प्रवासी नेपालीको पहलमा म्याग्दीका पहिरो पीडितलाई घर
बेनी: विभिन्न देशमा छरिएका प्रवासी नेपालीहरुले चन्दा संकलन गरेर म्याग्दीका पहिरो पीडितहरुका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् ।
रोजगारी, अध्ययन, ब्यापार, व्यवसाय लगायत विभिन्न कामको शिलशिलामा बिदेशिएका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)को पहलमा पहिरो पीडितको आवास पुननिर्माण गरिएको हो ।
मोनाको पुनर्वास कार्यदलका सदस्य दल शेरबुजाले पुननिर्माण भएका ४० वटा घर स्थानीय तह र प्रशासन मार्फत पीडितलाई उपलब्ध गराउने बताए । ‘मोनाले जिम्मा लिएका घर पुननिर्माण सकियो,’ उनले भने ‘बनेका केही घरमा बस्न थालिसकेका छन् ।’
विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक संकलन गरेर पहिरो पीडितको घर बनाएका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुनःनिर्माणका लागि छनौट गरिएको थियो ।
मोनाले प्रतिघर पुननिर्माणका लागि पाँच लाख खर्च गरेको छ । पहिरो पीडितको आवास पुननिर्माणका लागि मोनाले दुई करोड रुपैयाँ जुटाएको थियो । धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४/४ वटा घर निर्माण भएको छ ।
एउटा भान्छाकोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो । प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकीकृत बस्तीको अवधारणा अनुसार निजी आवास पुननिर्माण भएको छ ।
बिममा बिम–मालिका संघले रु. २० लाखमा खरिद गरेको जग्गामा मोनाले १० वटा घर निर्माण गरेको वडा अध्यक्ष रेशम जुग्जालीले बताए । उनले बिमका अन्य पीडितहरुले पनि घर निर्माण गरिसकेका बताए ।
समुदाय स्तरबाट आर्थिक स्रोत जुटाएर ३८ लाख ५० हजार रुपैयाँमा मराङको राम्चेमा १६ र अस्कारेमा १२ रोपनी जग्गा खरिद गरिएको थियो । वडा अध्यक्ष राजाराम सुवेदीले राम्चेमा थप ६ र आस्कामा ४ वटा घर निर्माण सकिएको बताए ।
गत वर्षको वर्षायाममा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना वेपत्ता भएका थिए । ८१ वटा बस्तीमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो ।
पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुननिर्माण गर्न रु. ५ लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यविधि स्वीकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पीडितको घर पुननिर्माणका लागि गत बैशाख अन्तिम साता एक करोड आठ लाख पठाएको थियो ।
मोनाले बनाएका बाहेकका घर पुननिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन दश करोड ३५ लाख रुपैयाँ बजेट आवश्यक पर्छ । संघ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुननिर्माणले पनि तिब्रता पाएको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।