सेयर बजारमा छलाङ

सेयर बजारमा छलाङ

काठमाडौं : सेयर बजारमा लगानी गर्न लगानीकर्ता हौसिएका छन्। पछिल्लो केही समययता सेयर बजार कारोबार उत्साहजनक ढंगले भइरहेको छ। 

कुनै समय २० करोडको कारोबार हुन पनि मुस्किल भइरहेको बेला पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम भइरहेका छन्। जेठ महिनामा मात्रै तीनवटा भन्दा बढी रेकर्ड भइसकेका छन्। 

सेयर बजारमा नयाँ रेकर्ड कायम गर्दै आइतबार १९ अर्ब ५५ करोडको कारोबार भएको छ। गत आइतबार १७ अर्ब २७ करोडको कारोबार भई नयाँ रेकर्ड कायम भएको थियो। यसअघि बजेट आएको दोस्रो दिन जेठ १६ गते पनि नयाँ रेकर्ड कायम राख्दै १७ अर्ब २ करोडको कारोबार भएको थियो। कारोबार मात्र होइन सेयर बजारका सबै सूचक सकारात्मक ढंगले अघि बढिरहेका छन्।

सेयर विश्लेषक सन्तोष मैनाली पछिल्लो समयमा लगानीकर्ता सेयर बजारमा आकर्षित हुँदै गएको बताउँछन्। लकडाउनले सबैको ध्यान सेयर बजारमा खिच्नुका साथै प्रविधि सहजताले पनि कारोबार बढाएको उनी ठान्छन्। ‘सर्वसाधारण लगानी गर्न चाहिरहेका छन्,’ उनले भने, ‘कम्पनीहरू पनि यहीँ उत्साहका साथ लगानी लिन आउनुपर्छ।’ लगानीकर्ता सेयर बजारमा आकर्षित भएसँगै कम्पनीहरू चलायमान भएर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने उनी ठान्छन्। सेयर बजारको उत्साहले थोरै पुँजी भएका कम्पनीले पनि सर्वसाधारणबाट रकम लिएर देश विकासका लागि उदाहरणीय काम गर्न सक्ने देखिएको छ। 

देशको जीडीपी ४५ खर्बको छ। पुँजी बजार त्यसको हाराहारीमा पुग्न थालिसकेको छ। अहिले पुँजी बजार ३९ खर्बको छ।  यो बजेटको अढाइ गुणा बढी हो। ‘अबको ४÷५ वर्षभित्र जीडीपी सय खर्बभन्दा बढी बनाउने गरी लाग्नुपर्छ’ एक सेयर विश्लेषकले भने, ‘उतारचढाव नहुने गरी पुँजीबजार अझै माथि लैजान जरुरी छ।’ पुँजीबजारको आकार बढेर चिन्ता लिनु नपर्ने ती विश्लेषकको भनाइ छ। मार्केट बढ्नु जोखिम नभई दीर्घकालीन विकासको आधार भएको उनको बुझाइ छ। सेयर बजारको उत्साहले अब देश गरिबीमै रहन सक्दैन भन्ने देखाउँछ। कुनै पनि काम गर्नका लागि ससाना लगानीबाट अर्बौ रकम उठाउन सकिने सम्भावना प्रशस्त देखिएको सेयर बजारको कारोबारबाट देख्न सकिन्छ। आज के बढ्यो, के घट्यो भन्दा पनि समग्रतामा सेयर बजार बढ्नुपर्ने लगानीकर्ताहरूको बुझाइ छ। 

तरलता र ब्याजदरले पनि सेयर बजारमा सहजता ल्याएको सेयर विश्लेषक मैनाली बताउँछन्। ‘लगानीकर्ता दिन आइरहेका छन्, कम्पनीले लिन आउनुपर्छ।’  

पछिल्ला केही समययता हरेक दिनजसो १० अर्बभन्दा बढीको कारोबार भइरहेको छ। यो सातामा ८३ अर्बको कारोबार भएको छ। नेप्सेका अनुसार कारोबार भएका साताका पाँच दिन नै औसतमा १६ अर्ब रुपैयाँको कारोबार भएको छ।

नेप्सेका अनुसार २ सय २१ कम्पनीका १७ करोड ५ लाख ९० हजार ६ सय ४३ कित्ता सेयर ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७ सय ६७ मा कारोबार भए। आइतबार नेप्से मापन गर्ने सूचक ३८.३२ अंकले बढेर परिसूचक २९८३.३२ विन्दुमा रोकिएको छ। आइतबार २ सय २० कम्पनीको १ लाख ८२ हजार ४ सय ३० कित्ता सेयर किनबेच भएको छ।

पछिल्लो समयमा बैंकिङ, विकास बैंक, जलविद्युत् समूहको उपसूचकमा सुधार आएको छ। बैंकिङ ८.०८, विकास बैंक ३८८.२४, फाइनान्स १७३.५, जलविद्युत् १८६.३, होटल एन्ड टुरिजम इन्डेक्स समूहको उपसूचक १६७.९६ अंकले बढेको छ। अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। लुम्बिनी विकास बैंक, नेसनल हाइड्रोपावर, एनआरआईसी, ज्योति विकास बैंंकलगायतको कारोबार पनि अधिक भएको छ। प्रतिकित्ता ३ सय ९ रुपैयाँ पुगेको नेसनल हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कित्ता कारोबार भएको छ। यसको १८ लाख ६ हजार कित्ता किनबेच भएको छ। 

केही समयअघि हाइड्रोमा झुम्मिएका लगानीकर्ताहरू केही दिनयता बैंकिङ  क्षेत्रमा आकर्षित हुन थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीप्रति लगानीकर्ताको आकर्षणले सेयर बजारमा आक्रामक कारोबार भइरहेको छ। विज्ञहरूका अनुसार बैंकिङ क्षेत्रको बुलिस ट्रेन्ड केही दिन कामयै रहनेछ।  

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले कारोबारको भोलुम निकै उत्साहजनक रहेकोले बजार अझ बढ्ने बताए। कोभिडले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बिमालगायतको आम्दानीमा कमी भएको छैन। कोभिडले यस्ता क्षेत्रमा खासै प्रभाव नपरेको, अब लगानी गर्दा लाभांश खान पाइने, नियमनमा सहजता तथा प्रविधिको उच्चतम प्रयोगले लगानीकर्ता आकर्षित भइरहेको अध्यक्ष रौनियार बताउँछन्। 

त्यसो त सेयर कारोबार गर्नका लागि ३६ लाखले डिम्याट खाता खोलेका छन्। त्यसमध्ये ६ लाखले अनलाइनबाट नियमित कारोबार गरिरहेका छन्। विदेश बस्ने नेपालीहरूले पनि लगानी गरिरहेकाले पछिल्लो समयमा निरन्तर सेयर बजार माथि गइरहेको लगानीकर्ता बताउँछन्। वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा बस्ने नेपालीले दैनिक एक अर्बभन्दा बढी लगानी गरिरहेका छन्। 

गृहिणी, विद्यार्थीले समेत डिम्याट खोली आईपीओ भर्ने र विस्तारै सेकेन्डरी मार्केटमा जाने गरेकाले पनि पछिल्लो समयमा सेयर बजारमा कारोबार बढ्दै गएको छ। बैंकमा पर्याप्त तरलता हुनुका साथै रेमिट्यान्स प्रवाहसमेत बढेकाले सेयर कारोबार बढ्न सघाउ पुगेको विज्ञहरू बताउँछन्। 

आईपीओमा पनि सर्वसाधारणको आकर्षण उच्चदरमा छ। तर उनीहरूले मागेअनुसार आईपीओ पाउन सकेका छैनन्। सरकार तथा निजी क्षेत्रले सर्वसाधारणबाटै पर्याप्त मात्रामा रकम उठाउने गरी ठूल्ठूला परियोजना सञ्चालन गर्न ढिलाइ गर्न नहुने अर्थविद्हरू बताउँछन्।

अर्थविद् ज्ञानेन्द्र अधिकारी सेयर बजार सकारात्मक ढंगले अघि बढिरहेको बताउँछन्। अर्थतन्त्रको महत्त्वपूर्ण सूचकमध्ये सेयर बजार पनि हो। १२ सयबाट ३ हजार पुग्नु राम्रो संकेत भएको उनले बताए। 

‘सरकारले दीर्घकालीन योजना तयार गर्नुपर्छ, उनले भने, ‘सेयरको पैसा पूर्वाधार विकास, उत्पादनमूलक उद्योगमा लैजान नीतिगत व्यवस्था गर्नुपर्छ।’ जुनसुकै व्यक्ति अर्थमन्त्री भए पनि प्रभाव नपर्ने गरी सेयर बजार निरन्तर अघि बढ्ने व्यवस्था आवश्यक भएको उनी ठान्छन्। 

‘निजी बैंकमा सर्वसाधारणलाई पैसा राख्न डर छैन तर ऋण लिन डराइहरेका छन्।’ उनले भने, ‘ब्याजदर अझै घटाउन सके लगानी बढ्ने निश्चित छ।’ 

अरू बाटो बन्द भएकाले सेयर बजारमा लगानी ओइरिए पनि यस क्षेत्रमा जति लगानी बढेको छ, त्यसलाई क्यास गर्न सक्नुपर्ने उनी सुझाउँछन्। सरकारले परियोजना बनाएर सर्वसाधारणबाटै रकम उठाएर सञ्चालन गर्न सक्ने सम्भावना प्रशस्त देखिएको अर्थशास्त्री अधिकारी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.