रोशनको ‘मन दुख्यो’
भक्तपुर : भक्तपुरका युवा गायक रोशन धौभडेलले कोरोना भाइरस संक्रमणको दोस्रो लहरकैबीच नयाँ गीत ‘मन दुख्यो’ सार्वजनिक गरेका छन्।
भिडियोसहितको उक्त गीत वरिष्ठ गीतकार राजेन्द्र थापाले भर्चुअल माध्यमबाट सार्वजनिक गरेका हुन्। उज्ज्वल बस्नेतले रचना गरेको यस गीतमा गायक धौभडेल स्वयम्ले संगीत भरेका छन्। वियोगमा आधारित गीतले आफूले मन पराएको व्यक्तिको साथ नपाए पनि एक्लै जिउनुपर्ने सन्देश बोकेको छ। सुशील चालिसेको कन्सेप्ट तथा निर्देशनमा गीतको म्युजिक भिडियो तयार गरिएको छ। भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हुने भक्तपुर नपा–११ स्थित योसिंखेल र हनुमन्ते खोलामाथि बनेका नयाँ र पुराना दुई पुलमा गीत छायांकन गरिएको गायक धौभडेलले जानकारी दिए। गीतमा गायक धौभडेल स्वयंले अभिनय गरेका छन्।
उक्त भिडियोको छायांकन तथा सम्पादन रिकी कर्माचार्यले गरेका छन्। म्युजिक भिडियोसहितको गीत भर्चुअल रूपमा सार्वजनिक गर्दै वरिष्ठ गीतकार थापाले गीत स्रोताको मनमस्तिष्कले छुने किसिमको हुनुपर्ने औंल्याए। सार्वजनिक गरिएको गीत पुरानो शैलीको र बनोट मिलेको भन्दै उनले गीतअनुसार गायकी राम्रो भएको प्रतिक्रिया दिए।
‘कविता लेखेर छाप्ने हो भने गीत लयबद्ध कुराकानी हो’, वरिष्ठ गीतकार थापाले कविता र गीतको भेद छुट्ट्याउँदै भने, ‘गीत गाएर लेख्नुपर्छ। जसले गर्दा लयबद्ध गर्न सजिलो हुन्छ।’