प्रदेश २ : कांग्रेस र माओवादी केन्द्र रिझाउन समाजवादीको कसरत
जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षधरले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सत्ता साझेदारी गर्न छलफल तीव्र बनाएको छ। सोमबार बिहानैदेखि समाजवादी पार्टीको नेताहरुले आफू नेतृत्वको सरकार बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफलमा तीव्रता दिएको हो।
जसपा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महत्तो पक्षका नेताहरु संघीय सरकारमा सहभागिता जनाएपछि त्यसको प्रभाव प्रत्यक्ष प्रदेश २ मा देखिएको हो। योसँगै प्रदेशमा सत्ता साझेदार दल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी फूटतर्फ अगाडि बढेको हो।
जसपाले प्रदेश २ मा आइतबार साँझ १ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त गरेसँगै कांग्रेस र माओवादीसहित माधव पक्षलाई सरकारमा ल्याउन कसरत सुरु भएको जसपाका नेता एवं राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए। ‘संसद विघटन अघि संघीय सरकारमा प्रतिपक्षीको भुमिका निर्वाह गरिरहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव पक्षसहित सरकार बनाउने योजना छ। हामीले कांग्रेस र माओवादी सहितसँगको छलफलमा तीव्रता दिएका छौं, बाँकी कुरा टुङ्गिन बाँकी छ, तर सरकारमा तीनै दल जाने कुरामा सहमती भइसकेको छ’ नेता यादवले भने। माधव पक्षलाई सरकारमा सहभागी गराउन केही कानूनी व्यवधान छ तर पनि विकल्पको बाटोको खोजी हुँदैछ, सकभर सबैलाई समेटेर लग्ने प्रयास भइरहेको भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिए।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले सरकारमा सहभागी हुनेबारे छलफल भइरहेको भएपनि टुङ्गो नलागेको बताए। उनले भने, ‘सरकारमा सहभागी हुने कुरा छ, तर अझै केही विषयवस्तुहरु बाँकी छ, सरकारमा जाने सैद्धान्तिक सहमति भएपनि प्राविधिक कुराहरु बाँकी छ, छलफल निरन्तर चल्दैछ छिट्टै टुङ्गो लाग्छ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले सरकारमा जाने भनिएपनि बाहिर आएजस्तो सहमती नभएको स्पष्ट पारे। ‘ हामीले पहिलो मुख्यमन्त्रीमा दाबी गरिरहेका छौं, दोस्रो विकल्प खोज्छौं, तर सरकारमा सहभागी हुन हाम्रो बटमलाइन मुख्यमन्त्री अन्यथा प्रमुख मन्त्रालय हो, सरकार बनाउने कुरामा सहमत छौं तर सरकारमा गएर पनि चाहे अनुरुप नभएर बाहिरबाटै समर्थन गछौं।’
प्रदेश २ मा ठाकुर पक्षका मन्त्री तथा राज्यमन्त्रीलाई हटाउनु अघि जसपा उपेन्द्र यादव पक्षधर ३० र ठाकुर–महतो निकट ६ गरी कूल ३६ सांसदको हस्ताक्षरसहित आइतबार मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिएको थियो। सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेट पास गर्न पार्टीले ह्वीप जारी गर्ने र विधान विपरीत कार्य गर्नेलाई कारबाही गर्ने उपेन्द्र यादव पक्षको रणनीति योजना छ। तर हालसम्म कुनैपनि बैठक निष्कर्षमा पुग्न सकेको छैन्।
वार्ताका लागि सरकार पक्षबाट भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योगा वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय छन्। यस्तै कांग्रेसको तर्फबाट दलका सचेतक उपेन्द्र कुशवाहा, शिवचन्द्र चौधरी र वीरेन्द्र साह सहमतिको जिम्मेवारी दिइएको छ।
प्रदेश २ मा १०७ प्रदेशसभा सदस्यमध्ये तीन जनालाई माओवादी केन्द्रले कारवाही गरेको छ। जसमा अब १०४ कूल सदस्य संख्यामध्ये ३६ उपेन्द्र यादवको पक्षमा खुलेर लागेका छन् भने थप चार जना समर्थनको लागि तयार अवस्थामा रहेको श्रोतको दाबी छ। नेपाली कांग्रेससँग १९ र माओवादी केन्द्रसँग ८ सांसद रहेका छन्।