कहाँ अलमलिँदै छ वैकल्पिक शक्ति ?

कहाँ अलमलिँदै छ वैकल्पिक शक्ति ?

नेपालमा दोस्रो जन–आन्दोलन र त्यसको उभारमा माओवादीले पाएको जनसमर्थनको उलार तुहिन एक दशक पनि लागेन। सत्ताको मात, अर्ध–विजयलाई आफ्नो तिलिस्मी प्रभाव र एक्काइसौं शताब्दीको जादुगरी ठान्ने भ्रम प्रचण्डले गरे । सत्ता कब्जाको मोडलमा आक्रामक भएर जाँदा उनले यो बिर्सिए कि कुनै पनि तागतलाई पूर्ण निमिट्यान्न पार्न सम्भव छैन र शक्ति सन्तुलनमा केही समय माथि पर्दैमा ईश्वरीय शक्ति प्राप्त हुँदैन। उठानपछि अवतरण हुन नपाएर क्र्यास ल्यान्डिङ हुन पुगेको माओवादी उलारपछि संक्रमणकालको एक दशकमा मुलुक अटो पाइलट मोडमा चल्यो।

नैतिकताको पतन, जनाकांक्षाको निरादर र सत्ताको लुँछाचुँडीको जग–हँसाई हाम्रो राजनीतिको पहिचान बन्यो। यो अवस्थाले ल्याएको वितृष्णाले नयाँ बहस नेपाली राजनीतिक चिन्तनमा स्थापित गर्यो– वैकल्पिक शक्ति। यो नयाँ प्रयत्न धेरैले सत्ताको उद्यम गर्ने एउटा नयाँ बाटोको रूपमा लिए। माओवादी युद्धलाई विचारको आगो दिएका भनिएका तर पनि प्रचण्डको चतुर्‍याइँपूर्ण खेलले गर्दा सधैं दोस्रो दर्जामा रहेका डा. बाबुराम भट्टराईलाई पनि यो आफ्नो औचित्य सिद्ध गर्ने बाटो बन्ने सम्भावना महसुस भयो। र, नयाँ शक्तिको जन्म भयो र त्यसमा धेरै नै नाम चलेका अनुहारहरू जोडिए। तर, केही समयमा नै यो सिद्ध भयो कि नयाँ शक्तिका अगुवा बाबुराम भट्टराईमा वैकल्पिक शक्तिको जग हालेर संस्थागत विकासका लागि पर्खने धैर्य थिएन। नयाँ शक्तिमा सुरु मै सामेल भएर विरक्तिएर निस्किएका एकजना प्रख्यात व्यक्तिका अनुसार– बाबुराम भट्टराई आफ्नो निकट घेरा र परिवारको जकडमा रहने एउटा दस्ता मात्र बनाउने व्यवहार गरिरहे, भलै बाहिर सुनाउने कुरामा समावेशिता तथा एक्काइसौं शताब्दी सुहाउँदो विचारका कुरा गर्न यिनले छोडेनन्। सुस्त–सुस्त उनका पछाडि लामबद्ध धेरै नेताहरूले छोडेर गए र बाबुराम भट्टराईले जातीयताको राजनीतिलाई मूल आधार बनाएको शक्तिमा लगेर नयाँ शक्तिलाई विलय गराए। एउटा वैकल्पिक भनिएको शक्तिको अवसान त्यहाँ आएर भयो। 

तर, त्यही गन्जागोलको समयमा केही नपत्याइँदा युवाहरू अभियान, आन्दोलन हुँदै पार्टीका रूपमा संगठित हुँदै थिए। सहरी पृष्ठभूमिका शिक्षित युवाहरूले सञ्चालन गरेको यो समूहले आफ्नै परिपाटी निर्माण गर्दै थियो र हाम्रो पारम्परिक राजनीतिक दलहरूले लिएको बाटोभन्दा फरक शैली स्थापित गर्न उदाहरण प्रस्तुत गरेको थियो। अध्ययन, मनन, चिन्तन र चरित्रलाई नेतृत्वको आधार बनाउन पर्छ भन्ने मूल आशयमा टिकेर जम्दै गएको यो सानो समूहले आफ्नै एउटा स्वरूप सुस्त–सुस्त लिँदै थियो। डा. गोविन्द केसीको पटक–पटकको सत्याग्रहमा समर्थन होस् वा आफ्नै तर्फबाट गरिएको विभिन्न अभियान– स्व. उज्वल थापाले सुरु गरेको विवेकशील नेपाली दलले आकार ग्रहण गर्दै गयो। बाहिरबाट हेर्ने धेरैलाई यो केटाकेटीको भाँडाकुटी जस्तो लागेको भए पनि इमान, पद्धति र न्यायमा विश्वास गर्ने यो राजनीतिक उद्यमले कति जरो गाडेको रहेछ भन्ने पहिलो पटक स्थानीय निर्वाचनमा काठमाडौंको मेयरका प्रतिस्पर्धी रन्जु दर्शनाले ल्याएको ठूलो मतले देखायो। 

२१ वर्षकी रन्जु दर्शना उमेर कै कारणले निक्कै चर्चामा आई हालिन्। कान्छी उमेरकी रन्जु दर्शनालाई मेयर उम्मेदवारमा चयन गर्नुको पछाडि युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आशयसँगै मिडिया र आम जनमानसको मनोविज्ञानको सटिक बुझाई पनि थियो। धेरैले सोचेभन्दा बढी, २३ हजार बढी भोट ल्याएर रन्जुले एउटा मान्यतालाई स्थापित पार्न सफल भइन् कि राजनीतिक नेतृत्वमा जनताले आफू जस्तै मान्ने र विश्वास गर्ने उम्मेदवारले पाउने हो। यही चुनावमा अर्को वैकल्पिक पार्टी भनिएको साझा पार्टीका तर्फबाट मेयर उम्मेदवार पूर्व सचिव किशोर थापाको १८ हजार भोट आएको थियो।

चुनाव अगाडि हुन नसकेको यी दुई नयाँ दलबीचको एकीकरणचाहिँ अब निर्वाचन पछिको परिस्थितिले बाध्य पारिदियो। साझा पार्टी, पूर्व बीबीसीका पत्रकार रवीन्द्र मिश्रले बडो कसरतपछि स्थापना गरेका थिए। मिश्रले लामो समयदेखि वैकल्पिक शक्तिका लागि सार्वजनिक बहस तथा आन्तरिक मोलमोलाई गरिरहेका थिए। नेपाली कांग्रेसका गगन थापालाई ‘आउनुस्, मिलेर नयाँ दल खोलौं’, भनेर प्रस्ताव राख्दा उनले आफ्नो दुई दशक लगानी कांग्रेसमा लागिसकेको र अब फेरि नयाँ कुनै शक्तिका लागि भुईँ तहबाट मिहिनेत गर्नुभन्दा यहीँ रहेर संघर्ष गर्नु आफूलाई ठीक लागेको भन्ने जवाफ दिएपछि स्थापित दलका दोस्रो, तेस्रो पुस्ताका नेताहरूलाई लिएर नयाँ दल बनाउने प्रयत्न सफल भएन। उता बाबुराम भट्टराईसँग पनि मिलेर जान मिश्र तैयार थिए यो शर्तमा कि डा. बाबुराम भट्टराई आफू नामका लागि मात्र संलग्न रहून् र उनको छवि सुधार गरेर लोकतान्त्रिक बनाउँदै नयाँ राजनीतिक शक्तिको जग हाल्न सकियोस्। बाबुराम भट्टराईले आफू नाम मात्र दान गरेर निष्क्रिय जस्तै भूमिकामा बस्न अस्वीकार गरेपछि मिश्रले उनीसँग मिलेर पार्टी बनाएनन् तर नागरिक समाज तथा अन्य पेशाका केही निक्कै सफल मानिएका र चर्चित नामहरूलाई जोड्न रवीन्द्र मिश्र सफल भए र साझा पार्टी बनेको थियो। 

सुरुदेखि नै, रवीन्द्र मिश्रको मिडिया पृष्ठभूमिले गर्दा होला, साझा पार्टी छापा र सोसल मिडियामा निरन्तर कभरेज पाइरहने चर्चालु पार्टी भने बन्यो, तर केही समयमा नै धेरै नाम चलेका व्यक्तिहरूले साझा पार्टी छोड्न थाले। खुला नभने पनि धेरैले घुमाउरो पारामा रवीन्द्र मिश्रको नेतृत्व शैली र व्यक्तित्वलाई कारण बनाउँछन्। भलै,  रवीन्द्र मिश्रका आफ्ना अभिव्यक्तिहरू हेर्ने हो भने पार्टीले आशा अनुरूप आकार लिन नसकेकामा उनी त्यस्ता चर्चित नामहरूको अवसरवादितालाई र आम मतदाताको अनैतिकतालाई दोष दिन्छन्। तर, जब धेरै नाम चलेका व्यक्तिहरूको ‘रिटायर्ड’ मान्छेहरूको क्लबको संज्ञा पाएको साझा पार्टी र युवाहरूको अभियानबाट सुरु भएको विवेकशील नेपाली दलकाबीच एकता भएर विवेकशील साझा दल बन्यो र निर्वाचनमा बागमती प्रदेशबाट समानुपातिकमा ३ प्रदेश सभा सदस्य चयन हुन पुगे। त्यो मात्र होइन, काठमाडांै भित्रका धेरै संसदीय क्षेत्रमा विसापा तेस्रो धेरै भोट ल्याउने शक्ति बन्यो भने रवीन्द्र मिश्र आफू कांग्रेसका हेभीवेट प्रकाशमान सिंहसँग मात्र ८ सयको मतान्तरले हारे। त्यो पनि कसैसँग लुकेको छैन कि एमालेले उम्मेदवार नउठाएको उक्त क्षेत्रमा रवीन्द्र मिश्रलाई हराउन कै लागि एमालेको भोटसमेत कांग्रेसलाई हाल्न लगाइएको थियो।

 यसरी उल्लेख्य उपलब्धि ल्याउन सकेको वैकल्पिक शक्ति ‘विचार र कार्यशैलीको फरक’ ले गर्दा १८ महिनाभित्र टुट्यो। यस पटक गहिरो आरोप प्रत्यारोपहरू भए– पारम्परिक दलहरूबाट निराश भएका जनताका लागि एउटा आशा बनेर देखिएको वैकल्पिक शक्तिले पनि फेरि निराश पार्यो। आम जनमानसमा, सानो स्वरूपमा भएको दलभित्रै पनि फेरि पद र भागबन्डाको लडाइँ सुरु भएको निराशाजनक सन्देश गयो। त्यसको केही समयपछि छुटिएका यी दुई नयाँ दल फेरि जोडिएका छन् तर अझै पनि सहज रूपमा आन्तरिक घर्षणको व्यवस्थापन भएको देखिँदैन।

अहिले आएर देशको समग्र स्थितिको विश्लेषण गर्दा वैकल्पिक शक्तिको आवश्यकता आम जनताले महसुस गरेका छन् तर नेतृत्वले अझै विश्वस्त पार्न सक्ने आधार तैयार पार्न सकेको छैन। नयाँ संविधान जारी भएपछि वाम एकताले ल्याएको लहर र स्थिरताको प्रतिज्ञाले गर्दा जनताको मन छोएको थियो। त्यो लहरमा एमाले अथवा माओवादीलाई आएको समर्थन पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्नका लागि थियो। तर, त्यो विश्वास प्रतिधोका गर्दै आन्तरिक किचलोलाई लगेर ठूलो दुर्घटनामा अहिलेका नेताहरूले टुङ्याएका छन्। यो अवस्थामा आमजनतामा अहिलेका राजनीतिक दलप्रति मात्र होइन, व्यवस्थाप्रति नै वितृष्णा जाग्दो छ। 

यो खाँचोलाई पूर्ति गर्ने गरी देशैभरि आफ्नो उपस्थिति बनाउन सक्ने अवस्थामा विवेकशील साझा पार्टी छ त ? अहिले हेर्दा यो दलमा त्यो गर्न सक्ने क्षमता र अग्रसरता दुवै देखिन्न। र, मुख्य समस्या अहिलेको नेतृत्वमा नै देखिन्छ। विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको कोरोनाको कारण भएको असामयिक निधनपछि जसरी उनको शैली र व्यक्तित्वमा प्रकाश पार्ने गरी उनीसँग जोडिएका व्यक्तिहरूबाट संकथन बाहिर आएको छ र जसरी आम जनताको सद्भाव उनीप्रति प्रकट भएको छ– एउटा कुरा प्रष्ट छ, निष्ठाको राजनीतिले आफ्नो ठाउँ बनाउँछ। तर, एकतर्फबाट तर्क आउने गरेको छ कि मृत्युपछि मान्छेलाई राम्रो भन्ने हाम्रो समाजको चलन हो र त्यसकारण यसलाई आधार बनाएर धारणा बनाउनु भ्रामक हुन जान्छ।
धेरै हदसम्म उज्वल थापा प्रतिव्यक्त भएका भावुक अभिव्यक्ति उनको असामयिक निधनले ल्याएको मानवीय संवेदनासँग जोडिएको छ, तर ती अनेक संकथनभित्र लुकेका सन्देशले हामीलाई अहिले वैकल्पिक शक्ति भनेर स्थापित हुन खोजेको विवेकशील साझा पार्टी भित्रको घर्षणको खाका पनि दिएको छ। उज्वल थापाद्वारा स्थापना गरिएको विवेकशील दलको स्कुलिङबाट आएका नेताहरू र रवीन्द्र मिश्रको लाइनका नेताहरूमा उमेरको मात्र फरक होइन, केही आधारभूत मान्यताहरूमा नै फरक छ भन्ने कुरा यहाँ छर्लङ्ग देखिन्छ। एउटा धार दोस्रो पटकको एकीकरणलाई स्वीकार नगरेर विवेकशील नेपाली दलकै नाममा राजनीति गर्न कम्मर कसेको देखिन्छ भने अब उज्वल थापाको विरासतलाई नै आफ्नो आधार बनाउने वैधता पनि भेटेको छ।

अर्कोतिर सँगै सुरु गरेको यात्रामा बीचैमा बाटो छोडेका डा. सूर्यराज आचार्य र  मुमाराम खनाल जस्ता नेताहरू अझै पनि वैकल्पिक शक्तिको कुरा गर्न छोड्दैनन् तर किन पार्टी छोडेको भन्ने स्पष्ट सैद्धान्तिक कारण दिन सकेका छैनन्। यसले पनि कताकता दलको अहिलेको नेतृत्व प्रतिस्वाभाविक रूपमा उब्जेको असन्तुष्टितर्फ संकेत गरेको छ। यही दलबाट निस्केका केही नेताहरू र केही अन्य सार्वजनिक उचाइ भएका व्यक्तित्वहरू मिलेर नयाँ आन्दोलनमार्फत अर्को वैकल्पिक दल खडा गर्ने कुरा पनि बेला–बेलामा गरिरहेका देखिन्छन् तर यिनमा पनि केही सेवानिवृत्त व्यक्तिहरूको आत्मरति र घमण्ड बाहेक अरू देखिँदैन।

यसरी हेर्दा अहिलेका लागि लोकतान्त्रिक स्पेसमा विकल्प निर्विकल्प रूपमा विवेकशील साझा पार्टी मात्र देखिन्छ, तर हाल पार्टीको नेतृत्वमा रहेका रवीन्द्र मिश्रले निरन्तर आइरहेका संकेत बुझेर आफूलाई परिमार्जित नगर्ने हो भने अहिलेको बेथितिलाई चिर्ने एउटा अवसर र करोडौं जनताको आशा– एकैचोटी तुहिन्छ। पार्टीले आमजनतामा जाग्दै गरेको वितृष्णाको उपचार, स्थिरताको चाहना, र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थालाई पार्टीको आधिकारिक लाइन बनाएर निर्वाचन केन्द्रित ध्रुवीकरण गर्न अब सबै तागत लगाउन अत्यावश्यक भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.