२४ घण्टामा कोरोनाबाट फिदिमका चार पुरुषको मृत्यु
फिदिम : पछिल्लो २४ घण्टाको अन्तरालमा कोरोना संक्रमणबाट फिदिम नगरपालिकाका चार पुरुषको मृत्यु भएको छ। शुक्रबार दुई जना पुरुषको मृत्यु भएको हो भने दुई जनाको बिहीबार मृत्यु भएको थियो।
फिदिम ८ का ८१ वर्षीय बृद्ध र ५३ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो। ८१ वर्षीय बुद्धको बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। पाँचथर अस्पतालमा उपचार गराइरहेका उनलाई शुक्रबार अस्पतालले मृत घोषणा गरेको हो।
५३ वर्षीय पुरुषमा २४ गते कोरोना पुष्टि भएको थियो। उनको स्वास्थ्यमा जटिलता थपिएपछि थप उपचारका लागि झापाको बिर्तासीटी लगिएको थियो। शुक्रबार अस्पतालमै उलाई मृत घोषणा गरिएको बताइएको छ।
फिदिम-४ जोरसालका ६४ वर्षीय पुरुषलाई बिहीबार उपचारमा झापा लैजाँदै गर्दा इलाममा पुगेपछि मृत्यु भयो। उनलाई इलाम अस्पतालले मृत घोषणा गरेको थियो।
फिदिम- २ का ३० वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको हो। केही दिन पाँचथर अस्पतालमा उपचार गराउँदा अक्सिजनको मात्रा सुधार देखिएपछि उनी होम आइसोलेसनमा थिए। होम आइसोलेसनमा रहेका युवकको बिहीबार घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।