बाजुरामा बेड नहुँदा खुला आकाशमुनि कोरोना संक्रमितको उपचार
बाजुराः बाजुराका ९ वटै स्थानीय तहका गाउँहरुमा कोरोना भाइरस तिब्र रुपमा फैलिएपछि परीक्षण र उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
गाउँमा कोभिड १९ का बिरामी बढेपछि स्थानीय स्वास्थ्य चौकीमा उपचारमा समस्या भइरहेको छ । गौमुल गाउँपालिका २ मा रहेको दहकोट स्वास्थ्यचौकीमा बेड नहुँदा कोभिड १९ संक्रमित बिरामीलाई खुला आकाशमुनि स्ट्रेचरमा राखेर उपचार गराइएको छ ।
स्वास्थ्य चौकीको कार्यक्षेत्रमा १८ जना संक्रमित रहेका छन् । सबै जना होम आइसोलेसनमा बसिरहेका छन् । केहीको अवस्था गम्भीर भएर स्वास्थ्यचौकी आउने गरेको स्वास्थ्यचौकीका ईन्चार्ज धर्म खत्रीले बताए ।
अक्सिजन दिनुपर्ने तथा अन्य जटिल अवस्था भएपछि गाउँपालिकामा रहेको कोभिड अस्पतालमा पठाउने गरेको खत्रीले बताए ।
स्वास्थ्यचौकीमा भौतिक पूर्वाधार अभाव र बेड नहुँदा भुइँमै खुला आकाशमुनि राखेर बिरामीको उपचार गर्ने गरेको उनले बताए । अफ्ठेरो भए मात्र अन्यत्र पठाउने गरेको उनी बताउँछन् । नत्र स्ट्रेचरमै राखेर उपचार गर्ने गरेको उनको भनाइ छ ।
गाउँमा कोरोनाको लक्षणसँग मिल्दाजुल्दा धेरै बिरामी भए पनि चेकजाँच गर्न नमान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । पालिकाले स्थापना गरेका कोभिड १९ अस्पतालमा पुग्न दुर्गम गाउँबाट दुई दिनसम्म लाग्ने गरेको गाउँलेहरुको गुनासो छ ।
बाजुरा जिल्लामा कोभिडका १९ का कारण १२ जनाको मृत्यु भएको छ । दुई जना हिमालीगाउँपालिका र १ जना जगन्नाथ गाउँपालिका घरमै बसेका संक्रिमितको मृत्यु भएको हो ।
हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार दुर्गम गाउँपालिकामा समेत कोरोनाले मृत्यु भइरहेको छ । बाजुराका सबै गाउँमा कोरोना महामारी फैलिएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।
बैशाख १५ गतेबाट बाजुरामा १ हजार ७ सय २१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा मंगलबारसम्म बाजुरामा ६ सय ७९ जना संक्रमित देखा परेका छन् । यद्यपि गाउँमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका धेरै बिरामी छन् ।
बिरामी धेरै भए पनि चेकजाँच गर्न भने डराउने गरेको पाइएको छ । जिल्लाभरी कोरोनाका जस्तो लक्षण भएका बिरामी गाउँगाउँमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ। खप्तड छेडेदह गाउँपालिका १ बस्ने धन रोकायाका अनुसार गाउँमा बिरामी धेरै छन्, केही गाउँलेलाई त ज्वरो १ हप्तासम्म पनि सञ्चो भएको छैन ।