बारुदमाथि उड्ने लेखक !
प्रसंगविहीन प्रसंग के पो होला ! त्यसो हुनुको अर्थ अलौकिक हुनु हुँदो हो सायद। बादलमाथि उड्ने लेखक त अनगिन्ति नै हुन्छन्। लेखन क्षेत्रमा प्राय: कवि, लेखक, कलाकार, रंगकर्मीहरू कल्पनाशील रहन्छन्। कल्पनाशील व्यक्ति उडन्ते हुन्छ। कल्पना गर्नु मनगढन्ते योजना। केही कार्य गर्न कस्तै होस् तर योजना तर्जुमा त गर्नै पर्ने हुन्छ। बिनायोजना काम गर्नु मनगढन्ते सिल्लिपन ! प्रसंग मेरो बारुद माथि उड्ने लेखककै रहेको छ।
बारुदमाथि उड्न अदम्य साहस, दृढ संकल्पित कुर्बान, त्याग र आत्मबल चाहिन्छ। दृढ संकल्पित कुर्बान भन्नु आफ्नै जिउज्यान आहुति गर्नु। भौतिक जीवन संसारमा अभौैतिक तत्त्व आफ्नै जीवन आहुति सिवाय अरू के नै बन्न सक्ला ? एउटा साधारण व्यक्तिलाई ! बारुदमाथि उड्ने लेखकलाई बिस्फोटनमा परे मातृभूमिमा आत्म उत्सर्ग ! बिसर्जित भइए आहुति माटाकै ममतामाथि। यही त हो, बारुदमाथि उड्ने लेखकको प्रसंग !
जुन जुन महानुभावले ‘बारुदमाथि उड्दा’ पुस्तक पढिसक्नुभएको छ, इशारा काफी छ– वहाँहरूका लागि ! जुँगा चल्यो कि कुरा बुझियो। ‘बारुदमाथि उड्दा’ पुस्तकका लेखक स्रष्टा क्याप्टेन रामेश्वर थापा। पढ्दा त्यो पुस्तक आङ नै सिरिङ सिरिङ पार्ने प्रसंग कति छन् कति ! मुटुमाथि हात राखी पढ्दा रोमाञ्चक पार्ने पानाहरू निकै पल्टिन्छन्। साहसिक क्याप्टेन राष्ट्र प्रतिवद्ध योद्धा सिपाही जवान नै हुन्। प्रसंगको प्रसंग यत्तिकैमा इतिश्री हुन्नँ, टुंगिन्न। ती त विगतका राजनीतिक प्रसंग संक्षिप्त। त्यस्ता राष्ट्र निर्माणका सन्दर्भहरूमा अझै प्रासंगिक पहल पाइला चुक्नुभएको पाइन्न। प्रसंग एपी वान टेलिभिजनको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रमको अन्तरक्रिया।
प्रसंगका प्रसंग क्रमश: अग्रगमनका दिशाबोधकै क्रमका सिलसिला बन्छ यसरी :
– कि चपली बैठकको संज्ञा भरिएको आफ्नै निवासमा संयोजित मिलनका अभिष्ट इष्ट बन्न नसकेको घटना दुर्घटनामा परेको दृश्य छायांकनमै टुंगिनु,
– कि वर्तमान एमाले संगठनका दुई वरिष्ठ नेता निर्वाचित अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमहासचिव तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका व्यक्तिपरक व्यक्तित्वका
दुई अलग धार,
कुरोको चुरो नेपाल राष्ट्र, राष्ट्रियता, राष्ट्रभित्रका आमनेपाली नागरिकका जिउने आधारप्रतिको अधिकार र कर्तव्य बोधी तत्त्व। अनि यिनै बोधी तत्त्वबाट उद्भव हुने राष्ट्रिय अखण्डताप्रतिको जीवन्त सम्मान; जसलाई हामी ठान्छौं नेपालीपन ! यिनै सारगर्भित मूलभूत मन्त्र साधना नेपाली राजनीतिको अभिष्ट बन्नुपर्ने नेपालीका आमूल चाहना रहेको छ। वर्तमान विश्व राजनीतिक परिवेशमा सनैसनै अग्रगमनका पाइला चालिरहेको नेपाली राजनीति अहंकार केन्द्रित नभइदिए ‘समृद्ध नेपाल : सुखी नेपाली’ बन्ने स्थिति तन्मयतासाथ प्राप्तिने आशा फल्ने फुल्नेमा भरोसा जाग्नेछ। नेपालमाताले आफ्ना कर्मठ सन्तति गणमा यो मन्त्र साधनामय बनाइदियुन्... कामना सत्त् !
कार्यक्रम प्रस्तोता उवाच :– हाम्रो नेपाली भूराजनीतिक अवस्थितिले नेपालका राज्यवस्थामा यस्तो अस्थिर स्थिति रहेको हो ?
एपी वान टेलिभिजनसमेतको अन्नपूर्ण मिडिया नेटवर्ककै अध्यक्ष एवं लेखक क्याप्टेन रामेश्वर थापा भन्नुहुन्छ– भूराजनीतिक मामिलामा हामी स्पष्ट हुनुपर्छ। उत्तर चीन, दक्षिण भारत हाम्रो भूराजनीतिक अवस्थिति। राष्ट्रिय एकता, भूअखण्डता, सार्वभौम स्वतन्त्रता, आत्मसार्थक दृढसंकल्प नेपाल भारत सांस्कृतिक पारिवारिक बितिव्यवहार नेपाल सम्वद्ध सम्बन्ध। नेपाल भारत सीमा पूर्व, दक्षिण, पश्चिम खुल्ला सिमाना। यो हाम्रो भौगोलिक शाश्वत सत्य। यस परिवेशमा यदाकदा तितामीठा अनुभूति हुनु स्वाभाविक रहन्छ। कहिलेकाँही घरपरिवारमा पनि त ठाकठुक पर्ने गर्छ। करुवा, अँखोरा र गाग्रीझैं। सामाजिक संस्कारको स्वाभाविक चरित्र बनेको छ यो। यस पृष्ठभूमिमा नेपाल भारत सम्बन्धलाई जैविक (अग्र्यानिक) संरचना भन्न मन पराउँछु म।
जैविक संरचनामा प्राकृतिक प्रभाव हुन्छ। कुनै रासायनिक पदार्थ प्रयोग नभएको बाली–नालीमा किरा लाग्नु स्वाभाविक हो। यस्ता उत्पादनलाई उपयोग, उपभोग गर्दा उपभोक्ता समाजमा अस्वस्थकर हानिनोक्सानी पर्दैन। रासायनिक मल, कीटनाशक औषधि प्रयोग भए, गरेका बाली–नाली चिटिक्क हेर्दा आकर्षक चिल्लो देखिन्छ। उपभोक्ता वर्गको स्वास्थ्यका लागि लाभकर हुँदैन। रासायनिक पदार्थको प्रयोगद्वारा आकर्षक चिल्लो देखिने पार्नु पराजैविक अर्थात् कस्मेटिक हो।
सगरमाथादेखि आठ हजार मिटरभन्दा अग्ला
अरू सात हिमशिखर हाम्रै नेपाल राष्ट्रमा पर्छन्। यो पनि प्राकृत जैविक सत्य हो। जस्तोसुकै दुर्लभ चुचुराहरू भएर पनि ऐतिहासिक कालखण्डहरूमा नेपाल–भोट सम्बन्ध उस्तै रहिआएका सत्यपरक इतिहास बनेको छ। दुर्लभ सगरमाथा साथै प्राकृत सुरक्षा स्तम्भ समान हिमालहरू युगीन
वैज्ञानिक उपकरणमूलक साधनहरूले अब झन् गहिरो मैत्रीसम्बन्धका सार्थक सूत्राधारमा परिणत गरिदिएको छ। उसमाथि स्व. राष्ट्रनायक महेन्द्रका कुटनीतिक पटुताका कारण उत्तरी मित्रराष्ट्रको सहयोगस्वरूप निर्मित अरनिको राजमार्ग उत्तरी छिमेक सम्बन्धका प्रगाढ सूत्र ठहरिएको छ। विश्व कुटनीतिक मञ्चको दृश्यपत हाम्रा उत्तरी छिमेक अहिले सार्थक सिद्ध हुँदै आएको छ। उहिल्यै आफ्नो युवावस्थामा अरनिको राजमार्ग निर्माणकै सिलसिलामा राजा महेन्द्रले व्यक्त उद्गार थियो, ‘साम्यवाद गाडी चढेर नेपाल पस्दैन।’ महेन्द्रको त्यो उद्गार कुटनीतिक भाष्य थियो। कुटनीतिक बोलीवचन एकार्थी मात्र नभएर बहुआयामिक हुन्छ। त्यो उपमेय र आलंकारिक हुन्छ। झन्डै प्रवुद्ध कविका भावगम्भीर कविता जस्तै।
काव्यिक चेतपूर्ण अनुरागले अनुपोषित भएर यो कलमजीवी आत्मा यसो उद्घोष गर्न हिचकिचाउन्न कि काव्यिक उद्गारले कुटनीतिक भूमिका निर्वाह गर्छ। अत: राजनीतिक जीवन पहलकर्मी वर्गले काव्यिक अनुरागका अन्तरबोधी चेत बहन गर्नु श्रेयष्कर हुन्छ।
बिट मार्नुअघि
प्रसंग उक्त अन्तर्वार्ता। आफ्नै संस्थामा आफ्नै प्रशासनिक सञ्जालद्वारा पदस्थ सारथिसितको अन्तरक्रियात्मक वार्तालापमा दुवैले आआफ्ना कर्तव्यनिष्ठ भूमिका निर्वाह गरे भएका श्रव्यदृश्य साधनमा उपभोग गर्दा आल्हादक अनुभूतिमा मनज्ञ रमाएँ। पारम्परिक काव्यजगत्मा असंख्य वाणिक छन्दहरू छन्। वार्तालापका आद्योपान्त क्रममा विविध छन्द लयवद्ध रसास्वादन गरें। कतै नगश्वरुपिनि, कतै तोतक, कतै मालिनि, कतै भुजंगप्रयात छन्द सुनिरहेको आभास झझल्किरहे। वार्तालापका केही प्रसंग झझल्किरहँदा छन्, ‘मैले त सिमेन्ट लाउन बाँकी पर्खाललाई झन् अजबूत पार्न चाहेको मात्र हुँ। म कहाँ राजनीतिक व्यक्ति हुँ र ? सदाशयतासाथ बिनाकुनै आग्रह सबका हितमा भूमिका निर्वाह गर्नु राजनीतिमा होमिनु होइन।’
‘तपाईलाई त किचेन क्याबिनेट मेम्बर भन्ठान्दा रहेछन् नि धेरै सामाजिक सञ्जाल र मासमिडियाहरू ?’ संसयात्मक उत्कण्ठापूर्ण प्रश्न आउँछ।
‘तपाई किङ नभए पनि किङमेकर त हो भन्छन् दुनियाँ ?’, अर्को प्रश्न। उहाँ भन्नुहुन्छ, ‘भन्नेले भन्दैमा के हुन्छ ? बेनिफिट अफ डाउटमाथि तैरने स्वतन्त्रता यो स्वछन्द लोकतन्त्रमा सबैले उपभोग गर्न पाउँछ नि।’
आफ्नै टेलिभिजनमा आफ्नै सहकर्मीसँग यति स्वछन्द र निर्वाध संवाद हुनुको पछाडि बेलगाम जस्तै चलाउनुको आफ्नै मर्यादा छ। त्यो हो सम्पूर्ण मासमिडियाका सबै सहकर्मी वृन्दहरूमा पनि यत्तिकै स्वछन्द निर्बन्ध वार्तालाप र व्यवहारको क्षितिज उघ्रियोस् ! ताकि आमसञ्चार माध्यमहरू राष्ट्रका चौथो अंग ठहरियुन् !