सुत्केरीको उद्धार
नुवाकोट : दुर्गम भेगमा रहेको नुवाकोटको घ्याङफेदीकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। विदुरदेखि ५० किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका— १ घ्याङफेदीमा जोखिम अवस्थामा रहेकी सुत्केरीको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत उद्धार गरेर उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।
तामाङ तथा शेर्पा समुदायको उल्लेख्य बसोबास रहेको घ्याङफेदीकी २० वर्षीया लीला तामाङ सुत्केरी भएपछि निरन्तर रक्तस्राव भएसँगै ज्यान जोखिममा पुगेकाले जिल्ला प्रशासन कार्यालय नुवाकोटले हेलिकोप्टर मगाएर उपचारका लागि काठमाडौँ पठाएको दुप्चेश्वर गापाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। स्थानीय स्वास्थ्य संस्थामा उपचार असम्भव भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी तामाङलाई काठमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको अध्यक्ष तामाङले बताए। हाल आमा र बच्चा दुवै खतरामुक्त रहेका छन्। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअन्तर्गतको कार्यक्रममा दुप्चेश्वर गाउँपालिका गत मंसिरबाट समावेश भएको हो।
कार्यक्रममार्फत दुप्चेश्वर गाउँपालिकाबाट दुई सुत्केरी महिलाको उद्धार गरी उनीहरूलाई उपचार सेवा प्रदान गरिएको छ। वाग्मती प्रदेश सभाकी उपसभामुख राधिका तामाङका अनुसार ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत सेवा लिन लगातार लामो प्रसव व्यथा लागेर बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्यधिक रक्तस्राव भएको तथा रक्तअल्पता भएको गर्भवती हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।