समस्या झेल्दै, सेवा दिँदै

समस्या झेल्दै, सेवा दिँदै

कोरोना भाइरस होस या अन्य कुनै रोगको महामारी, अग्रपंक्तिमा रोग नियन्त्रण र उपचारका लागि काम गर्ने भनेकै चिकित्सक, नर्स र अस्पतालका कर्मचारीहरू हुन्। कोरोना फैलनु अघिको सामान्य समयमा यो पेशामा अहिलेको जस्तो धेरै दुःख थिएन। संवेदनशील रोगबाहेक अन्य समय कपडाबाट बनेको एप्रोन लगाएर बिरामीको स्वास्थ्य उपचारमा खटिए पुग्थ्यो। आफैं संक्रमित हुने सम्भावना पनि कमै थियो। अहिले समय फरक छ। कोरोना महामारीले उनीहरूको दैनिकी परिवर्तन मात्रै गरेको छैन। कुन बेला संक्रमित हुने र बिरामी पर्ने हो टुंगो हुँदैन। अझै पीपीईभित्र गुम्सिएर कोरोना संक्रमितको उपचारमा खटिनु चानचुने कुरो होइन। सामान्य सर्जिकल मास्क लगाउँदा त श्वास फेर्न र बोल्न गाह्रो मान्ने हामी पत्रपत्रको पीपीईभित्र गुम्सिएर काम गर्दाको पीडा सहजै अनुमान गर्न सक्छौं।

कोभिड अन्य मान्छेजस्तै स्वास्थ्यकर्मीहरूका लागिसमेत प्राणघातक रोग हो। मानिसहरू कोरोना भाइरससँग सुरक्षित रहन घरभित्रै बसिरहेका बेला स्वास्थ्यकर्मीहरू चाहिँ कुनै समय बिदा नलिई घरबाट बाहिरिन बाध्य छन्। आफ्नो पेशाप्रतिको उत्तरदायित्व बोध गराउने समयका रूपमा यो समयलाई लिएर उनीहरूले घर, परिवार र आफन्त भन्न पाएका छैनन्। संक्रमित वा बिरामी हुनुपूर्वको समयसम्म कोभिडका बिरामीलाई निको पार्नमै खटिनु पर्ने बाध्यता उनीहरूमा छ। बिरामीलाई बचाउन नसक्दा मलिन अनुहार मास्क र पीपीईभित्र लुकाएर पीडा थाम्दै परिवार सम्झनुको विकल्प यो पेशा अँगाल्नेमा छैन। स्वास्थ्यकर्मीका पनि पेशाभन्दा फरक जिम्मेवारी छन्÷हुन्छन्। परिवारको जिम्मेवारी सँगै पेशालाई समाल्नु उनीहरूको बाध्यता हो। अझै पुरुषभन्दा महिला स्वास्थ्यकर्मीका समस्या बढी हुन्छन्।

कसैको श्रीमती, बुहारी, सासु वा आमाको भूमिका घरमा निभाउँदै पेशाले दिएको जिम्मेवारी पनि एउटै काँधमा उनीहरूले बोक्नुपर्छ। अझै यो कोरोना महामारीको समय सुत्केरी र गर्भवती स्वास्थ्यकर्मीका समस्या र पीडा धेरै छन्। भोजपुर दाँवाकी स्वास्थ्यकर्मी यसको एउटा उदाहरण हुन्। काखकी सानी छोरीलाई बिहानै स्तनपान गराएर आफूलाई पीपीईभित्र गुम्स्याउँदै उनी कोभिड अस्पताल पुग्नुपर्छ। खाना वा खाजाको समयबाहेक सानी छोरीलाई स्तनपान गराउन उनले पाउँदिनन्। शंकास्पद बिरामीको स्वाब संकलन र उपचारमा खटिनु पर्ने हुँदा छोरीलाई पनि कोरोना सार्ने त होइन ? भन्ने चिन्ता उनको मनमा सधैं हुन्छ। तर, यसको विकल्प पनि त छैन।

भोजपुरकी स्वास्थ्यकर्मी प्रतिनिधि पात्र हुन्। उनीजस्ता सैयौं सुत्केरी र गर्भवती स्वास्थ्यकर्मी अहिले कोरोना संक्रमण न्यूनीकरण र संक्रमितको उपचारमा देशभर खटिएका छन्। अस्पताल, आइसोलेसन, क्वारेन्टाइन, हेल्थडेस्कमा दिनरात खट्ने यस्ता महिला स्वास्थ्यकर्मीसँगै काख र गर्भको बच्चामा हुने जोखिम उत्तिकै छ। स्वास्थ्यकर्मीको जनशक्ति कम हुने हुँदा यस्ता महिला स्वास्थ्यकर्मीका लागि छुट्टै व्यवस्था गर्नसमेत सरकारले सकेको देखिँदैन। पेशागत र पारिवारिक दबाबका बिच समयको प्रवाह नगरी कोरोना संक्रमितलाई जोखिम मोलेर निको पारी ‘डिस्चार्ज’ गर्दाको समय युद्ध जितेको महसुस गर्नबाहेक अन्य खुसी आफूहरूसँग नरहेको तीतो अनुभव ती स्वास्थ्यकर्मीमा छ। गर्भवती वा सुत्केरी महिलामा रोग प्रतिरक्षा क्षमता अरूको भन्दा कम हुन्छ। यो समय उनीहरूले अझै सतर्क र सावधान हुनुपर्ने स्त्रीरोग विशेषज्ञ बताउँछन्।

महिलामा हौसला र उत्साह बढी हुन आवश्यक हुन्छ। आफ्नै हातले कहिलेकाँही हिजोका बिरामीलाई आज अन्तिमपटक शव वाहनमा राखेर बिदा गर्नुपर्दा पर्ने मानसिक असर गर्भमा रहेको बच्चासम्ममा पुग्न सक्छ। अझै अस्पतालमा हुने तनाव र कहिलेकाँही स्वास्थ्यकर्मी माथिनै हुने आक्रमणजस्ता घटनाले यो प्रकृतिका स्वास्थ्यकर्मी अझै जोखिममा पर्छन्। काखका बच्चा हुनेमा संक्रमण बच्चासम्म पुग्ने जोखिम त्यतिकै हुन्छ। स्वास्थ्यक्षेत्रमा खटिनेमध्ये ठूलो संख्यामा स्टाफ नर्स (महिला) छन्। उनीहरूको आफ्नै शारीरिक बाध्यता हुन्छन्, देश र विश्वव्यापी माहोलले मानसिक समस्यामा पनि उनीहरू उतिकै छन्। उनीहरूको पीडा र अवस्था बुझेर समस्या समाधानमा विकल्पको व्यवस्थापन पनि समयमा गर्नु उतिकै आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.