प्रदेश २: माधव पक्षसहित कांग्रेस र जसपाको संयुक्त सरकार बनाउने कसरत
जनकपुरधाम: प्रदेश २ मा जनता समाजवादी पार्टीले सरकार बनाउन माधव नेपाल पक्ष सहित नेपाली कांग्रेस र माओवादीसँग छलफल थालेको छ ।
सोमबार बिहानैदेखि नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको छलफलमा माधव पक्षलाई समेत सरकारमा सहभागी गराउन छलफल भइरहेको हो ।
जनता समाजवादी पार्टीका महन्त–राजेन्द्र पक्ष संघीय सरकारका सहभागी भएसँगै बिबादमा फसेको हो । जसपाले प्रदेश २ मा आइतबार साँझ १ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त गरेसँगै कांग्रेस र माओवादी सहित माधव पक्षलाई सरकारमा ल्याउन कसरत सुरु गरेको जसपाका नेता एवं राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।
‘संसद विघटनअघि संघीय सरकारमा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव पक्ष सहित सरकार बनाउने योजना छ । हामीले कांग्रेस र माओवादी सहितसँगको छलफलमा तिब्रता दिएका छौँ, बाँकी कुरा टुङ्गिन बाँकी छ, तर सरकारमा तीनै दल जाने कुरामा सहमति भैसकेको छ’ नेता यादवले भने ।
माधव पक्षलाई सरकारमा सहभागी गराउन केही कानूनी व्यवधान भए पनि विकल्पको बाटोको खोजी हुँदैछ, सकभर सबैलाई समेटेर लग्ने प्रयास भइरहेको भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले सरकारमा सहभागी हुनेबारे छलफल भैरहेको भए पनि टुङ्गो नलागेको बताए । उनले भने, ‘सरकारमा सहभागी हुने कुरा छ, तर अझै केही विषयवस्तुहरु बाँकी छन्, छलफल चल्दैछ छिट्टै टुङ्गो लाग्छ ।’
प्रदेशसभा बैठकमा अनुपस्थित
जनता समाजवादी पार्टी नेपालको ठाकुर–महतो पक्षले प्रदेश सांसदहरुले बजेट अधिवेशनको पहिलो प्रदेशसभा बैठक बहिष्कार गर्ने भएका छन् । सोमबार बिहान बसेको ठाकुर पक्षका सांसदहरुको बैठकले छैठौँ अधिवेशनको पहिलो बैठकमा सहभागी नहुने निर्णय गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दै प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको एक नेताले जानकारी दिए ।
बैठकमा ठाकुर पक्षका १५ जना प्रदेशसभा सदस्यहरु उपस्थित रहेको सांसद परमेश्वर साहले बताए । उनका अनुसार ठाकुर पक्षलाई समर्थन गर्ने ५ जना सांसद विशेष कामले काठमाडौँमा रहेकाले उनीहरु बैठकमा सहभागी हुन सकेनन् ।
प्रदेश २ मा ठाकुर पक्षका मन्त्री तथा राज्यमन्त्रीलाई हटाउनुअघि जसपा उपेन्द्र यादव पक्षधर ३० र ठाकुर–महतो निकट ६ गरी कूल ३६ सांसदको हस्ताक्षर सहित आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिएको थियो ।
सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेट पास गर्न पार्टीले ह्वीप जारी गर्ने र विधान विपरीत कार्य गर्नेलाई कारबाही गर्ने उपेन्द्र यादव पक्षको रणनीति योजना छ ।