सजग बनौं
विश्व अर्थतन्त्रलाई गम्भीर असर पुर्याएको कोरोना महामारी नियन्त्रण गर्न पहिलो चरणबाट पाठ सिकेर धेरै देश सचेत बने। चीनको वुहान प्रान्तबाट सुरु भएको यो भाइरस चीनमा नियन्त्रणमा आयो। इटाली चरम चपेटामा पर्यो। युरोप, अमेरिका र मध्यपूर्वमा तीव्र दरले फैलियो र पहिलो चरण केही साम्य भयो। तर, पुनः भारत हुँदै फैलिएको दोस्रो भेरियन्टको असर र क्षति अहिले नेपालले पनि भोगिरहेको छ।
खुल्ला सिमाना र भारतमा सहजै आवत–जावत हुनाले त्यहाँ फैलिएको केही समयमै नेपाललाई संक्रमणले पूरै ढाक्यो। दोस्रो भेरियन्टको असरले संक्रमितसँगै ज्यान गुमाउनेको संख्या उच्च हुँदा यसलाई नियन्त्रण गर्ने एउटै प्रमुख विकल्प निषेधाज्ञा बन्यो। अहिले पनि देशका अधिकांस जिल्लामा निषेधाज्ञा छ। मानिसको जमघट, भेला र भिडभाड घटाउन निषेधाज्ञा गरिएको हो। अनिवार्य मास्कसहित स्वास्थ्य मापदण्ड पनि सरकारकाले तोक्यो र पालना गर्न निर्देशन दियो। यो सबै नागरिकको स्वास्थ्यका लागि सरकारले संक्रमण र मृत्युदर घटाउन अपनाएको विकल्प हो।
कोरोनाको दोस्रो भेरियन्टको असर चाँडो हुने हुँदा लक्षणसहितका बिरामीले अस्पताल ढाक्यो। केही दिन अघिसम्म अस्पलातमा बेड पाउनै मुस्किल थियो, अक्सिजन र केही औषधिको हाहाकारसमेत भयो। अहिले यो अवस्थामा सुधार आएको छ। सरकारले अक्सिजनको व्यवस्था सहज बनाउँदै लग्यो। अस्पतालको सुधार भयो र निषेधाज्ञाले संक्रमित हुने दर पनि घटायो। अब अवस्था केही सामान्य भएको महसुस नागरिकले पनि गर्न थालेका छन्। जिल्लाहरूमा लगाइएको निषेधाज्ञा क्रमशः खुकुलो पार्दै लगिएको छ। बजार पसल निश्चित समय खुल्न थालेका छन्। यो आवश्यकता पनि हो।
निषेधाज्ञाले घरमै बसेका नागरिक क्रमशः किनमेलका लागि बाहिर निस्कन थालेका छन्। यसै समयमा पुनः सडकमा भिडभाड र जाम हुन सुरु भएको छ, निषेधाज्ञाको उल्लंघन भएका समाचार पनि आउन थालेका छन्। स्वास्थ्य मापदण्ड नअपनाई, कामैबिना पनि बाहिर निस्कनेको संख्या बढेको प्रहरीको कारबाहीको तथ्यांकले देखाउँछ। कामबिना पनि बाहिर निस्कने कारबाहीमा पर्दैछन्। ‘तपाईँको मास्क खोई ?’ जस्ता अभियान चलाउनु र निषेधाज्ञा उल्लंघनका घटनाले नागरिक अझै पनि आफ्नो स्वास्थ्यका लागि सजक नभएको देखिन्छ। यो दुःखद् पक्ष हो।
पहिलो चरणमा फैलिएको कोरोना महामारीले नै हामीलाई कसरी सुरक्षित हुने भन्ने पाठ पढाएको छ। अत्यावश्यक भएर घरबाहिर निस्कँदा मास्क र स्यानीटाइजरको प्रयोगसँगै सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने कुरा सामान्य नागरिकलाई समेत जानकारी छ। भाइरसको सर्ने तरिका पनि परिवर्तन भएको छैन तर आफ्नै लापरबाहीले हामी आफैं असुरक्षित भइरहेका छौं। संक्रमण आफ्नै कारणले सर्छ, फैलन्छ र संक्रमित भइन्छ। स्वास्थ्य आफ्नै हो, अनि उपचार पनि आफैंले गर्नुपर्छ। लापरबाही गरे परिवार, समाज र राष्ट्रलाई पनि क्षति पुग्छ, आर्थिक संकटसँगै ज्यानै जान्छ भन्ने मात्रै सोचेर सचेत भए निषेधाज्ञा र लकडाउनको आवश्यकता नै पर्ने थिएन। तर सचेत नबन्दा निषेधाज्ञाको समय सरकारले थप्नु परेको छ।
सरकारले ६ टीको रणनीति अनुसार कोरोना भाइरसको परीक्षण (टेष्टिङ) उपचार (ट्रिटमेन्ट) सँगै खोप दिनुपर्छ र यो पाउनु नागरिकको अधिकार हो। आफ्ना नागरिकको अधिकतम हित र रक्षा गर्नु नै सरकारको पनि पहिलो कर्तव्य हो। त्यो दायित्व सरकारले पूरा गर्दैछ। खोप अभियान पुनः सुरु भएको छ। यो नागरिकको माग थियो। सरकारले संकटका समयमा परीक्षण, उपचार र खोप दिएर आफ्नो कर्तव्य पूरा गर्दै गर्दा हामी नागरिकले पनि आफ्नो कर्तव्य नभुलौं। कोरोना फैलाउने र रोक्ने भनेकै हामी आफैंले हो।
हामी स्वास्थ्यका विषयमा अनुशासित भए सरकारले ‘डन्ठा’ लगाएर घरभित्र ‘कोच्ने’ दिन अब आउँदैन। नागरिक आफैं सचेत बनेर अब क्रमशः निषेधाज्ञा खोल्दै अवस्थालाई सामान्य बनाउनु पर्छ। स्वास्थ्यका विषयमा सजक बने पहिले खुल्ला आकासमुनि घुमेका र रमाएका जस्ता दिन पुनः फर्काउन सकिन्छ। कोरोना भाइरसजस्ता महामारी सकिने नभई परिवर्तित रूपमा आउने भएकाले सधैं सजग बनौं। पुनः निषेधाज्ञा र लकडाउन गर्ने अवस्था अब नआओस्।