छैन। असली सवाल मनको हो। मनमा शून्यता हुनुपर्छ तब न शान्त चित्त हुन सक्छ कोही। जो शान्त चित्त हुन्छ उही धर्मको विपस्यना गर्न सक्छ।
विपस्यनाको अर्थ हो फर्केर हेर्नु। पतन्जलीले आफ्नो शास्त्रमा प्रत्याहार– पछि फर्केर हेर्नु भन्नु हुन्छ जसलाई महावीरले प्रतिक्रमण भन्नुहुन्छ अर्थात् बाहिर जानु, दोस्रोलाई हमला गर्नु। जसलाई जिससले वापसी भन्नुहुन्छ। त्यसलाई नै बुद्घले विपस्यना भन्नुहुन्छ। विपस्यनाको अर्थ हो फर्केर आफ्नो स्रोतलाई हेर्नु। जब विचारको जालो हट्छ तब सामुन्ने शून्यता रहन्छ अनि तिमी पछाडि फर्केर हेर्न सक्छौ। अन्यथा विचारले तिमीलाई छोड्दैन, तिमी फर्केर हेर्नै सक्दैनौ। विचारको उल्झावको कारण तिमी आफ्नो मूल स्रोतलाई देख्नबाट वञ्चित हुनेछौ। जसले मूल स्रोतलाई देख्न सक्छ उसले अमानुषी रति (अलौकिक आनन्द) प्राप्त गर्दछ। बुद्घको यो अदभूत वचन छ। ऊ यस्तो संभोगमा उपलब्ध हुनेछ जुन मनुष्यता भन्दा पर छ। जसलाई मैले संभोग से समाधिकी ओर भनें, त्यसलाई बुद्घले अमानुषी रति भन्नुहुन्छ।
एउटा आनन्द (रति) छ मनुष्यमा– स्त्री र पुरुषको। क्षणभरका लागि सुख मिल्छ अर्थात् मिले जस्तो आभाष हुन्छ। अर्को आनन्द (रति) तिम्रो चेतनामा, मूल स्रोतमा छ जब तिमी आफैंभित्र हेर्न सक्छौ। आफूले आफैंलाई देख्न सक्ने हुन्छौ। जब आफैंलाई भेट्छौ त्यो क्षण महाआनन्दको हुनेछ। त्यही हो समाधि। संभोगमा समाधिको झलक मिल्छ, समाधिमा संभोगको पूर्णता छ।
श्वास–प्रश्वासलाई होसपूर्वक हेर्दा के हुन्छ ?
स्वभावतः जब तिमी मेरो नजिक आउँछौ तिमीलाई हैरान लाग्छ होला किनकि मैले भन्ने गरेको छु परमात्मा एक क्षणमै भेटिन सक्नुहुन्छ। किनकि परमात्मा भोलि भेटिनुहुन्छ, यो त फजुलको कुरा हो। परमात्मा त सधैं आज नै हुनुहुन्छ। भोलि त परमात्माका लागि नै होइन। भोलि त हाम्रो लागि हो। परमात्माको लागि त आजको नै अस्तित्व छ, भोलिको कुनै अस्तित्व छैन। तिमी भोलि परमात्मालाई भेट्न चाहन्छौ तर उहाँको लागि भोलिको कुनै अस्तित्व छैन त कसरी मिल्छौ ? परमात्मा अहिले नै हुनुहुन्छ। आकाशबाट वर्षिरहेको वर्षातमा, वृक्षको हरियालीमा, सन्नाटामा, हिउँमा, तिम्रो उपस्थितिमा, मेरो उपस्थितिमा, मैले बोल्दा, तिमीले सुन्दा, हाम्रो हृदयको धड्कनमा, हाम्रो श्वासमा उही परमात्मा हुनुहुन्छ। भोलिको कुरा किन ? परमात्मा कति टाढा छ र उसलाई भेट्नका निम्ति दौडनु छ ? परमात्मा त नजिक भन्दा नजिक हाम्रो साथमा हुनुहुन्छ। परमात्मा त्यो साक्षी हो जसले हाम्रो हृदय धड्केको देख्दछ। परमात्मा हाम्रो श्वासभन्दा पनि नजिक हुनुहुन्छ किनकि परमात्मा त्यो साक्षी हो जसले श्वासभित्र जाँदै गरेको र बाहिर आउँदै गरेको देख्दछ।
त्यसैले त बुद्घले विपस्यना ध्यानको आविष्कार गर्नुभयो। आफ्नो श्वासलाई हेरिरहूँ, बस यही प्रक्रिया दिनुभयो जगत्लाई। बुद्घको सबै सार विपस्यना नै हो। विपस्यनाको अर्थ श्वासलाई हेर्नु, प्रश्वासलाई हेर्नु। श्वास भित्र आयो, श्वास बाहिर गयो त्यो हेर्नु। सिर्फ हेर्ने, केही गर्नु छैन। न राम–राम जप्नु छ, न ओमकार न त गायत्री र नमोकार न केही। सिर्फ श्वास भित्र आयो, बाहिर गयो होसपूर्ण हेर्ने, साक्षीपूर्वक। तिमीलाई सहज तरिकाले श्वास भित्र आएको, बाहिर गएको होसपूर्ण रूपमा थाहा हुन्छ, यो पहिलो चरण हो।
दोस्रो चरणमा गहिराईबाट हेर्न थाल्यौं भने श्वास भित्र आउँदा एकछिन रोकावट पाउँछौं भने श्वास बाहिर जाँदा पनि एकछिन खाली पाउँछौं। श्वास भित्र आउँदा र बाहिर जाँदाको बिचको एक पल, रोकावट, यही क्षणमा, यही झपकमा द्वार खुल्छ। यही पलमा साक्षीको अनुभूति हुन्छ। श्वास पनि देख्नका लागि बच्दैन अब देख्नेवाला बिचमा आउँछ, देख्नेवाला एक्लै हुन्छ। जब देख्ने कुरा केही हुँदैन देख्नेवालाले स्वयंलाई देख्छ। सबै विषय वस्तु र दृष्टि विलीन भएर जान्छ। केवल द्रष्टा बाँकी रहन्छ। द्रष्टा, स्वयं हुनुको बोध बाँकी रहन्छ। यही अनुभूतिको नाम नै परमात्मा हो।