भक्तपुरका ५ हजार ३०७ जनाले लगाए भेरोसेल खोप
भक्तपुर : भक्तपुरका ६० देखि ६४ वर्ष उमेर समूहका ५ हजार ३०७ जनाले कोरोना भाइरसविरुद्धको खोप लिएका छन् । मंगलबार र बुधबार दुईदिनसम्म चल्ने खोप कार्यक्रमको पहिलो दिन उक्त संख्याले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार पहिलो दिन २ हजार ६९७ जना महिला र २ हजार ६१० जना पुरुष गरी ५ हजार ३०७ जनाले खोप लगाएका हुन् । कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४ नपामध्ये मध्यपुर थिमि नपाका एक हजार ८०४ जना, सूर्यविनायक नपाका एकहजार ५४६ जना, भक्तपुर नपाका एकहजार ७३ जना र चाँगुनारायणका ८८४ जनाले खोप लगाएको जानकारी दिए ।
दुईदिने खोप कार्यक्रममा भक्तपुरका ६० देखि ६४ वर्ष उमेरका १० हजार ५९५ जनालाई खोप दिने लक्ष्य रहेको उनले बताए । जसअनुसार बुधबार दोस्रो दिन ५ हजार २८८ जनालाई खोप दिइने उनको भनाइ छ ।
उनका अनुसार भक्तपुरमा मध्यपुर थिमि नपाका २ हजार ९१९ जना, भक्तपुर नपाका २ हजार ९०२ जना, सूर्यविनायक नपाका २ हजार ७४७ जना र चाँगुनारायण नपाका २ हजार २७ जना ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप दिने लक्ष्य रहेको छ ।भक्तपुरमा ४ नपाका ३८ वटा वडामा खोप केन्द्र निर्धारण गरिएको छ ।
यसअघि भक्तपुरका १८ वर्षमाथिका ४८ हजार २२ जनाले चीन सरकारबाट सहयोगस्वरुप नै प्राप्त भेरोसेल खोपको पूरा मात्रा लिइसकेका छन् । जसमा भक्तपुर नपाले १६ हजार ११८, सूर्यविनायकले १२ हजार ४५०, मध्यपुर थिमिले ११ हजार ३१५ र चाँगुनारायण नपाले ८ हजार १३९ जनालाई भेरोसेल खोपको पूरा मात्रा दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख मिजारले भक्तपुरबाट कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारी गरी ५ हजार ५७५ जनाले कोभिशिल्ड खोपको पूरा मात्रा लगाइसकेका बताए ।तर कोभिशिल्ड खोपकै पहिलो मात्रा लिएका ७४ वर्ष माथिका ५ हजार ८२७ भक्तपुरवासीले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।