आत्महत्या !
मरेर स्वर्ग यहाँ कसले देखेको छ र !
संघर्ष र जीतको सपना देख्ने !
दस महिना कोखमा तिमी रहँदा
खुसीले कोख सुम्सुम्याइरहिन्
कोखमा लात्ती बजार्दा तिमीले !
खुसीले छाती समाएर रमाइन्
जब लियौ धर्तीमा जन्म तिमीले !
भाग्यशाली आफैंलाई ठानिन्।
पहिलो रुवाइमा !
तिम्रो पहिलो रुवाइमा !
सारा दुःखलाई बिर्सिएर खुसी भइन्
तिम्रो दीर्घायुको कामनामा मठमन्दिर धाउँदै !
दस धारा दुध खुवाएर रमाइन्।
तिम्रो मुस्कानमा रमाउँथे त !
रुवाइमा धड्कन हुन खोज्थे बन्द
शरीर दुई थियो तर थियो
एउटै धड्कन पवित्र सम्बन्ध।
तिम्रा नजिक आउने !
बाधा अड्चनलाई छातीले छेकेर।
तिम्रो बामे सराइमा
खुसी अघि बढ्दै गरेको सपना देखेर
किताबका झोला बोकेर
तिमी स्कुल जाँदा हात हल्लाउँदै
खुसी मागिन् दैवसँग हात फैलाउँदै।
घुक्र्याउँदै तिमीले चालेका पाइला !
कतिपटक ल्याइन् फर्काएर।
तिमीलाई ठेस लाग्दा !
कतिपटक रोइन् छाती चर्काएर।
चोट लाग्यो !
कहाँ लाग्यो चोट ?
चोट लाग्छन् जीवनमा
थाहा छ त तिमीलाई !
संघर्ष हो जीवन भाग्यमा लेखिँदैन
आँखा खोलेर हेरे संसार देखिन्छ
आँखा चिम्लेर देखिँदैन।
साहसी तिम्रा धारहरू !
साहसी तिम्रा धारमा
जीवनलाई किन सम्झन्छौ भार !
संसारै छाड्ने निर्णय तिम्रा ?
सोचेर हेर जीत हो कि तिम्रो हार ?
आफूले चाहेर पाएका हौ र ! जन्म
मर्न पाइन्छ भन्नलाई ?
जन्मदिने आमालाई हेर !
तिम्रा खुसीलाई सिँगार्ने रहरमा
उनले आफ्ना रहर बिर्सेकी छन्
फर्काउन बाँकी छ तिमीले ती रहर !
मर्ने बाटा धेरै होलान् तर
जन्मिने बाटो त एउटै मात्र हो।
अमृतरूपी जीवनमा किन घोल्दैछौ जहर ?
बाटो भुलेर जाँदैछौ तिमी कता ?
आत्महत्या वीरता होइन !
यो त कायरता हो।
कर्मको कलम भाग्यको मसी संसारै लेखिन्छ।
मरेर होइन बाँचेर हेर स्वर्ग यहीँ देखिन्छ।।
मरेर स्वर्ग यहाँ कसले देखेको छ र !
देखेर स्वर्गको बयान कसले लेखेको छ र !
संघर्ष र जीतको सपना देख्ने !
तिम्रा चाहनालाई कसले छेकेको छ र ?