म चुरे हुँ !
म चुरे हुँ। मेरो आकार धेरै ठूलो नभए पनि म त्यति सानो पनि छैन। नेपालको करिब क्षेत्रफलको १५ प्रतिशत हिस्सामा झन्डै ३३ जिल्लामा फैलिएको छु। क्षेत्रफलको हिसाबले भन्नुपर्दा झन्डै ८५० किलोमिटर लम्बाइ तथा ५ देखि २० किलोमिटर चौडाइमा फैलिएको छु। मेरो उचाइ समुद्रसतहबाट पूर्वमा ३०० मिटर हुँदै पश्चिममा पुग्दा करिब २००० मिटरको उचाइसम्मको छु। कहीँ केही धेर–थोर होला त्यो छँदै छ।
मेरो समुच्चा क्षेत्रफल मानिसका लागि, जंगली जनावरका लागि, विभिन्न प्रकारका रुख–बिरुवा, वनस्पति, प्राकृतिक झर्ना र पोखरी, कुण्ड, ताल–तलैया, सीमसारका लागि प्रसिद्ध छु। नेपालमा बहने झन्डै छ हजार साना–ठूला नदीहरूमा म एउटै चुरेले झन्डै एक सय पैसठ्ठीवटा नदी, खोला, खोस्राको माध्यमबाट चुरे, भावर र तराईका लागि चाहिँदो पिउने पानीलगायत सिँचाइका लागि थेगेर थेग्न नसक्ने अजस्र पानीको स्रोत उपलब्ध गराइदिएको छु। हिजोआज अनेक किसिमका अन्धाधुन्ध एवं अव्यवस्थित दोहनले त्यसमा कमी हुँदैछ। त्यसमा सतर्क हुनुपर्ने अवस्था आइसकेकोमा कसैको ध्यान जान सकेको छैन। त्यसमा म पिरोलिएको छु।
मेरो चुरे क्षेत्र अतुलनीय प्राकृतिक सम्पदाले ओतप्रोत छ। मबाट निक्लने यावत् निर्माण सामग्रीहरू त राष्ट्रिय स्रोत हुन्। जैविक विविधताले भरिपूर्ण छु। त्यसको सदुपयोग खै गरेको ? गौरवलायक इतिहास रच्ने मौका पाउँदा खै त्यस्तो इतिहास रच्न सकेको ?
उत्तरको हिमालबाट निःसृत भएर आउने कोशी, गण्डकी, कर्णाली, महाकाली हिमनदी पानीका ठूला स्रोत हुन् नेपालका लागि। बबई, पश्चिम राप्ति, बाग्मती, कमला, कन्काई महाभारत डाँडाबाट उद्भव भएर मेरै वरपरको या मेरै छेउछाउको बाटो हुँदै बहन्छ। हिमाल, महाभारत, चुरे, बिन्ध्या पर्वतमाला एवं मैदानी भू–भाग हुँदै म चुरेको विभिन्न ठाउँबाट बहने यावत् नदीहरू अन्ततः बग्दै बंगाल र अरब समुद्रमा पुग्ने हो। चुरेको मेरो भूखण्ड पश्चिममा इन्दुस नदी (पाकिस्तान), पूर्वमा ब्रह्मपुत्र (भारत)सम्म झन्डै २४०० किलोमिटर लम्बाइमा फैलिएको छ।
पौराणिक ‘गोवद्र्धन पर्वत’ देख्न नपाए पनि आजसम्म नेपालको कतिपय संस्कृतिमा गोवद्र्धन पर्वतलाई संकेतात्मक रूपमा पुज्ने चलन छ। गोवद्र्धनवासीका लागि गोवद्र्धन पर्वत ओत, आश्रयस्थल, जीवनयापन गर्ने क्षेत्र, आश्रित जल, स्थल, गौ–पशुप्राणीको जीवनाधार थियो भनेजस्तै नेपाल र नेपालीको लागि चुरे एक किसिमको गोवद्र्धनभन्दा पनि ज्यादा महŒवको छ। पौराणिककालको गोवद्र्धनको त्यत्रो महत्त्व छ भने म त साक्षात् वर्तमानमै वरदहस्तले मानवोपयोगी, प्राणी एवं वनस्पति जगत्का लागि यत्ति खजाना दिइरहेको छु। खै के भन्ने ? मेरो आफ्नै प्रशंसा म कसरी गरु !
तस्बिर : राजकरण महतो
मैले चुरेलगायत अरू डाँडाकाडाको विषयमा सरकारको अर्थमन्त्रीले केही दिन अगाडि आगामी वर्षको बजेटमा राखेको प्रस्ताव थाहा पाएँ। त्यसैबेलादेखि म अत्यन्त चिन्तित भइरहेको छु।
मेरो बारेमा कत्तिलाई थाहा होला/नहोला म नेपालको पाँचवटा धरातलीय स्वरूपमध्येको कान्छो भूभागीय धरातल हुँ। सबैभन्दा उत्तरमा उच्च उतंग हिमाच्छिद हिमाली भाग र त्यसको दक्षिणमा अनेक, पहाड, पर्वत, उपत्यका र त्यसपछि ‘महाभारत पहाड’ र त्यसैको दक्षिणमा उमेरले सबैभन्दा कान्छो म चुरे छु। मेरो पुरानो नाम ‘शिवालिक’ पनि हो, जहाँ भगवान् शिव स्वयं निवास गर्नुहुन्छ भन्ने अर्थ हुन्छ। भूगर्भविद्हरूको अध्ययनले मेरो उद्भवको अनुमान विभिन्न ढंगले लगाएका छन्। उनीहरूको विज्ञानले मलाई करिब चार करोड वर्षअघि उत्तरतर्फको हिमालको उत्पत्तिको क्रममा ग्रेगर र थेगर थुप्रिएर मेरो जन्म भएको हो भन्छन्। धार्मिक आस्था राख्नेहरूको तर्क अलग्गै छ। म स्वयं ईश्वरको सृष्टि हुँ।
पर्यावरणीय दृष्टिले मेरो भूमिका नेपाल र नेपालीको लागि मात्रै होइन दक्षिण एसियाकै लागि महŒवपूर्ण छ। त्यतिमै यो सीमित हुँदैन विश्वकै लागि वरदान हो। मेरो क्षेत्रबाट उत्सर्जित हुने अक्सिजनलगायतका मानवोपयोगी ग्यासलाई आकाशमा कसले बारबन्देज लगाउने ? त्यसमा पनि म नेपालको लागि त ‘जीवनाधार’ हुँ। शिरको ताज हुँ, आभूषण हुँ, अनन्त प्राकृतिक खजानाले भरिभराउ भण्डार हुँ, नेपालको उर्वरता हुँ, हिमालको टेको हुँ, आधार हुँ। तर ममा जम्मा भएर बनेको पहाड, डाँडाकाँडा अत्यन्त कमलो र नरम छ। किनभने म उमेरले कान्छो छु। साँच्चै भन्ने हो भने राम्ररी बलियो बन्नै पाएको छैन।त्यसैले हेर्दा म सबलजस्तो देखिए पनि अत्यन्त कमजोर, नरम र कच्चा छु।
विश्वको ध्यान नेपालप्रति आकृष्ट हुनेछ। विश्वको पर्यावरणमा नेपालको हिमाल, पहाड, तराई, नदी, वनजंगल, जलचर, थलचरले पुर्याएको योगदान र अवदानको हिस्साको अध्ययन–अनुसन्धानले नेपालको नाम विश्वमानचित्रमा आकृष्ट गर्ने छ। तब हेर नेपालमा विदेशी पर्यटकहरूको लर्को ! वैज्ञानिक, अध्येता, विद्यार्थी र पारखीहरूको भीड !
मेरै चुरे क्षेत्रको भेलले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा, माटो र कंकडहरूले ‘भावर क्षेत्र’को समथर भूमि बनेको छ। यसले दक्षिणपट्टि रहेको समथर तराईको लागि पानी सञ्चित गरिदिई भूमिगत जलभण्डारमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ। त्यत्ति मात्र होइन नेपालको जंगलको झन्डै ७३ प्रतिशत क्षेत्र बन्नुमा म चुरेको योगदान छ। मेरो चुरे क्षेत्रमा नेपालको क्षेत्रफलको हिस्सा करिब पन्ध्र प्रतिशत पर्छ तर जनसंख्याको हिसाबले झण्डै साठी प्रतिशत नेपालको जनसंख्यालाई चुरेको असर र प्रभाव पर्ने कुरा अनेकौं अध्ययन अध्येताहरूले गरिसकेका छन्। त्यसैले मेरो संरक्षण, सम्बद्र्धन एवं प्रवर्दनलाई कम आँक्न हुन्न।
सरकारी प्रस्तावले म निकै विचलित भएको छु। किनभने मलाई जसरी हुन्छ दोहन गर्ने, मसँग भएका सामग्रीहरूलाई बाह्य मुलुकमा निर्यात गर्ने र आम्दानी गर्ने भन्ने कुरा नै सुन्छु। मैले भनिसकें म अत्यन्त कमजोर छु।मसँग भएका ढुंगा, खानी, भूबनोट निकै कमजोर छ। त्यसलाई अनावश्यक रूपले चलाउने बित्तिकै मेरो बाध्यता हुन्छ म वर्षाको बाढीसँगै हेलिएर माटो, बालुवा, ढुंगा, गिट्टी लिएर छेउछाउका नदी–खोलाको माध्यमबाट बग्नै पर्ने हुन्छ। त्यसरी बग्दा म वरपरका गाउँ–बस्ती सखाप पार्दै, धन–जनको क्षति पुर्याउँदै जानु पर्ने हुन्छ। मैले जाने भनेको मभन्दा भिरालो परेको नदी, भूमि र गंगा नदीमा हो। यसैले मैले पुर्याउने पहिलो असर तराई हुन्छ, भावर हुन्छ। त्यसपछि जाने भनेको त उही गंगामा हो। यहाँबाट बगाएर लिएर गएको माटो, बालुवा, ढुंगा, रुख–वनस्पति पुग्ने उतै हो।
मभन्दा केही तल जाँदा भावर छ, त्यसभन्दा केही तल बालुवा भएको माटो र अन्तिममा कृषियोग्य मलिलो माटोले वेष्ठित तराई छ। तराई नेपालको उन्नति, प्रगति र समृद्धिको आधारस्थलको साथै ‘अन्न भण्डार’ पनि हो। मलाई कसरी चलाउन खोजेको हो, त्यसको गति र असर तुरुन्तै तराईमा पर्छ। तराईलाई समृद्ध राख्ने कि मरुभूमीकरण गर्ने ममा भर पर्छ भन्ने कुरा किन बिर्सेको ?
चुरेको जैविक विविधताको के कुरा गर्नु ? यहींबाट वर्षाको पानी जमीन मुनिबाट छिर्दै–छिर्दै तराईसम्म पुग्छ। पानी नदीमा मात्र होइन जमिनमुनि पनि प्रशस्त हुन्छ। तराईको माटोलाई मलिलो बनाउने काम यही छिरेको पानीले गर्छ। तराईमा किन स्यालो ट्यूबेल, डिपट्यूव वेलबाट प्रशस्त पानी आउँछ, अरू पहाडतिर त्यस्तो सम्भव छैन भन्ने कुराको धेरैलाई हेक्का नहुन सक्छ। यसको प्रमुख कारण नै मैले पानीलाई अहिलेसम्म चाहिँदो मात्रामा भण्डारण गरेर राखिदिएकी छु। म चुरेलाई लुछाचुडी गर्न थाल्यौ भने जमीनमुनि बग्ने पानीको स्रोत कम हुन्छ मात्र होइन त्यसका धारहरू परिवर्तन भएर खेती–किसानीलाई गाह्रो पर्छ। त्यसले नदी–खोलामा पानी नहुने वा अन्यत्रै जाने, भएका तालतलैया, पोखरी सुक्ने, कहीँ पानीको सतह ह्वात्तै बढेर ठूलो धनजनको नोक्सान वर्षैपिच्छे भोग्नुपर्छ। त्यस बेला म पानी भएर मात्र जान्न थेगर, बालुवा, ढुंगा, गिट्टीसहित बगेको हुन्छु। किसानको खेतीपातीमा म छिर्न थालेपछि त्यहाँ बस्ने नागरिकहरूको बिल्लबाठ हेर्नुपर्ने हुन्छ। त्यो दृश्य अत्यन्त हृदयविदारक हुनेछ, चित्कार र रोदनयुक्त हुनेछ। त्यसको लागि कोही तयार होला ?
अहिले नै पनि जलवायु परिवर्तनको कारणले चुरेमा अन्य पहाडमा भन्दा धेरै पानी परेको देखिन्छ। अध्ययन गर्नेहरूले पत्ता लगाइरहेका छन् मेरो शरीरको अंग–प्रत्यंगमा पहिरो जान थालेको छ। यस्तो दसौं हजार ठाउँमा छ। यसरी जताततै अनावश्यक मानवीय क्रियाकलाप बढ्न थाल्यो भने पानीकै कारण तराई लगायतका तल्लो भागमा समस्या सृजना हुन्छ। यो नेपालमा मात्र सीमित हुँदैन छिमेकी मुलुक भारतमा पनि यसको दूरगामी प्रभाव पर्छ। भूक्षय देशको लागि ठूलो खती हो भनेर बुझ्नुपर्छ। माटो, ढुंगा, गिट्टी सजिलोसँग बन्दैन। यसको लागि लाखौं वर्ष लाग्छ। यहाँबाट बगेर जानुको अर्थ देशको किमती वस्तु कतै निःशुल्क बग्दैछ भन्ने हुन्छ।
तराईका नदीहरूको ‘सतह’ अहिले नै जमीनभन्दा केही माथि छ। गाउँबस्तीहरू नदीकै सतह वा कहीँ–कहीँ त नदीभन्दा पनि तल्लो सतहमा छ। यस्तो भूबनोट हुँदाहुँदै चुरेक्षेत्र दोहन गर्न थाल्यौं भने बाढीको विकराल अवस्था आउँछ। यसले कृषियोग्य जमीन त नष्ट गर्ने नै भयो। अरू मानव बस्तीलाई बाढीले सखाप पार्छ ! म देखिरहेको छु यहाँ दुईथरी तर्कवादीहरूको रस्साकस्सी छ। एकथरी भन्छन्– उसले चुरे बिगा– यो मैले सपारे। हेरेर ल्याए सत्तामा जो जो बसे उसले कहीँ न कहीँ पहिलेदेखि नै बिगारे। अर्कोलाई चोर औंला ठढाउनुभन्दा अघि अरू चार औंलाले ‘तिमीले पनि गर्यौ नि’ भनेर आफैंपट्टि औंला ठड्याउने अवस्था छ। मानिसको आयु त सय वर्ष हो। तिमीहरूले थोरै अनुभव गरेका छौं। म द्रष्टा र साक्षी बनेर करोडांै वर्षदेखि सबै क्रियाकलाप हेरिरहेको छु। मलाई ढाटेर ढाट्न सकिन्नँ।
म हेरिरहेको छु, मेरो चुरे क्षेत्रभरि अहिले नै कति ठाउँमा अनेक किसिमको अतिक्रमण, दोहन, लुछाचँुडी चलिरहेको छ। मलाई जसरी हुन्छ लुछ्ने, कोतर्ने, भत्काउने, बिगार्ने काममा को–को लागेका छन् ? यसको हिसाब–किताब कुनै दिन दिनुपर्ने हुन्छ। चुरे लगायतका वनजंगल, चारकोशे झाडी, पहाड–पर्वतमा वनजंगल फडानी राजनीतिक अस्थिरता भएको मौकामा सत्तासीनहरूको नीति–निर्देशनमै विगतमा भएका हुन्।
म चुरेबाट बगेको बालुवा, ढुंगा, गिट्टीहरू तराईमा थुप्रेका छन् भने तिनको सही सदुपयोग कसरी गर्ने वैज्ञानिक, भरपर्दो, विश्वासिलो आधार तयार पारेर बढीभन्दा बढी के कसरी सदुपयोग गर्न सकिन्छ त्यसतर्फ सोच्दा राम्रै होला। सदुपयोग त गर्नै पर्छ। ती अत्यन्त किमती छन्। तिमीसँग अहिले ती सामग्रीहरू सजिलै उपलब्ध छन् र त्यसको महŒव बुझेका छैनौं। विश्वमा ढुंगा, गिट्टी, बालुवा र माटो भनेको परिणाममा नपाएर विकास–निर्माणमा अवरोध पुगेका कैयन् मुलुकको कथा–व्यथा सुन त कस्तो कारुणिक छ। सदुपयोग गर्नुपर्ने सामग्री पहिले आफ्नै देशमा सदुपयोग गर, त्यसमा बढी भयो भने छिमेकी मुलुकमा गर, त्यसमा पनि आफूसँग दिन पुग्ने छ भने तेस्रो मुलुकतिर हेर तर, यो काम सजिलो छैन। नियन्त्रणको चुस्त–दुरुस्त, भरपर्दो र विश्वासिलो संयन्त्रबिना गर्यौ भने बाह्य मुलुकमा निकासी गरेर रुपैयाँ–पैसा कमाउने देशले होइन अरू नै माफिया र बिचौलिया या टाठा–बाठाका लागि हुन्छ। विचार गर, एकपटक होइन धेरैपटक विचार गर !
चुरे र चुरे क्षेत्र वरपरका बासिन्दाको भविष्य जलाधारको सन्तुलन र स्वच्छतामा टिकेको छ। तिनको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरेमा मात्रै जल, जमिन, जनता र जग्गाको हित गर्न सक्छौं। मात्र चुरे
भनेको निर्माण सामग्री–ढुंगा, बालुवा, गिट्टी, माटो र वनस्पतिको स्रोत हो। यसको दोहन कसरी गर्ने भनेर सोच्यौ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। हाम्रा नदीहरूको गन्तव्य सिँचाइ, विद्युत् उत्पादन र उद्योगधन्दाका लागि योगदान र सही सदुपयोग हुनसक्ला तर त्यसैलाई मात्र सम्झिएर यसभित्र समेटिनुपर्ने जलचर, थलचर, वनचर, वनस्पतिलगायत सम्पूर्ण मानव बस्तीप्रति संवेदनशील नभईकन गरिने कुनै पनि नीति तथा कार्यक्रमहरूको औचित्य हुँदैन भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन।
वर्षौं वर्षदेखि चुरेको अनगिन्ती क्षेत्रहरूको प्राकृतिक स्रोत–साधनको प्रयोग गर्दा नेपालले के पायो ? कति करको सहभागिता राष्ट्रिय बजेटमा रह्यो ? कतै हिसाब–किताब राखिएको छ ? छ भने कति छ ? त्यो आउनु पर्दैन ? राष्ट्रको प्राकृतिक संशाधनहरू सबै कुनै व्यक्ति, हर्ताकर्ता नेता, गुण्डा, लठैत र बिचौलियाको हुने अवस्था छ। त्यसमा सतर्क नहुने हो भने निर्माण सामग्री निर्यात खुलाउने योजनाको सुरु हुन पाउँदैन म चुरेलगायत उत्तरतिरका डाँडा–काँडामा बुल्डोजर, डोजर, क्रेन चढ्न सुरु हुन्छ। मलाई अनेक बहानामा खनी–खोस्री गरेर ढुंगा, गिट्टी, बालुवा, माटोको नाउँमा म लुछिन, चुडिन, निर्वस्त्रतुल्य हुन विवश हुनेछु। अहिले पनि ठाउँ–ठाउँमा मलाई कोतरिरहेछन्, चिथोरिरहेछन्। तैचुप मैचुप किन गरिरहेका छौ ?
अन्ततोगत्वा मैले रौद्ररूप धारण गर्नु सिवाय कुनै विकल्प रहने छैन। त्यो भनेको देशमा अस्तव्यस्तता, तराईमा बाढी, पहाडमा पहिरो, जनधनको नोक्सान आदि आदि। मबाट निक्लने यावत् निर्माण सामग्रीहरू त राष्ट्रिय स्रोत हुन्। यसैले निजी क्षेत्रको जिम्मामा मलाई छोड्यौ भने लुछाचुँडी अरू भयावह हुनसक्छ। बरु कुनै सरकारी निमयनकारी निकायबाट खनिज पदार्थ निकाल्नुपर्छ। यो तब सम्भव छ जब राष्ट्रको माया, ममता गर्ने, राष्ट्रिय हितका लागि मरिमेट्ने सरकार सत्तामा हुन्छ।
पार्टी र अनेक गुटमा विभाजित राजनीतिले ल्याएको तरल अवस्थामा म चुरेका लागि ल्याएको प्रस्ताव कस्तो होला। विगतका तीतो अनुभवले पनि सबै छताछुल्ल भइसकेको छ– ‘एकपटक प्रवेश त पाऊँ अनि हेर्दै जाऊँला’ को नीतिले म चुरेको अस्तित्व कुनै हालतमा रहने छैन। देशको कार्यकारी अधिकारी पाएको प्रधानमन्त्रीले ‘यो होइन, यसो हुन कदापि दिने छैन। त्यो प्रस्ताव भए पनि खारेज गर्छु’ भनेर भनिदिए म ढुक्क हुन्थें। मेरो चुरे क्षेत्र अतुलनीय प्राकृतिक सम्पदाले ओतप्रोत छ। त्यसको सदुपयोग खै गरेको ? जैविक विविधताले भरिपूर्ण छ। सुनको फुल पार्ने कुखुराको कथा ‘धेरै अण्डा पाउने लोभमा परेर माउलाई मास्न’ खोजेजस्तो देखिरहेछु म। गौरवलायक इतिहास रच्ने मौका पाउँदा खै त्यस्तो इतिहास रच्न सकेको ?
विश्वका विद्वान्, विदुषी, अध्येता, अनुसन्धानकर्ता, विश्वका ठूल्ठूला भनिने कलेज, विश्वविद्यालयका व्युत्पन्न विद्यार्थीहरूलाई हुनेगरी थरि–थरिका विद्वत्तवृत्ति दिएर मेरो चुरे क्षेत्रको विविध विषयहरूमा ध्ययन–अनुसन्धान सुरु गराऊँ। आफ्नो देशका कलेज, विश्वविद्यालयहरूलाई यस विषयमा निरन्तरको अध्ययन–चिन्तन चलाऊँ। नयाँ–नयाँ तथ्यहरू आउने छन्। त्यसले विश्वको ध्यान नेपालप्रति आकृष्ट हुनेछ। विश्वको पर्यावरणमा नेपालको हिमाल, पहाड, तराई, नदी, वनजंगल, जलचर, थलचरले पुर्याएको योगदान र अवदानको हिस्साको अध्ययन–अनुसन्धानले नेपालको नाम विश्वमानचित्रमा आकृष्ट गर्ने छ। तब हेर नेपालमा विदेशी पर्यटकहरूको लर्को ! वैज्ञानिक, अध्येता, विद्यार्थी र पारखीहरूको भीड !
चुरे संरक्षणको लागि गर्नुपर्ने यावत कार्यहरू गरेर पनि ‘नेपाल अध्ययन’ को नामबाट विश्वकै लागि आकर्षित हुने गरी नेपालसम्बन्धी प्रकृति, संस्कृति, सम्पदा क्षेत्रमा कीर्ति र अनुसन्धानको माध्यमबाट उल्लेख्य कार्य गर्नेलाई प्रत्येक वर्ष अहिलेसम्म गिट्ठी, बालुवा, ढुंगाको निर्यात भएको आम्दानीबाट दुई–चार अर्बको अक्षय कोष राखेर पुरस्कृत गर्ने गरी लौन कामको सुरुआत गरेर देखाइदेऊ। त्यसले नेपालप्रति विश्वव्यापी सकारात्मक ध्यानाकर्षण गराउने छ।
कतिञ्जेल हात थापेर बस्ने ? कति ढुंगा, गिट्टी, बालुवा निर्यात गरेर ढुकुटी भर्ने बेकम्माको कुरा गर्ने ? यत्रो विशाल विविध खजानाले भरिपूर्ण भएर गरिब बन्नु र देखाउनु दुर्भाग्यपूर्ण हुन्छ। समय छ, विचार गर। यसैले म भन्दैछु– मलाई लुट्ने, चिथोर्ने, कोपर्ने केही नगर्नू, खबरदार !